गाउँलेले छोरा भन्दा दङ्ग पर्ने भक्ति शाह, जो पाठेघर बोकेर हिँडिरहेछन्
काठमाडौं : जंगी अनि हठी स्वभाव तर मिजासिला छन् उनी। धोत्रो स्वर छ उनको। आधुनिक डिजाइनले चटक्क मिलाएर काटेको कपाल। ओठमाथि जुँगाका धर्सा छन्। समाजले उनलाई घाँगर र फरिया दियो लगाउन। तर सर्ट पाइन्टमा सजिएका छन् भक्ति शाह। उनी त्यही पोसाकमा ऐना हेर्दा मुस्कुराउँछन्। अनि मनमनै सोच्छन्, यो हो नि त म।
ठूलो स्वरले बोल्न हुँदैन, लजाउनुपर्छ, बिहे गरेर पुरुषको घर जानुपर्छ भनेर सिकाए पनि उनको मनले मानिरहेको थिएन। अनुहारमा मेकअप गर्नुपर्छ, कपाल लामो पाल्नुपर्छ भन्यो समाजले। तर, उनी त्यो स्वभावकै थिएनन्। उनी जन्मँदा स्त्रीलिङ्गी भए पनि स्वभाव पूरै पुरुषको। अहिले उनी आफूलाई ट्रान्सजेन्डर पुरुष भन्न रुचाउँछन्।
सुदूरपश्चिमको अछाममा जन्मिए उनी। बाल्यकाल सम्झँदै शाह भन्छन्, ‘पहिला त जिल्लामा केही थिएन। अहिले त बिजुली, गाडी गएको छ।’
अछाममा पैसा कमाउन पुरुषहरू भारत जाने चलन अहिले पनि छ। उनी पनि भारत जान्थे, रुखका पात बटुलेर आउँथे अनि पैसा भनेर दिन्थे। बाल्यकालमा भाँडाकुटी खेल्नु सामान्य नै हो। तर, उनी कहिल्यै बेहुली बनेनन्। उनलाई बेहुला बन्दा नै रमाइलो लाग्थ्यो रे।
एउटा पुरुषले बाहिर गएर कमाएर ल्याउनुपर्छ भन्ने पितृसत्तात्मक सोच उनमा बाल्यकालदेखि नै गढेको थियो। उनलाई घरमा बस्ने, अरूले कमाएर ल्याएको पैसामा खर्च चलाउने सोचाइ नै आउँदैनथ्यो।
गाउँलेले छोरा भन्दा दङ्ग
छ जना दिदी-बहिनी अनि एक जना दाइ छन् भक्तिको। उनी राँइलो सन्तान हुन्। दाइ र बुबा घरमा बसेनन् सानैदेखि। घरमा आमा र दिदीबहिनीमात्रै भएकाले समाजले तोकिदिएको छोराको भूमिका भक्तिले नै निर्वाह गर्नुपर्यो।
दिदी बहिनी घाँस काट्न जान्थे, लेक जान्थे, घरका कामहरू गर्थे। तर भक्तिको काम व्यवस्थापन गरिदिने थियो। उनी खेतिपाती लगाउने, बजार जाने गर्थे। घरमा नुन तेल सकियोस् कि खेती लगाउन खेताला खोज्नुपर्ने होस्, उनको जिम्मेवारी थियो। गाउँलेहरू उनको काम देखेर एउटा मात्रै छोरो भनेको त दुइटा रहेछन् भन्थे। भक्ति मनमनै दङ्ग पर्थे।
सानैदेखि गाउँमा प्रौढ शिक्षा पढाउने र आर्थिक रूपमा परिवारलाई सहयोग गर्ने काम पनि उनले गरे। सकेसम्म बुवा र दाइको अभाव अनुभव हुन दिएनन् घरमा।
समयसँगै विद्यालयमा कक्षा उक्लन थाले। उनको उमेर पनि उकालो चढ्न थाल्यो। भक्तिको मनमा डर बढ्न थाल्यो। उनको कलिलो मष्तिष्कमा प्रश्न थियो- ‘म जन्मिँदा महिला तर मेरो अनुभव किन पुरुषको जस्तो भइरहेको छ?’
तर, तत्काल उत्तर भेटेनन् उनले।
पाँच कक्षामा पढ्दाको त्यो प्रेम
आफ्नो स्वभावबारे समाज र परिवारले थाहा पाए के गर्लान्? भक्तिको मनमा सधैं यही प्रश्न बसिरह्यो। तर मन त हो। पाँच कक्षा पढ्दै उनको प्रेम भयो। दुई स्त्रीलिङ्ग भएकाहरू सानै उमेरमा प्रेममा परे।
‘त्यो समयमा अहिलेजस्तो फोन थिएन। रातभर टुकी बालेर प्रेमपत्र लेखिन्थ्यो। म उनको किताबको बीचमा पत्र राखिदिन्थे, उनी त्यसको जवाफ मेरो किताबको बीचमा राखिदिन्थिन्’, उनले सम्झिए।
आठ कक्षा पुगेपछि उनी डराए। परिवारले थाहा पाए मार्छन् जस्तो लागेछ। उनलाई उनीजस्तो व्यक्ति संसारमा एक्लै हुँ भन्ने लाग्ने रहेछ।
उनी खेलकुदमा रुचि राख्थे। भलिबल खेल उनको प्रिय बन्यो। भलिबल खेल्ने क्रममा आफूजस्ता अन्य साथीहरू पनि भेटे उनले। अनि बल्ल सास आएछ ‘ए म जस्ता त अरू पनि हुने रहेछन्’ भनेर।
अनि उनको आत्मविश्वास बढ्यो। उनको मनमा लागेछ, ‘मेरो पाटर्नरलाई भगाएर कतै लगेर पनि राख्न सक्छु।’
प्रेमीका भेट्ने समय सधैं राती हुन्थ्यो। एकदिन अन्यदिन जस्तै राती सुटुक्क प्रेमीका भेट्न गए। तर यो कुरा बुबाले थाहा पाएछन्।
भर्ना हुँदादेखि पछिसम्म उनले विभेद व्यहोरिरहे। छाउनी अस्पतालमा मेडिकल गरियो उनको। अन्य महिलासँगै उनी आर्मीमा भर्नाका लागि लामबद्ध थिए। उनको पालोमा यो केटा हो कि केटी हो पत्ता लागेन भनेर विशेष चिकित्सक कहाँ पठाएर विशेष जाँच गरियो। भक्तिको मन चसक्क भयो।
लिपल्ट बुवा र आमा दुवैले अगाडि राखेर सम्झाए, ‘अहिल्यै किन केटीको पछि लाग्छस्, भोलिको दिनमा केटी छाडेर जान्छन्। पहिले आफ्नो खुट्टामा उभिन सक् अनि मात्रै केटीहरूको पछि लाग्।’
त्यही आमाबुबाको आर्शीवाद बोकेर उनी काठमाडौं आए। नेपाली सेनामा भर्ना भए।
आफ्नो पहिचान काठमाडौं आएपछि थाहा पाए
भक्तिजस्तै अर्का एक आफन्त पनि थिए गाउँमा। उनी काकाको सन्तान पर्थे। यी दुवैको हाउभाउ र अनुभूति मिल्थ्यो। त्यो समयमा उनीहरू कुरा गर्दा आफूलाई केटी मन पराउने केटी भन्थे।
कक्षा नौ मा जनकपुरबाट आएका शिक्षकले स्वास्थ्य विषय पढाए। अन्य सरहरू भन्दा उनले खुलेर यो विषयमा पढाउँथे। पहिलोपल्ट भक्तिले किताबमा पढे, एउटा केटीले अर्को केटीलाई मन पराउँछ भने त्यो समलिङ्गी महिला हो। त्यसपछि भक्तिको मनमा पस्यो, ‘ए म त समलिङ्गी महिला (लेस्वियन) रहेछु। यो कुरा उनले मनमै राखे।’
काठमाडौं आएपछि उनी ब्लु डाइमण्ड सोसाइटी हुँदै अन्य आफूजस्तै साथीहरूको सङ्गतमा पुगे। अनि बल्ल थाहा पाए, ‘ए म त ट्रान्सम्यान रहेछु’ भनेर। उनी झुक्किएर महिलाको शरीरमा जन्मिएका पुरुष थिए।
अनि उनले हर्मोन थेरापी गरेर जुँगा बनाए, आवाज धोत्रो बनाए। अहिले उनलाई देखेर सार्वजनिक बसमा महिला सिट छाड्दैनन्। न त उनी महिला सिटमा नै बस्न खोज्छन्। उनीसँग पाठेघर त छ तर उनी महिला हैनन्, पुरुष हुन्। पाठेघरसहितको पुरुष हुँदा उनी खुसी छन्।
आर्मीमा खेपेको त्यो विभेद
उनलाई केटीको पहिरन मन परेन। उनको परिवार, समाज र विद्यालय सबैले छुट दियो। तर पिछडिएको भनिने अछाममा विभेद खेपेनन्। तर, आधुनिक अनि सभ्य समाज दाबी गरिने काठमाडौंमा जब विभेदको क्रम सुरू भयो। उनी नेपाली सेनामा भर्ना भए विभेद सुरु भयो।
भर्ना हुँदादेखि पछिसम्म उनले विभेद व्यहोरिरहे। छाउनी अस्पतालमा मेडिकल गरियो उनको। अन्य महिलासँगै उनी आर्मीमा भर्नाका लागि लामबद्ध थिए। उनको पालोमा यो केटा हो कि केटी हो पत्ता लागेन भनेर विशेष चिकित्सक कहाँ पठाएर विशेष जाँच गरियो। भक्तिको मन चसक्क भयो।
मेडिकल परीक्षणमा उनी केटी प्रमाणित भए। त्यसपछि तालिम सुरू भयो। दुई महिनाको तालिम गरिसकेपछि कर्णेलले आदेश दिए- ‘पाँच जनाले लगेर शौचालयमा केटा हो कि केटी हो हेरेर ल्याओ।’ आदेश दिएकाहरूलाई उनले भने, ‘मेरो चेक गर्ने हो भने तिमीहरूले पनि देखाओ, म पनि चेक गर्छु।’
तालिम सकिएपछि चार वर्षसम्म उनले आर्मीमा जागिर पनि गरे। चार वर्षपछि उनी निकालिए।
आर्मीमा जाने बित्तिकै सपथ खुवाइन्छ, आर्मीभित्र नराम्रो गतिविधि नगर्ने भनेर। त्यो सपथमा उनी बसे। तर समस्या के भयो भने, पुरुष उस्तादहरूले त्यहाँका महिलालाई विभेद गर्थे। हिंसा गर्थे। उनको काम राम्रो भएपछि उनको पोष्टिङ महिलाहरूको उस्तादको रूपमा भयो।
‘राज्यको निकायमा गयो उस्तै विभेद छ। न बिरामी हुँदा सहज रूपमा अस्पताल जान सकिन्छ न त शौचालय,’ उनले कुराकानीको बिट मार्दै भने, ‘हाम्रो धर्मले पनि महिला र पुरुष भन्दा भिन्न यौन स्वभाव भएकाहरूलाई स-सम्मान स्वीकार गरेको छ। तर हाम्रो समाज र राज्य अझै स्वीकार्न हिच्किचाइरहेको छ।’
उनीकहाँ महिलाहरू पुरुषले गरेको हिंसाका कुरा लिएर आउँथे। भक्ति त्यो सहन सक्दैनथे। उनले सिधै रिपोर्ट गरिदिए। जसले उनी धेरैको तारोमा परे। उनलाई पछि केटी भएर केटीसँग अनैतिक कार्य गर्यो भनेर आरोप लाग्यो।
यही विषयमा उनलाई ६० दिन थुनामा राखियो। अनि सैनिक सेवाबाट बर्खास्त गरियो। न उनलाई बोल्न दिइयो, न आफ्नो निर्दोशपना सावित गर्ने मौका नै। पछि उनले मुद्दा लडे अनि जिते पनि। तर, फेरि उनी सैनिक संगठनमा फर्किएनन्।
अस्पतालले गरेको विभेद
बाहिरी आवरण एउटा, भित्र अर्कै। बढो सकस। स्वास्थ्य क्षेत्रमा उनले धेरै विभेद भोगिसकेका छन्। अस्पताल जाने बित्तिकै एकपटक सोध्ने कष्ट पनि गर्दैनन्, सिधै लेखिदिन्छन् मेल। अनि मेल वार्डमा पठाइदिन्छन्। भिडियो एक्स रे गर्छन् र भन्छन्, ‘ए तिम्रो त पाठेघर रहेछ।’
उनले आफैंलाई परेको एक घटना सुनाए। पाँच वर्षअघि एक्कासि उनको पेट दुख्यो। उनी कार्यालयमै ढले। इमर्जेन्सीमा टिचिङ अस्पताल लगियो। जाने बित्तिकै इन्जेक्सन दिइयो। पेट दुख्न केही कम भयो। भिडियो एक्स रे गर्दा थाहा भयो, त्यहाँ ‘सिस्ट’ पलाएको रहेछ। तर, त्यो सिस्टलाई चिकित्सकहरूले बच्चा बनाइदिए।
यो बीचमा भक्तिले आफ्नो विषयमा चिकित्सकलाई सुनाइसकेका थिए। उनको पार्टनर छेउमै थिइन्। चिकित्सकले रिलेशन कहिले राखेको भनेर सोधे, भक्तिले एक महिना अघि भने। कतिजनासँग राख्यौ भनेर चिकित्सकले सोधे, उनले पाटर्नर देखाउँदै उनै एक जनासँग भने।
‘ए’ भनेर ती चिकित्सक गए। फेरि पिसाब चेक गर्ने भन्दै आए। पिसाब चेक गरेर बच्चा छ/छैन हेर्नु थियो उनीहरूलाई। पिसाब परीक्षणबाट पनि बच्चा नभएको पत्याएनन्। उल्टो कन्डम प्रयोग गर्नुभएको हो भनेर सोधे।
अझै रोकिएनन् उनीहरू। माथिल्लो वार्डमा लगे र एउटा सुइरो यौनाङ्गमा घोच्न थाले। यसले उनलाई अति पीडा भयो। चिकित्सकलाई धकेलिदिएर ‘मेरो ज्यानको जिम्मा म आफैँ लिन्छु’ भनेर हिँडे।
शौचालय जाँदा त्यस्तै। महिला शौचालय जान उनको मन मान्दैन। मन पुरुष भए पनि यौनाङ्ग त महिलाको छ। उनी पुरुष शौचालय जान सक्दैनन्। महिला र पुरुष बाहेकको पनि लिङ्ग हुन्छ भन्ने स्वीकारेर महिला/पुरुष अनि अन्य भनेर शौचालय नेपालका धेरै ठाउँमा बनेका छैनन्।
‘राज्यको निकायमा गयो उस्तै विभेद छ। न बिरामी हुँदा सहज रूपमा अस्पताल जान सकिन्छ न त शौचालय,’ उनले कुराकानीको बिट मार्दै भने, ‘हाम्रो धर्मले पनि महिला र पुरुष भन्दा भिन्न यौन स्वभाव भएकाहरूलाई स-सम्मान स्वीकार गरेको छ। तर हाम्रो समाज र राज्य अझै स्वीकार्न हिच्किचाइरहेको छ।’
(यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको समस्याबारे नियमित सामग्री प्रकाशित गर्न उकेराले मध्यमधार कोलम सुरु गरेको छ। यो कोलम हरेक शुक्रवार प्रकाशित हुनेछ।)
चैत २४, २०७९ शुक्रबार १६:४९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।