३५ हजार तलबमा सांसद्का आँखा, स्वकीय सचिवमा श्रीमान्-श्रीमती, भाइ-भतिजदेखि छोरा-छोरीसम्म

३५ हजार तलबमा सांसद्का आँखा, स्वकीय सचिवमा श्रीमान्-श्रीमती, भाइ-भतिजदेखि छोरा-छोरीसम्म

बुटवल : कुनै पनि ऐन र नियममा स्वकीय सचिव राख्दा सांसद्ले आफ्ना परिवारभित्रका सदस्य वा नातागोता राख्न नपाइने व्यवस्था छैन। सांसद्ले काम गर्न सहज लाग्ने त्यस्ता व्यक्तिलाई स्वतः स्वकीय सचिवमा राख्न पाउँछन्।

तर, सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई जवाफदेही बनाउन, आफ्ना निर्वाचन क्षेत्रका समस्या पहिचान गर्न, संसदमा प्रस्तुत हुने विधेयक माथिको दृष्टिकोण बनाउन उनै स्वकीय सचिवको मुख्य भूमिका रहन्छ। विषय विज्ञता र अनुभवी स्वकीय सचिवले संसदमा सांसद्को भूमिकालाई समेत प्रभाव पार्छ।

यद्यपि जवाफदेही बनाउने भूमिका हुने स्वकीय सचिव सांसदहरूले भने मनलाग्दी राख्ने गरेका छन्। सीमित पैसाको लोभमा स्वकीय सचिवको आवश्यकता र कार्य नै नबुझी सांसद्हरूले आफ्ना नातागोतालाई स्वकीय सचिवमा नियुक्त गरेको पाइन्छ।

संघीय सरकारमा मात्र होइन प्रदेशका सांसदहरूले पनि स्वकीय सचिव श्रीमान्, भाइ–भतिज देखि साला–सालीसम्म राखेका छन्। लुम्बिनी प्रदेशका सांसदहरूले पनि स्वकीय सचिवमा आफ्नै नातागोतालाई प्राथमिकतामा राखेको देखिन्छ।

सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानूनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसद्ले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । निर्वाचनका बेला कार्यकर्ताको विश्वास राख्ने नेताहरूले नै यति महत्वपूर्ण जिम्मेवारीका लागि परिवारका सदस्यलाई मात्र उपयुक्त मान्ने गरेका छन्।

लुम्बिनी प्रदेशसभाको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ अनुसार सांसद्का स्वकीय सचिवले नायब सुब्बासरहको ३४ हजार ७७० रुपैयाँ तलब पाउँछन्। लुम्बिनी प्रदेशमा २० भन्दा बढि सांसद्ले आफ्ना परिवारभित्रका सदस्यहरु नै स्वकीय सचिव राखेका छन्।

कसले कसलाई राखे ?
समानुपातिकबाट सांसद् बनेकी रुपन्देहीकी शान्ति लोधले छोरा रामचन्द्रलाई स्वकीय सचिव राख्दा रुपन्देहीबाटै समानुपातिक सांसद् बनेकी भगवती कुमारी थरुनीले छोरी पुजा केवट नियुक्ति दिएकी छन्।

देवीप्रसाद चौधरीले श्रीमती मिना चौधरीलाई स्वकीय सचिव राख्दा रुपन्देही क्षेत्र नं. २ (२) बाट प्रत्यक्ष तर्फ निर्वाचित भोजप्रसाद श्रेष्ठले भतिज किशोर श्रेष्ठलाई प्राथमिकता दिएका छन्।

जनमत पार्टीबाट रुपन्देही क्षेत्र नं. ५ (२) बाट निर्वाचित चन्द्रकेस गुप्ता(सिके)ले भाइ पवन गुप्तालाई स्वकीय सचिव राख्दा रुपन्देहीबाट समानुपातिक सांसद् बनेकी गीता गुरुङले भान्जा अर्जुन गुरुङलाई नियुक्ति दिएका छन्।

यस्तै, बाँकेबाट समानुपातिक सांसद् बनेकी अम्बिका काफ्लेले आफ्नी दिदी विना काफ्ले, दाङ क्षेत्र नं. १ (२) बाट निर्वाचित अनुराग खड्काले भतिज प्रशान्त खड्का, दाङबाटै समानुपातिक सांसद् बनेकी रेखाकुमारी शर्माले छोरी निरा शर्मा र प्युठान क्षेत्र नं. १ (२) बाट प्रत्यक्ष निर्वाचित सांसद् सरोज थापाले श्रीमती उपमा केसीलाई स्वकीय सचिव राखेका छन्।

कपिलबस्तु क्षेत्र नं. ३(१) बाट निर्वाचित अर्जुन कुमार केसीले श्रीमती सरला केसी, नवलपरासी पश्चिमका विश्वप्रेम पाठकले छोरी शान्ति पाठक, अर्घाखाँची क्षेत्र नं. १(२) बाट निर्वाचित रामजी घिमिरेले आफ्ना छोरा शिशिर घिमिरेलाई स्वकीय सचिवमा नियुक्त गरेका छन्।

बाँकेकी शुशिला वादीले श्रीमान् प्रकाश वादी, बर्दिया क्षेत्र नंं १ (२)बाट निर्वाचित राजकुमार चौधरीले काका हलिराम चौधरी, बर्दियाबाट समानुपातिक सांसद् बनेकी कृष्णा कुशमा थारुले भजित जितेन्द्र थारुलाई स्वकीय सचिव राखेका छन्।

माओवादीका संसदीय दलका नेता जोखबहादुर महराले भजित लुङबहादुर महरालाई स्वकीय सचिवमा राख्दा रुकुमकी दिलकुमारी बुढाले भदैनी (दाइकी छोरी)लाई नियुक्ति दिएकी छन्।

जानकारहरू विषय विज्ञता योग्यता र क्षमताका आधारमा स्वकीय सचिव नियुक्त भएमा सांसदहरूलाई नै धेरै फाइदा हुने बताउँछन्।

‘पैसाको मात्र लोभले आफ्ना नातेदार राख्नु भन्दा विषय विज्ञता हेरेर राख्दा सांसद्लाई नै काम गर्न सजिलो हुन्छ,’ विश्लेषक खेमराज शर्माले भने, ‘परिवारभित्रकै व्यक्ति योग्य र क्षमतावान छ भने ठिक छ। तर यो धेरै कमले गरेका छन्।’

आफन्तलाई नियुक्त गर्नै नहुने भन्ने कानून नभए पनि सांसद्ले यसमा विचार पुर्याउनुपर्ने उनको भनाइ छ।

एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलले सांसदहरूलाई काम गर्न सहज लाग्नेलाई स्वकीय सचिवमा राख्ने परिपाटी भएको बताए।

‘सासंदहरूको धेरै काम हुन्छ। त्यसैले राम्रोसँग काम गर्ने स्वकीय उहाँहरूले राख्नुभएको छ। यो, ऊ, त्यो भनेर केही हुँदैन। काम हुनुपर्यो’, उनले भने।

कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्वकीय सचिव कसलाई राख्ने भन्ने अधिकार सांसद्हरू भएको बताउँदै जसलाई राखे पनि कामै नगरी सेवा सुविधा लिन नहुने बताए।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले आफूलाई काम गर्न सहज हुनेलाई स्वकीय सचिवको रूपमा राख्नुपर्ने बताए।

‘सबै कुरा मिल्नुपर्छ र स्वकीय हुन्छ। त्यसैले काम गर्नेलाई नै स्वकीय राख्नुपर्छ’, उनले भने।

चैत २७, २०७९ सोमबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।