‘नाई नभन्नु ल ६’ को सेन्सर लफडा : समयमा सिफारिस नदिएको फिल्मको आरोप, नचल्ला कि भनेर सार्नलाई प्रपन्च रचेको बोर्डको दाबी

‘नाई नभन्नु ल ६’ को सेन्सर लफडा : समयमा सिफारिस नदिएको फिल्मको आरोप, नचल्ला कि भनेर सार्नलाई प्रपन्च रचेको बोर्डको दाबी

काठमाडौं : फिल्म ‘नाई नभन्नु ल ६’ को निर्माण टिमले चलचित्र विकास बोर्डले सेन्सर सिफारिस समयमा नगरिदिएको आरोप लगाएको छ।

नयाँ वर्षको छेको पारेर प्रर्दशनमा जुटेको फिल्मले अन्य फिल्मलाई काखा र आफुहरूको फिल्मलाई पाखा लगाएको आरोप लगाएको हो।

फिल्मका निर्देशक विकासराज आचार्यले अन्य फिल्महरूको अनलाइन बुकिङ र सो टाइम तोकिसक्दासमेत आफूहरूको फिल्मको सेन्सर सिफारिस पत्र नदिएको बताएका हुन्

‘हामी सेन्सर सिफारिसका लागि बोर्ड धाएको ३–४ दिन भइसक्यो,’ उनले भने, ‘हाम्रा कार्यकारी निर्माता सञ्जय न्यौपाने र बितरक किरण श्रेष्ठबीच लेनदेनको लफडा रहेछ। त्यसमा आख्यान फिल्मस् प्रालिको केहि संलग्नता छैन। तर यहि कारण देखाउँदै बोर्डले सेन्सर सिफारिस दिएन।’

आख्यान फिल्मस् प्रालिको ब्यानरमा फिल्म ‘नाई नभन्नु ल ६’ बनेको हो।

तर, फिल्म निर्माण पक्षको कुरामा सत्यता नभएको चलचित्र विकास बोर्डको दाबी छ। बोर्डका कर्मचारीले यसलाई फिल्म नचल्ला कि भनेर निर्माण पक्षले समय सार्न गरेको प्रपन्च मात्र भएको बताए।

बोर्डले निर्माण समूहकै आन्तरिक कारण सेन्सर नभएको जिकिर गरेको छ। बारम्बार सेन्सर सिफारिस लिन आउन गरेको आग्रहलाई अटेर गरेर बोर्डलाई दोषी देखाउने चेष्टा भएको ती कर्मचारीले बताए।

यद्यपि अहिले भने चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिएको पत्र छ। सञ्चारमाध्यममा समाचार बाहिरिएपछि हतार–हतार सिफारिस बनाएको निर्देशक आचार्य बताउँछन्।

उनले भने, ‘म यतिबेला बिरामी छु। मैले मेरो कामको जिम्मा सबै प्रोडक्सन म्यानेजर उत्तम केसीलाई दिएको छु। अहिले भने सिफारिस आएको भन्ने जानकारी आएको छ।’

फिल्मका प्रोडक्सन म्यानेजर केसीले मिडियामा समाचार आएपछि बल्ल सिफारिस पत्र दिइएको र उक्त पत्र सामाजिक सञ्जालमा फैलाइएको उनले बताए।

‘हामी शुक्रबारदेखि धायौँ। फिल्ममा आबद्ध एक निर्माताका कारण कुनै सरोकारै नभएको कम्पनीको फिल्मको सेन्सर दिनुभएन उहाँहरूले,’  उनले भने, ‘आज बिहान १० बजे सेन्सरका सरहरूलाई फोन गरेर सोध्दा ११ बजेसम्म कागजपत्र ल्याउन सके मात्र सेन्सर हुने बताएका थिए।’

केसीले आफूलाई बोर्डबाट १२ बजेर ४ मिनेटमा फोन गरेको तर समय सकिएकाले नउठाएको जिकिर गरे।

उनले थपे, ‘घर भत्किसकेपछि पोत्ने आदेश दिएर हुन्छ? बोर्डले हामीमाथि अन्याय गरेकै हो। यसको कानूनी पाटो के छ, त्यता जाने विचार छ।’

वैशाख १ गते ४ नेपाली फिल्महरू प्रर्दशन हुँदैछन्। तीनवटा फिल्महरूको सेन्सर पास भइसक्यो। हलहरूले सो टाइम तोकेर अनलाइन बुकिङसमेत खुलिसकेको छ। सेन्सर पास नभएकाले फिल्मले अहिलेसम्म शो टाइम पाएको छैन।

२८ चैत, २०७९, १५:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।