राजस्व कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- ‘कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्नूस्’
काठमाडौं । इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरूलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन्।
सोमबार नेपाल चेम्बर अर्फ कमर्सको ७२ औ वार्षि साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन्।
उनले भने, ‘म अर्थमन्त्रालयमा शोभा बढाउन आएको होइन, राजनीति नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अहिले अर्थतन्त्रमा देखिएको समाधान गरौं।’
मन्त्री डा. महतले भने, ‘राजस्व घटनुको विभिन्न कारण छन्। हामी आफैँ कति कारक छौं, त्यसको आत्ममूल्याङ्कन हामी सबैले गर्नुपर्छ। पछिल्लो समयमा चोरी पैठारी बढ्यो, यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन। भन्सार नाकाकै छेउछाउबाटै चुवाहट आएको छ, यो गम्भीर कुरा हो।’
भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको छ। भैरहवा भन्सारको सबैभन्दा धेरै ४४ प्रतिशत राजस्व घटेको छ।
‘महानिर्देशकलाई आग्रह गर्छु, विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिर्पोट मलाई चाहियो। वस्तु आयातबाट भन्सार घटेको हो कि अर्को बाटोबाट भन्सार छलेर भित्रियो? त्यसको ब्रेकडाउन मलाई चाहियो’, मन्त्री डा. महतले भने, ‘त्रिभुवन विमानस्थल नाकाबाट पनि भन्सार राजस्व धेरै घटेको छ। त्यहाँ पनि चुहावट भएको खबर प्राप्त भएको छ। वीरगन्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार राजस्व घटेको छ। यसलाई तपाईंहरुले गम्भीर रूपमा लिनुहोला। मेरो लागि अरु कुनै मूल्यांकनको आधार छैन। कर्तव्यनिष्ठ भएर काम गर्ने, नतिजा देखाउनु होला।’
चैत २७, २०७९ सोमबार १३:४७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।