६८६ जना सवारी चालकलाई बाटोमै कक्षा

६८६ जना सवारी चालकलाई बाटोमै कक्षा

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले शनिबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६८६ जना चालकहरू सहभागी भएका छन्।

शनिबार गरिएको सडक सचेतना कार्यक्रममा कालिमाटीमा १५० जना,  कमलविनायकमा ११० जना, नगरकोटमा  ६० जना, सातदोबाटोमा ५७ जना, थापाथलीमा ४८ जना, सोह्रखुट्टेमा ४० जना, साँखु र कीर्तिपुरमा ३०-३० जना, नयाँबसपार्क, कपन, भक्तपुर,नेपालटारमा २५-२५ जना,फर्पिङमा २० जना, काँडाघारीमा १७ जना, कमलपोखरीमा १५ जना र टोखामा ९ जना गरी ६८६ जना चालकहरू सहभागी भएका हुन्।

कार्यक्रममा चालकहरूलाई मादक पदार्थ सेवन, लागुऔषध सेवन, र ढोका खुला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो।

त्यस्तै तीव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि सजग गराइएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्ने उद्देश्यका साथ चालक लक्षित चेतनामूलक कार्यक्रम गरिएको बताए।

ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्यनजर गरी ‘अन द स्पट’ चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियाननै चलाएर चालक सहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको समेत प्रवक्ता भट्टले जानकारी दिए।

चैत २५, २०७९ शनिबार २०:१३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।