साढे २ करोडको अडियो प्रकरण संसद् पुग्यो, संसदीय समिति बनाएर छानबिन गर्न माग

साढे २ करोडको अडियो प्रकरण संसद् पुग्यो, संसदीय समिति बनाएर छानबिन गर्न माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको मन्त्री बन्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग साढे २ करोड पैसा मागेको घटना संसद्मा पुगेको छ।

सोमबार सांसदहरूले सो घटनाबारे संसदीय छानबिनको माग गरे। स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको कोर टिमका सदस्यलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले पैसा मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले ‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढङ्गले गफगाफ गरेको सुनिन्छ। यो भन्दा लज्जाबोध के हुन सक्छ?’ भन्दै प्रश्न गरेका थिए।

पैसा माग्न लगाउने त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताएका थिए। उनले संसद्मा प्रतिनिधिसभा सदस्य रहेका श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद् चुप लागेर बस्न नहुने उल्लेख गर्दै संसदीय छानबिन समिति गठनको माग राखेका थिए।

‘यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु’ गुरुङले भने।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पाँच पटक मन्त्री भएका एक नेताले मन्त्री भनेकै अर्बौँ भ्रष्टाचार गर्ने पद भएको भनेर आफ्नो स्मरणमा लेखेको उल्लेख गर्दै सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजनिक हुनुले मन्त्री पद भ्रष्टाचार गर्ने पद भएको उनको भनाइ थियो।

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन त्यसबारे सत्तारुढ दलका नेताहरूले सांसदलाई जवाफ दिनुपर्ने उनले माग गरे।

यस अगाडि नै सो प्रकरणबारे रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदमा जानकारी गराएका थिए। उनले श्रेष्ठले मेडिकल व्यवसायीसँग पैसा माग गरेको सम्बन्धी अडियो प्रकरणलाई पार्टीले गम्भीर रूपमा लिएको भन्दै श्रेष्ठ उपर अनुसन्धान सुरु भएको बताएका थिए।

उनले यस घटनाप्रति माफी माग्दै अडियो प्रकरणका सम्बन्धमा सत्यतथ्य छानबिन हुने दाबी गरे। 

चैत २७, २०७९ सोमबार १४:३६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।