सलाहले पेनाल्टीमा गोल गर्न चुक्दा लिभरपुलसँग बराबरीमा रोकियो आर्सनल

सलाहले पेनाल्टीमा गोल गर्न चुक्दा लिभरपुलसँग बराबरीमा रोकियो आर्सनल

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल लिभरपुलसँग २-२ गोलको बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाड्नु परेको हो।​

आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जिससले एक एक गोल गर्दा लिभरपुलका मोहमद सलाह र रोबर्टो फिर्मिन्होले एक-एक गोल गरे।

खेलको आठौं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। २८औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए।

तर, खेलको ४२औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए। ५४औं मिनेटमा उनै सलाह पेनाल्टीमा गोल गर्न चुके। उनको प्रहार बाहिरिएको थियो।

तर, खेलको ८७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए।

बराबरीसँगै आर्सनलले ३० खेलमा ७३ अंक जोडेको छ। आर्सनलले लिगमा ६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा म्यानचेस्टर सिटीको २९ खेलबाट ६७ अंक भएको छ। लिभरपुल ४४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ५-१ गोलको पराकिलो अन्तरमा हरायो।

चैत २७, २०७९ सोमबार ०७:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।