विराटनगरमा अब सार्वजनिक स्थलमा चुरोट, खैनी र गुट्खा निषेध
विराटनगर : विराटनगर महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा खैनी, चुरोट, पानपराग, गुट्खा लगायतका वस्तुको सेवन गर्न निषेध गर्ने भएको छ।
महानगरका प्रमुख नागेश कोइरालाका अनुसार गत पुस २७ गते बसेको नगरसभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र धूमपान देखि प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको हो।
केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था र साउन्ड सिस्टमका प्रतिनिधि लगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धूमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो।
विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एक मात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाको भनाइ छ।
उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलन लगायतका अभियान सञ्चालन गरिरहेको समेत बताए।
चैत २८, २०७९ मंगलबार ०८:३६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।