सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैन : मन्त्री मोदी

उदयपुर : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन्।
थारु कल्याणकारी सभा जिल्ला समिति उदयपुरको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्याकाण्डसम्म सत्ता प्राप्तिका लागि भएकाे बताए।
उनले भने, ‘सत्ता जोगाउन वा सत्ता प्राप्त गर्नका लागि फेरि नयाँ हत्याकाण्ड मच्चाउन हामीलाई राजतन्त्र चाहिएको छैन।’
मन्त्री मोदीले दरबार हत्याकाण्डको मुख्य लक्ष्य पनि सत्ता प्राप्ति भएको टिप्पणी गरे। जनताका छोराछोरीले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्थामा मुलुक आइपुगिसकेकाले अब पछाडि फर्किन नसकिने बताए।
मुलुकलाई प्रतिगमनतिर लैजान खोज्नेहरूले अहिले राजाको पक्षमा वकालत गरिरहेको उनको आरोप छ।
उनले थपे, ‘केही राजनीतिक दल, पश्चगामी तत्व एकात्मक शासन चाहिन्छ, समानुपातिक समावेशिता हटाउनुपर्छ भनेर हिडिँरहेका छन्, उनीहरूको त्यो सपना अब पूरा हुँदैन।’
चैत २४, २०७९ शुक्रबार १८:५६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।