‘२ करोड’को अडियोबारे गृहमन्त्री भन्छन- छानबिन हुन्छ. सम्बन्धित पार्टीले स्पष्ट पार्नुपर्छ

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताएका छन्।
आज चितवनमा भएको पत्रकार भेटघाटमा उनले अडियो प्रकरणको अनुसन्धान हुने र साेहीअनुसार निष्कर्ष निकालिने बताएका हुन्।
‘दुई करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं। अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ।’
उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरूले नै प्रष्ट पार्नुपर्ने पनि बताए।
रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो। अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन्।
अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरू गरेको जनाएको छ।
चैत २७, २०७९ सोमबार १०:३४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।