नागरिकतामा जस्तै राहदानी दुरूपयोगमा पनि मतदाता ढाँट्दैछन् रवि, अदालती विषयलाई षडयन्त्रको संज्ञा

नागरिकतामा जस्तै राहदानी दुरूपयोगमा पनि मतदाता ढाँट्दैछन् रवि, अदालती विषयलाई षडयन्त्रको संज्ञा

काठमाडौं : मंसिर ४ को मतदानअघि नागरिकताको बैधताबारे उजुरी परेपछि रवि लामिछानेले चुनावी सभामा दाबी गरे- ‘मलाई चक्रब्यूहमा पार्ने षडयन्त्र भइरहेछ। तर म त्यो तोड्नेछु।’

रवि चितवन-२ बाट निर्वाचित भएर उपप्रधानसहित गृहमन्त्री बने। उनले आफ्नो नागरिकता वैध रहेको भन्दै गरेको दाबी सर्वोच्च अदालतको संवैधानिक इजलासबाट गलत प्रमाणित भयो। नागरिकता निस्क्रिय रहेको ठहरिएसँगै सांसद् पद पनि गुम्यो। उनकै कारण छोटो समयमा चितवन-२ मा उप-निर्वाचन हुँदैछ। उनी पुन: उम्मेदवार बनेका छन्।

संयोग अहिले राहदानी दुरुपयोगमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउनु नपर्ने भन्दै गरेको निर्णयविरुद्ध सर्वोच्चमा बहस जारी छ। उनी आफूलाई हत्कडी लगाउने षडयन्त्र भइरहेको भन्दै आफ्नो एकल सरकार बनाएर विरोधीलाई हत्कडी लगाउने चुनौती दिँदै हिँडेका छन्।

उनी चितवनसँगै तनहुँ-१ मा समेत सक्रिय छन्। सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दालाई उनले चितवनका हरेक सभामा आफूविरुद्द षडयन्त्रको संज्ञा दिने गरेका छन् नै। शनिबार तनहुँको आबुखैरेनी र देवघाट पुगेर पनि त्यही दोहोर्याए।

उनले आफ्ना विरोधीहरू भ्रष्ट रहेको भन्दै आफ्नो सरकार बनेमा उनीहरूको हातमा हत्कडी लगाउने दाबी मात्र गरेनन्, आफ्नो हातमा हत्कडी लगाउने सपना पूरा नहुने ठोकुवा समेत गरे।

उनले आफ्नो आलोचना गर्नेहरूको काम हेर्दा भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका भएको दाबी गर्दै भने- ‘त्यस्ता मानिसहरू हामीलाई प्रश्न गर्छन्, जसलाई त हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिस्ट बनाइरहेका छौँ।’

देवघाटमा आयोजित सभामा पनि उनले अप्रत्यक्ष रूपमा आफ्नो राहदानीको प्रसङ्ग उठाउँदै आफूलाई कमजोर बनाउने षडयन्त्र भइरहेको र त्यसबाट जोगिन शक्ति चाहिएको भन्दै स्वर्णिम वाग्लेका लागि मत मागे।

उनी विरुद्ध अमेरिकाको मेरिल्यान्डको अदालतमा आर्थिक सम्बन्धी सात मुद्दा चल्यो। तीन वटामा उनी दोषी ठहर भएका छन्। एक मुद्दा अझै जीवित देखिन्छ। तर निर्वाचन प्रचारमा उनी नै सुशासनबारे चर्का कुरा गर्छन्। अमेरिकाको मुद्दाको प्रसङ्ग आयो भने उहीँ नागरिकतामा झैँ सबै सेटल भइसकेको दाबी गर्छन्। 

उनको हातमा हत्कडी लाग्नसक्छ?
रविले आफूलाई हत्कडी लगाउने प्रयास भइरहेको दाबी गरे। यदि राहदानी दुरूपयोगमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयकको निर्णय उल्टिएर अदालतबाट उनी दोषी ठहर भए तीन वर्षसम्म कैद हुनसक्ने कानूनी प्रावधान छ।

निर्णय उल्टिएर दोषी ठहर भए षडयन्त्रबाट हैन, कानूनी रूपमै उनको हातमा हत्कडी लाग्नेछ।

उकेराले सबैभन्दा पहिला उनको नागरिकताको विषय प्रमाणसहित सार्वजनिक गरेको थियो। उनको राहदानी प्रकरण पनि पहिलो पटक उकेराले नै प्रमाण सहित सार्वजनिक गरेको थियो।

सांसद् निर्वाचित भएसँगै आफूविरुद्ध अनुसन्धान गरिरहेको निकायकै नेतृत्वमा गएर उनले प्रहरीमा भएको अनुसन्धान प्रभावित बनाए। प्रहरीले नागरिकताबारे मुद्दा चलाउने/नचलाउने निर्णय गर्नु अगाडि नै संवैधानिक इजलासबाट फैसला आयो। उनी मन्त्री र पार्टी सभापतिको पदबाट राजीनामा दिन बाध्य भए।

संवैधानिक इजलासको पूर्णपाठमा नागरिकताबारे सम्बन्धित निकायमा छानबिन भइरहेकाले त्यतैबाट टुंगिने उल्लेख गरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी नेतृत्व सक्रिय भयो।

काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्की रवि गृहमन्त्री भएकै बेलामा काठमाडौंमा सरुवा पाएका अधिकृत हुन्। एसएसपी सरुवाको अधिकार गृहमन्त्रीमा रहेको छ।

प्रहरीले अमेरिकी नागरिक भएकै बखत नेपाली राहदानी बनाएको तर अमेरिकी राहदानी नत्यागेसम्म प्रयोग नगरेकाले दुरुपयोगमा मुद्दा चलाउन आवश्यक नभएको राय दियो।

जिल्ला सरकारी वकिल कार्यालय र उच्चले प्रहरीको सिफारिस सदर गर्दै महान्यायाधिवक्ताको कार्यालयमा पठाए। उता महान्यायाधिवक्ता कार्यालयमा उनको फाइलबारे निर्णय प्रक्रियामै रहँदा यता संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत लिदैँ थिए।

विश्वासको मत दिने/नदिने अगाडि नै राहदानीको मुद्दा टुंग्याउन रास्वपाका उपाध्यक्ष डिपी अर्याल भने महान्यायाधिवक्ता कार्यालयमा पुगेका थिए। यता रास्वपाले विश्वासको मत दियो। उता महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गर्यो।

अनुसन्धान ब्यूँतिने सम्भावना कति?
महान्यायाधिवक्ता कार्यालयले रवि अमेरिकी नागरिक भएर नेपाली नागरिक हुँ भनेर राहदानी लिएको स्वीकारेको छ। तर, सो राहदानी प्रयोग नगरेको र रविको नागरिकता निस्क्रिय रहेको अदालतको फैसलासँगै राहदानी छाडेको भन्दै दुरूपयोग स्वीकार गरेन।

तर राहदानी ऐनमा राहदानी लिएर प्रयोग गरेमात्र दुरूपयोग हुने हैन, झुटो विवरण पेश गरेर राहदानी लिने प्रयास गरे पनि दुरूपयोग हुने कानूनी प्रावधान छ।

सन् २०१४ मा अमेरिकी नागरिक बनेर अमेरिकी नागरिककै हैसियतमा नेपाल आए।

२०१४ मार्च ५ मा जारी भएको लामिछानेको अमेरिकी पासपोर्ट।

राहदानी विभाग गएर आफूले नत्यागेको नेपाली नागरिकताको दुरूपयोग गर्दै नेपाली नागरिक भएको भन्दै ढाँटेर नेपाली राहदानी बनाएको प्रमाणबाट पुष्टि भइसक्यो।

२०१५ मे २६ मा राहदानी लिन रविले भरेको फारम जहाँ राष्ट्रियता नेपाली लेखिएको छ। २०१७ अक्टोवर ४ मा अध्यागमन विभागमा रविले बुझाएको आफ्नो व्यक्तिगत विवरण जहाँ राष्ट्रियता अमेरिकी लेखिएको छ।

उनले अन्य नेपालीले जस्तै आफूले पनि नेपाली राहदानी बनाएको स्वीकारिसकेका छन्। उनी गैरकानूनी रूपमा नेपालमा दोहोरो नागरिक बनेर बसेको खुलेपछि सन् २०१८ मा उनले अमेरिकी नागरिकको हक त्याग्न निवेदन दिए। त्यसपछि उनले जापान, कोरिया जान नेपाली राहदानी प्रयोग गरेका थिए।

२०७९ मा सर्वोच्चबाट उनको नागरिकता अवैध नठरिएसम्म उनीसँग नेपाली राहदानी थियो नै। नागरिकता अवैध ठहरिएसँगै राहदानी सरेन्डर गरे अनि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकता पुन: प्राप्त गरे।

नागरिकतामाथि समेत प्रश्न
महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै रविले ब्यूँताएको नागरिकताको वैधताबारे समेत प्रश्न उठाएर सर्वोच्चमा रिट दायर भयो। रिटको पहिलो सुनुवाइमा अन्तरिम आदेश आएन। तर, कारण देखाऊ आदेश जारी भइसकेको छ।

रविले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुन: प्राप्तिका लागि निवेदन दिएकै दिन नागरिकता जारी भएको थियो। यसले रविले अमेरिकी नागरिकता त्यागेको सरकारी निस्साको सम्बन्धित निकाय (नेपालस्थित अमेरिकी दुतावास)बाट पुष्टि नै नगराई नागरिकता ब्यूँताएको थियो। मुद्दाका सरोकारवाला युवराज सफलले नागरिकता लिन बुझाएको निस्सा मागेका थिए तर पाएनन्।

दोषी ठहरिए के हुन्छ?
चितवन-२ मा रवि पुन: निर्वाचित भए र यो संसद्को कार्यकाल बाँकी रहँदै मुद्दा चलेर उनले राहदानी दुरुपयोग गरेको ठहरिए पुन: उनको सांसद् पद खारेज हुन सक्नेछ। राहदानी दुरुपयोग माथिल्लो अदालतबाट समेत सदर भए हातमा हत्कडी मात्र हैन, उनको संसदीय राजनीतिक यात्रा नै समाप्त हुनेछ।

सम्बन्धित समाचार:-

चैत २५, २०७९ शनिबार १९:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।