अनुगमनपछि गृहमन्त्री श्रेष्ठको निर्देशन- ‘विमानस्थलबाट अपराध आयात नहोस्’

अनुगमनपछि गृहमन्त्री श्रेष्ठको निर्देशन- ‘विमानस्थलबाट अपराध आयात नहोस्’

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार अनुगमन गरेका छन्।

अनुगमनसँगै उनले अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका छन्।

गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी एवम् सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए।

रिपोर्टिङ सुनिसकेपछि मन्त्री श्रेष्ठले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको बताए। विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उनले निर्देशन दिए।

निर्देशनात्मक मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए।

‘अन्तर्राष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो’, श्रेष्ठले भने, ‘यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ।’

विमानस्थल प्रशासन नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

पर्यटकको प्रवेशद्वार आफैंमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने धारणा उनको थियो। त्यस्तै विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दु:ख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने उनले बताए।

राजनीतिक परिवर्तनले हरेक क्षेत्रमा गुणात्मक सुधार स्थापित गर्न सक्नुपर्ने र सबै निकायबीचको सामुहिकता एवम् अनौपचारिक सेवाभावले नै त्रिभुवन विमानस्थलको समेत सुधार हुनसक्नेमा उपप्रधानमन्त्री श्रेष्ठले सचेत गराए।

चैत २५, २०७९ शनिबार १७:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।