बुटवलबासीलाई विष्णु पौडेलको आग्रह- अब छोड्दिनुस्, कति दिन पिरोलिने?

बुटवलबासीलाई विष्णु पौडेलको आग्रह- अब छोड्दिनुस्, कति दिन पिरोलिने?

बुटवल  : रुपन्देहीका सांसद् एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रदेशको राजधानीको विषयलाई लिएर बहस नगर्न आग्रह गरेका छन्।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको शुक्रबारदेखि सुरु २२औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनमा बोल्दै पौडेलले प्रदेश राजधानीको विषयलाई छलफलको विषय नबनाउन आग्रह गरे।

‘जे हुनु थियो, जे नहुनु थियो भयो, छोड्दिनुस्, कति दिन पिरोलिने?’ उनले भने।

उनले राजधानी सरेर आकाश नखसेको र बुटवल पनि नभासिएको बताए।

‘राजधानी दाङ सरेपछि बुटवल सकियो, रुपन्देही सकियो भन्ने अतिरञ्जनाले आफैँलाई सिध्याउँछ,’ उनले भने, ‘उद्योगी व्यवसायी साथीहरू अब कसरी अघि बढ्ने भनेर चिन्तन गर्नुस्।’

फरक प्रसङ्गमा बोल्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले सम्बद्ध निकायको हेलचक्र्याइँ र कमजोरीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बताए।

विमानस्थल आवश्यकताले नै निर्माण भएको भन्दै उनले सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे।

‘विमानस्थाल सञ्चालन होस्, यो सबैको चाहना छ। ढिलो भएको छ, यो चाहिन्छ, चाहिएर बनाएको हो, यो चल्छ हामीले चलाएर देखाउँछौं,’ उनले भने, ‘सञ्चालनमा ल्याउन कुन–कुन निकाएको कमजोरी छ भनी औँल्याएर त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ।’

यसैगरी बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थललाई जसरी पनि सञ्चालनमा ल्याइने उनले बताए।

चैत २४, २०७९ शुक्रबार १९:१०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।