रिंगटा ठिक पार्ने डा. योगेशको उपचार अनुभव : औषधि दिएपछि होइन, छुटाएपछि रोग चट्टै

रिंगटा ठिक पार्ने डा. योगेशको उपचार अनुभव : औषधि दिएपछि होइन, छुटाएपछि रोग चट्टै

डा. योगेश नेउपाने नाक, कान घाँटी (इएनटी) र हेडनेक सर्जन हुन्। तर, उनको परिचय यतिमा मात्रै सीमित छैन। उनी रिंगटाको उपचार गर्ने चिकित्सकका रूपमा समेत परिचित छन्।

धेरैले उनलाई रिगटा ठिक पार्ने चिकित्सकका रूपमा चिन्ने गरेका छन्। बिरामीले मात्रै हैन, चिकित्सकहरूले समेत उनलाई रिंगटाको डाक्टरका रूपमा चिन्ने गरेका छन्।

डा. योगेशले रिंगटाकै विषयमा केन्द्रीत भएर बिरामीको उपचार गर्न थालेको करिब दश वर्ष भयो। उनीकहाँ नाक, कान, घाँटी रोग र रिंगटाको समस्या भएका बिरामी औषधि उपचारका लागि पुग्थे।

ठिटो डाक्टर देखिपछि ‘यसले त के उपचार गर्ला र’ भन्ठानेर अस्पताल घुम्दा–घुम्दा आजित भएका बिरामीले सुरूमा उनलाई विश्वासै गर्थेनथे।

अस्पताल पुग्नेमध्ये कयौं बिरामीहरू धेरै वटा अस्पतालमा धाउँदा–धाउँदा रिंगटा ठिक नभएर हैरानमा परेको नजिकबाट देखे डा. योगेशले। रिंगटाको विरामीलाई नै उपचार गर्ने भन्ने विशेष चिकित्सकको अभावका कारण बिरामी भौँतारिएको देख्दा डा. योगेश रिंगटाको समस्याको बारेमा समेत चिन्तन गर्न थाले।

रिंगटाले सताएर भौंतारिएका बिरामीको पीडा देखेपछि डा. योगेशलाई लाग्यो, ‘अहँ रिंगटाको विषयमा केही न केही काम नगरी भएन। रिंगटाकै विषय फोकश गर्नुपर्छ।’

त्यसैले उनले महाराजगञ्ज चिकित्सा क्याम्पसमा जागिर सुरु गरेको तीन वर्षपछि रिंगटाको विषयमा नै केन्द्रीत हुने निष्कर्ष निकाले। रिंगटाकै विषयमा उनी केन्द्रीत हुन थाले। भारतमा पुगेर रिंगटाकै विषयमा फेलोसिप गरे। अष्ट्रेलियामा पुगेर समेत यो विषयका बारेमा उनले ज्ञान लिए।

ठिटो डाक्टर भनेर बिरामीले पत्याएनन्...
यो विषयको अध्ययनपछि डा. योगेशले रिंगटा उपचार गर्ने क्लिनिक नै सुरु गरे। रिंगटाको उपचारको सुरु गर्दा उनी करिब ३२ वर्षका ठिटो चिकित्सक थिए।

ठिटो डाक्टर देखिपछि ‘यसले त के उपचार गर्ला र’ भन्ठानेर अस्पताल घुम्दा–घुम्दा आजित भएका बिरामीले सुरूमा उनलाई विश्वासै गर्थेनथे।

त्यसैले बिरामीलाई विश्वस्त बनाउने एउटा टेक्निक निकाले उनले। त्यो टेक्निक हो, ‘पहिलो दिन बिरामीलाई औषधि नलेखिदिने। रिंगटाको बारेमा पढ्ने खुराक दिने। अनि फलोअपमा बोलाउने।’

औषधि छोडेको एक महिनापछि बाजे पुनः फलोअपका लागि डा. योगेशकहाँ पुगेर खुसी हुँदै भनेछन्, ‘डाक्टरसाप औषधि छोडेँ। बल्ल म ठिक भएँ।’

रिंगटाका बारेमा पढेपछि फलोअपका लागि उनीकहाँ पुग्ने बिरामीको सँख्या बढ्दै गयो। चिकित्सकहरूले पनि रिंगटाको समस्या भएका बिरामीलाई उनीकहाँ पठाउन थाले।

कयौं बिरामीमा रिंगटा लाग्नुको कारण सजिलो गरी पत्ता लगाउन कठिन हुने उनले अनुभव सुनाए। त्यसैले पनि उनीकहाँ रिंगटाका बिरामीको चाप बढ्दै गयो।

डा. योगेशको अनुभवमा कोही बिरामी फनफन घुम्नु, बसेको ठाउँबाट जुरुक्क उठ्दा कमजोर महसुस हुनु, टाउको भारी हुनु, झुम्म हुनु, वाकवाक लाग्नु, ओछ्यानमा सुत्दा, दायाँ बायाँ फर्कँँदा तथा उठ्दा भनन् हुने जस्ता समस्यालाई रिंगटा भन्ने गरिन्छ।

तर, रिंगटा आफैँमा रोग नभई रोगको लक्षण भएको उनले सुनाए। अधिकांश किसिमका रिंगटाको उपचार सम्भव हुने समेत उनले सुनको अनुभव छ।

औषधिको लत लागेका ती बाजे
त्यसो त कतिपय बिरामी, चिकित्सकले केही समयका लागि लेखिदिएको रिंगटाको औषधि चिकित्सकको सल्लाहविना नै लामो समय सेवन गरिरहेको अवस्थामा उनीकहाँ पुग्छन्। कतिपय समस्या त औषधि सेवन छोडेपछि ठिक हुन्छ।

केही वर्ष अघिको मात्रै प्रसङ्ग हो। रिंगटाको समस्या भएका ६० वर्ष नाघेका बाजे डा. योगेशकहाँ पुगे। ती शिक्षित बाजे सरकारी जागिरे रहेछन्।

बाजेले पाँच वर्षदेखि निरन्तर रिंगटा लाग्न नदिने औषधि सेवन गर्दै आएका रहेछन्। सायद एक पटक चिकित्सकले लेखिदिएपछि चिकित्सकको सल्लाहविनै आफैँ त्यो औषधि सेवन गर्दै आएका थिए उनले।

स्वास्थ्य परीक्षणपछि थाहा भयो कारण सामान्य नै थियो। ती पुरुषलाई करिब दश मिनेट एक किसिमको व्यायाम गराएपछि रिंगटा काँडो झिकेजस्तै निको भइहाल्यो।

बाजेसँग उनले करिब आधा घण्टा कुरा गरे। स्वास्थ्य परीक्षण गरे। त्यसपछि डा. योगेशले बाजेलाई भने, ‘तपाईं यो औषधि सेवन गर्न छोड्नुस्, रिंगटा ठिक हुन्छ।’

तर, बाजेले पत्याएनन्। औषधि सेवन गर्दा फनन रिंगाउने उनलाई डाक्टरले औषधि छाड्नुस् भन्दा मजाक गरेको जस्तो लागेछ। बाजेले एकैपटक त्यो औषधि छोड्नै मानेनन्। उनलाई औषधि खाने बानी नै परिसकेको रहेछ। त्यसैले डा. योगेशले कम गर्दै लान अनुरोध गरे।

नभन्दै बाजेले औषधि कम गर्दै लगेछन्। बाजेलाई त्यो औषधि सेवन गर्न छोड्न करिब एक महिना लाग्यो। औषधि छोडेपछि त बाजेको रिंगटाको समस्या नै ठिक भएछ।

रिंगटाको त्यो औषधि छोडेको एक महिनापछि बाजे पुनः फलोअपका लागि डा. योगेशकहाँ पुगेर खुसी हुँदै भनेछन्, ‘डाक्टरसाप औषधि छोडेँ। बल्ल म ठिक भएँ।’

दश मिनेटमा रिंगटा चैट भएपछि...
त्यसो त कतिपय रिंगटाका बिरामीलाई त दश मिनेटको व्यायाम गराइदिए ठिक हुने अनुभव डा. योगेशले सुनाए।

कतिपय सिटी, एमआरआई लगायत मेसिनको माध्यमबाट परीक्षण गर्दा समेत पत्ता नलागेको रिंगटा सामान्य व्यायामपछि ठिक हुँदा बिरामी दंग पर्दै कृतज्ञ भएर जान्छन्। बिरामी दंग परेका ती क्षण उनी शब्दमा वर्णन गर्न सक्दैनन्।
 
यस्तै एउटा अनुभव सुनाए उनले। तीन वर्ष अघि करिब ५८ वर्षका पुरुष रिंगटाको समस्या भएर उपचारका लागि डा. योगेशकहाँ पुगे। ती पुरुषको समस्या थियो, ‘सुत्दा रिंगटा लागिहाल्ने, अनि बान्ता हुने।’

समस्या ठिक पनि बेला-बेलामा मनको सन्तोकका लागि उहाँ जहाजमै फलोअपका लागि आउनुहुन्थ्यो।

सुत्नासाथ रिंगटा लाग्ने भएकाले ती पुरुष १५ दिनदेखि सोफामा बसेर अढेस लागेर निदाउँथे। जसले गर्दा उनमा तनाब बढिरहेको थियो। ती पुरुष अस्पताल नगएका हैनन्। औषधि उपचार पनि भएकै हो। तर, केही गरे पनि रिंगटा ठिक भएन।

रिंगटाको पीडामा परेका ती पुरुषको डा. योगेशले स्वास्थ्य परीक्षण गरे। कारण सामान्य नै थियो। ती पुरुषलाई करिब दश मिनेट एक किसिमको व्यायाम गराए डा. योगेशले। व्यायामपछि उनको रिंगटा काँडो झिकेको जस्तै निको भइहाल्यो।

‘दश मिनेटको व्यायामपछि बिरामीको रिंगटा चैट’, डा. योगेशले सुनाए।

हवाइजहाज चढेर फलोअपमा
कतिपय बिरामी त यस्ता हुन्छन् रे हवाइजहाज चढेर समेत फलोअपका लागि आउने रहेछन्। यस्तै एउटा प्रसंग सुनाए उनले।

करिब तीन वर्षअघि सुर्खेतकी करिब ५८ वर्षकी रिंगटाको समस्या भएकी महिलाको डा. योगेशले उपचार गरेका थिए। उपचारपछि महिलाको समस्या ठिक भएछ। टाढा भएकाले उनले नजिकैको अस्पतालमा फलोअपमा जाँदा पनि हुन्छ भनेको थिए।

तर, ती महिलालाई अन्त फलोअपमा जान मनले नै मान्दैन रहेछ। त्यसैले हवाइजहाज चढेर काठमाडौं आएर डा. योगेशलाई नै भेट्छिन्।

केही महिना अघि पनि ती महिला फलोअपका लागि उनीकहाँ पुगेकी थिइन्। समस्या ठिक पनि बेला-बेलामा मनको सन्तोकका लागि उनी काठमाडौं आउने रहिछन्।

हालसम्म करिब १३ पटक ति महिला फलोअपका लागि आएको डा. योगेशले सुनाए।

बिराटनगरबाट एसएलसी, वंगलादेशमा एमबीबीएस
योगेशकोे पूर्ख्यौली घर भोजपुर थियो। त्यसपछि उनको परिवार मोरङ झरेको रहेछ। उनका बुवा सरकारी जागिरे।

योगेश काठमाडौंमा जन्मिए। काठमाडौंपछि बुवा सरुवा हुँदै विराटनगर पुगेपछि उनको बाल्यकाल उतै बित्यो। त्यहिँको सेन्ट जोसेफ हाइयर सेकेन्डर स्कुलबाट २०५१ मा एसएलसी गरे।

प्लस टु अध्ययनका लागि भारतको बैंग्लोर पुगे। बल्डविन मेथोडिस्ट कलेजबाट प्लस्ट टु सकेर नेपाल फर्किएपछि एमबीबीएस अध्ययनका लागि सन् १९९७ को अन्त्यतिर बंगलादेश गए।

बंगलादेशको चिटागोंङ स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा २००३ मा उनी एमबीबीएस अध्ययन सकेर नेपाल फर्किए। नेपालमा उनले त्रिपुरेश्वर आँखा अस्पताल, प्रसूति गृह, वीर अस्पताल लगायत विभिन्न सरकारी अस्पतालमा एकवर्ष इन्टर्नसिप गरे।

किताब लेखेर लाइसेन्स परीक्षा
त्यो बेला नेपाल मेडिकल काउन्सिलले दर्ता प्रमणपत्र (लाइसेन्स) परीक्षा लिन थालिसकेको थियो। तर, दर्ता प्रमाणपत्र परीक्षा लिन थालेको धेरै वर्ष भएको थिएन।

डा. योगेशले पनि दर्ता प्रमाणपत्रका लागि परीक्षा दिने तयारी गरे। तर, त्यो बेला काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षाको तयारीका लागि किताब नै पाइँदैनथ्यो।

त्यसैले उनले आफूले परीक्षाको तयारी गर्ने शिलशिलामा अरु एक/दुई जना साथीसँग मिलेर एउटा किताब नै तयार गरे। उनले त्यो किताबको नाम ‘एनएमसी एलई (नेपाल मेडिकल काउन्सिल लाइसेन्स इक्जामिनेशन)’ राखे।

रिंगटाको कारण पत्ता नलगाई सेवन गरिने औषधि ४/५ दिनभन्दा बढी सेवन गर्नु हुँदैन। रिंगटा भूकम्पजस्तै हो।

तर, औपचारिक रूपमा किताबकै रूपमा भने प्रकाशित गरेनन्। फोटोकपीको रूपमा प्रयोग गरे। त्यो फोटोकपी उनले वीर अस्पताल अगाडि रहेको एक फोटोकपी पसलमा छोडिदिएछन्।

पछि धेरै वर्षसम्म दर्ता प्रमाणपत्रका लागि परीक्षा दिने एमबीबीएसका विद्यार्थीले त्यो फोटोकपीका रूपमा रहेको किताबको प्रयोग गरेको उनले सुनाए।

‘त्यसरी कम्पाइल गरेर बनाएको त्यो पहिलो फोटोकपी किताब थियो,’ उनले भने, ‘पछिसम्म पनि फोटोकपी धेरै साथीभाइलाई काम लाग्यो।’
काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा उनी सफल भए।

वीरको त्यो खटाई, चीनमा बसाई
दर्ता प्रमाणपत्र पाएपछि डा. योगेश वीर अस्पतालमा मेडिकल अधिकृतका रूपमा करार जागिरे भए। सुरुमा उनले आकस्मिक कक्षमा काम गरे।

वीर अस्पतालमा प्रायः रातीको ड्युटी पर्थ्यो। एक छिन पनि आराम गरेर बस्न सम्भव हुँदैनथ्यो। रातभरीको अनिधो हुन्थ्यो नै। वीर अस्पतालको ड्युटी सकेपछि उनी ४/५ घण्टा सुत्थे। बचेकोे समय उनी हिमाललगायत अन्य निजी अस्पतालमा पनि काम गर्थे।

२०६१ माघमा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएको समयमा डा. योगेशलाई चीनमा पढाउन जाने अवसर आयो। त्यसैले उनी चीन जाने तयारी गरे। तर, राजले कू गरेपछि मोबाइल फोन बन्द भयो।

राजाले कू गरेको करिब एक हप्तापछि उनी एकजना चीन उडे। डा. योगेश चीनको साङदोङ प्रदेशको विफाङ मेडिकल कलेजमा पुगेर चिकित्साशास्त्रका विद्यार्थीलाई पढाउन थाले। उनी एमबीबीएसलाई फिजियोलोजी विषय पढाउँथे। त्यहाँ करिब नौ महिना पढाएपछि उनी नेपाल फर्के।

नाक, कान घाँटीमा चासो
योगेशले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पस (त्रिवि शिक्षण) मा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिए। अध्ययनका लागि छनोट भए।

डा. योगेश नाक, कान घाँटी (इएनटी) र हेड, नेक सर्जरी विषयमा एमएस अध्ययनका लागि महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् २००७ मा भर्ना भए। २०१० मा उनको एमएस अध्ययन पूरा भयो।

एमडी सकेको करिब तीन महिनामा नै उनले महाराजगञ्ज चिकित्सा क्याम्पस (शिक्षण अस्पताल) मा शिक्षण सहायक(टिचिङ एसिस्टेन) का रूपमा करार जागिरे भए। त्यसपछि भने उनले क्याम्पसमा चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउन थाले।

अर्कातर्फ शिक्षण अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि, उपचार र सर्जरी गर्नु उनको काम भयो। काम गर्न थालेको करिब पाँच वर्षमा डा. योगेश क्याम्पसमा लेक्चररका रूपमा स्थायी भए।

बिरामीको गफ सुनेर, हातले छामेर, स्वास्थ्य परीक्षण गरेर तथा स्वास्थ्य सम्बन्धी विस्तृत विवरण लिएपछि करिब ८५ प्रतिशत रिंगटाको कारण पत्ता लगाउन सकिन्छ।

महाराजगञ्ज चिकित्सा क्याम्पसमा बढुवा हुँदै उनी दुई वर्ष अघिदेखि सह–प्राध्यापकका रूपमा कार्यरत छन्। उनी अस्पतालमा इएनटी विभागमा कार्यरत छन्।

धेरै कारणले रिंगटाको समस्या हुने भएकाले विभिन्न तालिमको व्यवस्था गरेर नेपालका धेरै ठाउँका जुनियर चिकित्सकहरूलाई रिंगटाको बारेमा आफूले तालिम दिनुका साथै अन्तरक्रिया गरेको उनले सुनाए।

निन्द्रासँग सम्बन्धित विभिन्न ज्ञान तथा सीप समेत सिकेका छन् उनले। त्यतिमात्रै हैन सोसाइटी अफ ओटोलारिंगोलोजीष्ट अफ नेपाल को सचिव, नेप्लिज सोसाइटी अफ स्लिप डिसअर्डरको सचिव, नेप्लिज जर्नल एण्ड हेड, नेक सर्जरीको प्रधान सम्पादक र रिसर्ज काउन्सिलको सदस्यको भूमिकाको अनुभव समेत छ उनीसँग।

डा. योगेशको रिंगटा पत्ता लगाउने विधि
संसारमा अहिलेसम्म रिंगटाको कारण पत्ता लगाउने विशेष मेसिन औजार छैन। कारण पत्ता लगाउनका लागि गहिरो अध्ययन चाहिने डा. योगेशले बताए।

रिंगटाको कारण पत्ता लगाउन परमपरागत चिकित्सकीय उपचार विधि समेत आवश्यक हुने उनले सुनाए। बिरामीको गफ सुनेर, हातले छामेर, स्वास्थ्य परीक्षण गरेर तथा स्वास्थ्य सम्बन्धी विस्तृत विवरण लिएपछि करिब ८५ प्रतिशत रिंगटाको कारण पत्ता लगाउन सकिने उनको अनुभव छ।

बाँकी १५ प्रतिशत सिटी, एमआरआईलगायत मेसिनबाट परीक्षण गरेर रिंगटा पत्ता लगाउन सकिन्छ। त्यतिमात्रै हैन, करिब ८० प्रतिशत रिंगटाको समस्या त औषधि बिना नै थेरापीले ठिक हुनसक्ने उनले बताए।

त्यसो त रिंगटाको कारण पत्ता नलगाई सेवन गरिने औषधि ४/५ दिनभन्दा बढी सेवन गर्न नहुने उनले सुझाए। डा. योगेश रिंगटालाई भुँइचालोसँग तुलना गर्छन्।

‘रिंगटा भुइँचालो जस्तै हो, जस्लाई पर्छ उसैलाई थाहा हुन्छ,’ उनले भने। 

चैत २५, २०७९ शनिबार १७:३९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।