संक्रमणकालीन न्यायमा ‘फास्ट ट्र्याक’को रट लगाउँदै माओवादी, सचिव भन्छन्- ‘सरकारको आलोचना गरौं तर विचार गरेर’
काठमाडौं : माओवादी केन्द्रका सचिव तथा प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सरकारप्रति आलोचना र विरोध गर्दा आफ्नो जिम्मेवारी र दायित्वलाई विचार गर्न आग्रह गरेका छन्।
शुक्रबारको संसद् बैठकमा बोल्दै नेता पौडेलले सरकारको आलोचना र विरोध गर्दा आफ्नो जिम्मेवारी र दायित्वको पनि विचार गर्न सुझाएका छन्।
प्राप्त उपलब्धीका कारण दलित र महिलाले वडा सदस्य बन्न पाएको र आफूहरु चुनिएर आएको स्मरण गराउँदै उनले शहीदलाई गरिएको सम्मानबारे टिप्पणी गर्दा सोच्न आग्रह गरे।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले केही समयअघि १० वर्षे सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट मारिएका ८ हजार भन्दा बढिलाई शहीद घोषणा गर्दै उनीहरुको नाम राजपत्रमा प्रकाशित गरेको थियो।
यो विषयलाई लिएर टिकाटिप्पणी भइरहँदा पौडेलले यस्तो अभिव्यक्ति आएको हो।
‘शहीदलाई गरिएको सम्मानबारे गरिएको टिप्पणीहरुप्रति माननीयज्यूहरु आफैँले सोचेर जानुपर्छ,’ उनले भने, ‘सरकारको आलोचना गरौं नपुगेका कुराको विरोध गरौँ तर आफ्नो जिम्मेवारी र दायित्वलाई पनि विचार गरौं।’
साथै सांसद् पौडेलले संक्रमणकालीन न्यायको विषयलाई फास्ट ट्र्याकबाट टुंग्याउनुपर्नेमा जोड दिए। उनले केही सांसदले इतिहासको सम्मान गर्न नसकेको भन्दै इतिहासको सम्मान गर्न र वर्तमानका समस्यासँग समाधानका लागि मिलेर अघि बढ्न आग्रह गरे।
उनले भने- ‘इतिहासप्रति सम्मान गर्न सिकौं, वर्तमानमा परेका यस्ता समस्या समाधानका लागि संक्रमणकालीन न्यायलाई फास्ट ट्र्याकको विधिबाट टुंग्याउनका लागि सबै मान्य सदस्यलाई विशेष आग्रह गर्न चाहन्छु।’
संक्रमणकालीन न्यायको विषयलाई कसैले पनि लेनदेनको विषय बनाउन नहुने भन्दै उनले यसका लागि सबैलाई एकजुट हुन आग्रह गरे।
‘शान्ति प्रक्रिया तत्कालीन शात दल र माओवादीका बीचमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू, आईसीआरसी, नेपालका स्थापित मानवअधिकारवादी संस्थाहरू र नेपालका स्थापित बुद्धिजिवीहरू लगायत बसेर टुंग्याएको विषय थियो,’ उनले भने, ‘यसलाई कसैको लेनदेनको विषय आज बनाउनुहुँदैन। यसलाई टुंग्याउने सबैको दायित्व र कर्तव्य हो, त्यसैले यसका लागि सबैसमक्ष आग्रह गर्न चाहन्छु।’
चैत २४, २०७९ शुक्रबार १५:२७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।