काठमाडौंको हावा अस्वस्थकर, विश्वका प्रदूषित शहरको तेस्रो स्थानमा

काठमाडौंको हावा अस्वस्थकर, विश्वका प्रदूषित शहरको तेस्रो स्थानमा

काठमाडौं : काठमाडौं विश्वका प्रदूषित शहरको तेस्रो स्थानमा उक्लिएको छ।

मंगलबार दिउँसोदेखि काठमाडौं उपत्यकाको आकाशमाथि धुँवा देखिएसँगै काठमाडौं विश्वकै प्रदूषित शहरमध्ये तेस्रो स्थानमा आएको हो।

उपत्यका आसपासका जंगलमा डढेलो लागेर धुवाँ मिश्रित हावा काठमाडौं प्रवेश गरेसँगै उपत्यकाको हावाको गुणस्तर खस्किएको हो।

हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अुनसार काठमाडौंको अहिलेको एक्यूआई १७४ छ, जसलाई अस्वस्थकर मानिन्छ।

ठूलो बतास नचलेसम्म धुवाँयुक्त हावा उपत्यकाको आकाशबाट नहट्ने मौसम विज्ञान विभागले जनाएको छ।

हावाको गुणस्तरलाई एक्यूआईमा नापिन्छ।

० देखि ५० एक्यूआई भएको हावा स्वस्थकर, ५१ देखि १०० एक्यूआई भएको हावा मध्यम, १०१ देखि १५० एक्यूआई भएको हावा संवेदनशील समूहका व्यक्तिका लागि अस्वस्थ्यकर र १५१ देखि २०० एक्यूआई भएको हावा सबैका लागि अस्वस्थकर मानिन्छ।

त्यसैगरी २०१ देखि ३०० एक्यूआई भएको हावा एकदमै अस्वस्थकर र ३०० भन्दा माथि एक्यूआई भएको हावालाई घातक भनेर बर्गीकरण गरिएको छ।

अहिलेको अवस्थामा १७६ एक्यूआई रहेको थाइल्याण्डको चियाङ माइ शहर दोस्रो र २३४ एक्यूआई रहेको इरानको राजधानी तेहरान संसारको सबैभन्दा प्रदूषित शहर हो।

चैत २८, २०७९ मंगलबार १६:३०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।