बालेनलाई गृहमन्त्रीको जवाफ- ‘जानकारी दिएर मात्र हुँदैन, हामीलाई कन्भिन्ड गर्नुपर्छ’
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरले कामको औचित्य पुष्टि गर्ने गरी संघीय सरकारलाई मनाउनुपर्ने बताएका छन्।
सोमबार चितवनको भरतपुरस्थित होटल सिराइचुलीमा भएको पत्रकार भेटघाट कार्यक्रमका बोल्दै गृहमन्त्री श्रेष्ठले बल प्रयोग गर्नलाई अनुरोध मात्र गरेर समन्वय हुन नसक्ने बताएका हुन्।
‘प्रत्येक स्थानीय सरकारले यसो गर्छु भन्ने अनि बल प्रयोग गर्नलाई अनुरोध गर्ने समन्वय हुँदैन,’ उनले भने, ‘समन्वयका लागि यो समस्या छ, यसरी हल गर्न सोचिएको छ, औचित्य पुष्टि गर्ने गरी हुने अवस्थामा सहयोग गर्न सरकार प्रतिबद्ध छ।’
उनले स्थानीय तहले संघीय सरकारले जानकारी मात्र दिएर नहुने बताएका हुन्।
‘जानकारी दिएर मात्र हुँदैन, हामीसँग समन्वय गर्नुपर्छ र हामीलाई कन्भिन्स गर्नुपर्छ,’ उनले थपे, ‘सहयोग गर्नका लागि औचित्य पुष्टि गर्नुपर्छ। त्यसका लागि समय लिएर सुविचारित कदम चाल्नुपर्छ।’
काठमाडौं महानगरपालिकाका प्रमुखले आफ्नो अभिव्यक्तिबारे आफैँ सोच्नुपर्ने भन्दै उनले फोहोर उठाउँदिन भन्न नमिल्ने बताए।
‘काठमाडौंको मेयरले सार्वजनिक रुपमा सिंहदरबारभित्रको फोहोर उठाउँदिन भनेर भन्न मिल्छ कि मिल्दैन,’ उनले थपे, ‘त्यसले महानगरपालिका र स्वयं मेयरलाई समाजको अगाडि कुन ठाउँमा प्रस्तुत गर्छ भनेर उहाँले नै सोच्नुपर्छ।’
सोमबार बिहान मात्र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले संघ सरकारले आफूहरूसँग समन्वय नगरेको आरोप लगाउँदै १४ वटा उदाहरण दिएका थिए। उनले कुनै लहडको भरमा फोहोर नउठाउने निर्णय नगरेको समेत स्पष्ट पारेका थिए।
चैत २७, २०७९ सोमबार ०९:४८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।