गठबन्धनको साझा कार्यक्रममा रास्वपा असहमत

गठबन्धनको साझा कार्यक्रममा रास्वपा असहमत

काठमाडौँ : सरकारको न्यूनतम साझा कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले असहमति जनाएको छ। एमालेसहितको गठबन्धनको सरकारको पालामा आएको न्यूनतम साझा कार्यक्रमको धेरै विषय छुटाएको भन्दै सो पार्टीको संसदीय दलको अनौपचारिक बैठकले बिहीबार सार्वजनिक भएको कार्यक्रममा असहमति जनाएको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका महामन्त्री मुकुल ढकालले नीति कार्यक्रम भ्रष्टाचार विरुद्ध नरम देखिएको छ दाबी गरे। उनले बलात्कारजन्य घटनाको छिटो छिनोफानो गर्ने विषय समेत हटेको बताए।

विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइम कार्ड, गुणस्तरीय रोजगारमुखी शिक्षाका लागि सङ्घीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐन जस्ता विषयले न्यूनतम साझा कार्यक्रममा निरन्तरता पाए पनि नीति तथा कार्यक्रम अमूर्त र लक्ष्यविहीन रहेको उनको दाबी थियो।

सरकार बाहिर रहे पनि रास्वपा वर्तमान १० दलीय गठबन्धनभित्र छ। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई उसले समर्थनसँगै विश्वासको मत समेत दिइसकेको छ। तर रास्वपा गठबन्धन दलको बैठकहरूमा एमाले सहितको गठबन्धनको बैठकमा रास्वपा सक्रियतापूर्वक सहभागी हुने गरेको थियो।

२४ चैत, २०७९, १४:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।