कर्णाली सरकारमा कांग्रेसकाे ‘इन्ट्री’ : शर्मालाई सघाउने कि शाहीले नेतृत्व लिने ?

कर्णाली सरकारमा कांग्रेसकाे ‘इन्ट्री’ : शर्मालाई सघाउने कि शाहीले नेतृत्व लिने ?
तस्बिर- मुख्यमन्त्री राजकुमार शर्मा (बाँया) र जीवनबहादुर शाही (दायाँ)

सुर्खेत : कर्णाली प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले आइतबार राजीनामा दिए।

सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएसँगै अब कांग्रेसको सरकारमा जाने बाटो खुलेको हो।

शनिबार मात्रै कांग्रेसका उप-सभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमा कांग्रेस कर्णाली सरकारमा जाने संकेत बताएका थिए। त्यसको केही दिनअघि मात्रै माओवादीका उप-महासचिव जनार्दन शर्माले पनि माओवादी-कांग्रेस गठबन्धनको सरकार बन्ने बताएका थिए।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो।

गत १७ चैतमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो। एक सिट भएको राप्रपाले पहिला सरकालाई विस्वासको मत दिएको थियो भने पछि फिर्ता लिएको थियो।

मुख्यमन्त्री शर्माले एमालेका तीन मन्त्रीलाई बर्खास्त गर्न सकेका थिएनन्। दुई महिनामै उनीहरूले राजीनामा दिएपछि नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको हो।

४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सिटको आवश्यकता पर्दछ। कांग्रेसका १४ र माओवादीका १३ जोडे मात्रै २७ पुग्छ। समाजवादीलाई पनि सहभागी गराए २८ पुग्छ।

यसरी प्रदेश सभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले सरकारको नेतृत्त्व अगाडि पाउनुपर्ने माग राखेको छ। यद्यपि एमालेसँग भएको साढे दुई–दुई वर्षको सहमति नै कांग्रेसमा लागू गर्ने अडानमा माओवादी छ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चुनावताका माओवादी अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीका लागि आफूलाई नै निरन्तरता दिने वचन दिएकाले नेतृत्वमा आफ्नो दाबी रहने बताउँदै आएका छन्।

शुक्रबार बिहान माओवादी उप-महासचिव जनार्दन शर्मासँग शाहीले भेट गरेका थिए। शर्माले वर्तमान मुख्यमन्त्री नै कायम रहने र साढे दुई वर्षपछि शाहीले नेतृत्व गर्ने गरी समीकरण अघि बढ्नेगरी अगाडि बढेको गठबन्धनका नेताहरू बताउँछन्।

शर्मा–शाहीबीचको भेटमा प्रारम्भिक सहमति भइसकेको भनिए पनि त्यस्तो नभएको कांग्रेस नेताहरू बताउँछन्। कांग्रेस नेता शाहीले भने यसबारे केन्द्रले नै टुङ्गो लगाउने र सोही अनुसार प्रदेशमा लागू हुने बताउँदै आएका छन्।

यद्यपि वर्तमान मुख्यमन्त्रीकै नेतृत्त्वमा कांग्रेस सरकारमा सहभागी हुने भएपछि मन्त्रीहरूको विषयमा अड्कलबाजी सुरू भएका छन्।

माओवादीकै नेतृत्त्वमा सरकारमा जाने स्थिति र तीन मन्त्रालय नै पाउने अवस्थामा जाजरकोटबाट राजीवविक्रम शाह र बेदराज सिंह, दैलेखबाट घनश्याम भण्डारी र कृष्ण विसी, सुर्खेतबाट खड्क पोखरेल र जानकी सिंह मध्येबाट तीन जनालाई दलले पठाउन सक्ने आँकलन गरिएको छ।

यदि पहिलो दलको हैसियतमा भागबण्डा मिले कांग्रेसले एक राज्यमन्त्री थप पाउने सम्भावना पनि उत्तिकै छ।

सरकार अलमलकै कारण विगत तीन महिनादेखि कर्णाली प्रदेश सभा विजनेशविहीन भएको थियो। त्यस्तै मिनी संसद्का रूपमा रहेको विषयगत समितिहरू समेत नेतृत्वविहीन अवस्थामा छन्।

अहिले माओवादीले एक मुख्यमन्त्री, एक राज्यमन्त्री र तीन मन्त्रालयको जिम्मेवारी लिएको छ।

चैत २६, २०७९ आइतबार २१:४९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।