पैसा दोब्बर बनाइदिन्छु भन्दै १२ जनाको हत्या आरोपमा जादुगर पक्राउ, बगैँचाभरी चिहानै चिहान

पैसा दोब्बर बनाइदिन्छु भन्दै १२ जनाको हत्या आरोपमा जादुगर पक्राउ, बगैँचाभरी चिहानै चिहान

एजेन्सी : पैसा दोब्बर बनाइदिने बहानामा १२ जनाको हत्या गरेको आरोपमा इन्डोनेसियाली प्रहरीले एक जादुगरलाई पक्राउ गरेको छ।

प्रहरीले जादुगरको बगैँचाबाट कैयौं शव फेला पारेको छ। ४५ वर्षीय जादुगर सलामित तोहरीले आफूले धेरै शव जमिनमा गाडेको प्रहरीसमक्ष बयान दिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

ग्राहकले पैसा फिर्ता माग्न आउँदा पोटासियम साइनाइड विष खुवाउने गरेको प्रहरीको भनाइ छ।

एक ग्राहकका छोराका अनुसार उनका बुवाले अन्तिमपटक जादुगरलाई भेटेका थिए। बुवा घर नफर्केपछि छोराले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले अनुसन्धानको क्रममा यस्तो तथ्या फेला परेको हो।

प्रहरीले जादुगरको घर नजिकै भेटेका कतिपय चिहानमा दुई–तीन जनालाई सँगै गाडिएको समाचारमा उल्लेख छ। प्रत्येक चिहानमा मिनरल वाटरको बोतल पनि भेटिएको छ।

मृतकहरुको उमेर २५ देखि ५० वर्षका रहेको र केहीको हालै गाडिएको प्रहरीले जनाएको छ। प्रहरीले पीडितको शवमा आक्रमणको कुनै दाग फेला पारेको छैन।

अहिले भने जादूगरले हत्या गरेको अस्वीकार गरिरहेका छन्। नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा उनी २०१९ मा जेल पनि गएका थिए।

चैत २४, २०७९ शुक्रबार १५:३८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।