२९ सालदेखि खोलाकै पानी पिइरहेछन् बोलाबासी, नेताहरूबाट आश्वासन मात्रै आइरह्यो तर धारामा पानी आएन

२९ सालदेखि खोलाकै पानी पिइरहेछन् बोलाबासी, नेताहरूबाट आश्वासन मात्रै आइरह्यो तर धारामा पानी आएन

सुर्खेत : नेताहरुले २०६४ साल देखिका हरेक निर्वाचनमा बोलाबासीले एउटै आश्वासन दिइरहेका छन्, ‘तपाईंहरुको घर-घरमा पानी ल्याउँछौं।’ तर, यति लामो समय बितिसक्दा पनि बोलाबासीहरुसँग स्थानीय खोला र गाउँ नजिकै बगिरहेको कर्णाली नदीको धमिलो पानी पिउनुको अर्को विकल्प छैन।

हुन त पञ्चायत कालमा पनि बोलामा पानी ल्याउने आश्वासन नेताहरुले नदिएका होइनन्। त्यतिबेला आएको पानी त्यहाँका स्थानीयले करिब चार वर्षजति मात्रै उपयोग गर्न पाए। त्यसपछि माथिल्लो लगामलाई नै अपुग भएपछि त्यहाँ नै पानीको खपत भएपछि बोलामा पानी आउन बन्द भयो।

त्यस यता लगातार बोलाबासीलाई पानीकै हाहाकार छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि ११० किलो मिटर टाढा रहेको बोलालाई दक्षिणबाट कर्णाली नदि र पश्चिमबाट लिमु खोलाले घेरेको छ।

गाउँको बीचमा पानीको कुनै मुहान छैनन्। पश्चिमतर्फका स्थानीय लिमु खोलाको पानी पिउँछन् भने दक्षिणतर्फका स्थानीय कर्णालीको पानी प्रयोग गर्छन्। 

नेताहरुले बोलाको मुख्य समस्याको रुपमा रहेको पानीको अभावको समस्यालाई समाधान गरेर अगाडि बढ्छौं भनेर सधैं आश्वासन दिइरहे। तर  चुनाव जितेपछि उनीहरुले सधैं बेवास्ता गरेको स्थानीय देव दमाईको गुनासो छ।

‘यहाँ त प्रत्येक निर्वाचनमा नेताहरु घरघरमा पानी ल्याउँछौं भनेर आश्वासन दिन्छ, त्यसैलाई विश्वास गरेर हामी भोट हाल्छौं, तर जितेपछि समस्याबारे सबै बेखबर बन्छन्,’ देव भन्छन्, ‘पञ्चायतकालमा बनेको पानीले केही वर्ष त घरमै खान पायौं, तर त्यसपछि त गाग्री बोकेर खोला धाउनुपर्ने वाध्यता आइलाग्यो।’

२०७० सालमा तत्कालीन संविधानसभा सदस्य स्वर्गीय तप्तबहादुर विष्टको पहलमा एक करोड ३९ लाख रुपैयाँबाट सुरु भएको ‘लामाखेत–बोला’ खानेपानी आयोजनाबाट तीन वर्षसम्म पाइप गाड्ने र ट्याङ्की निर्माण गर्ने काम मात्रै भयो।

काम सम्पन्न नभएकै अवस्थामा उक्त आयोजनाको लामाखेत स्थित मुख्य मुहान नै सुकेपछि आयोजनाले गति लिन सकेन।
२०७७ सालमा कर्णाली प्रदेश सरकारको बजेटमा गाउँपालिका मातहत रहनेगरी क्रमागत योजनाका रुपमा बोला खानेपानी आयोजना समेटियो।

तत्कालीन चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको कार्यकालमा ७२ लाख रुपैयाँमा ठेक्का दिइएको थियो। ठेक्का राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष कविराम पुरीले लिए।

तीन वर्षमा आयोजनाको काम सकेर बोलाबासीको घरघरमा पानी पुर्याइसक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म गाउँको सिरानसम्म पाइप गाड्ने बाहेक अरू काम हुन सकेको छैन।

यस आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी छ, असारसम्म १४६ घरधुरीका धारमा पानी पुर्याइसक्नुपर्ने अवस्था छ। तर, ठेकेदार कम्पनीले चासो देखाएर काम नगर्दा फेरि पानी नआउने हो कि भन्ने शंका बोलाबासीलाई छ।

‘ठेकेदारको यही अवस्था हो भने बोलामा पानी आउनै सक्दैन, आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी छ, पाइपमा पानी आएको छैन, गाउँमा धारा र लाइनको काम पनि बाँकी नै छ,’ बोला खानेपानी उपभोक्ता समितिका पूर्व अध्यक्ष तिलक शाही भने।

‘म पनि अध्यक्ष थिएँ, ठेकेदारका कारण मैले राजीनामा दिएको हुँ। पानीको मूलको टुंगो लाग्यो तर काम भएन, समितिले त समन्वय गरेर गुणस्तरीय काम गराउने न हो, कहिले खोलाले पाइप बगाउँछ, कहिले के हुन्छ तर ठेकेदारलाई कसैले केही भन्न सक्दैनन्,’ उनले थपे।

ठेकेदारले आयोजनाको काम गुणस्तरहिन गरेको र समयमा पनि सक्न पनि नसकेको शाहीको आरोप छ। बोलालाई घना जंगल भएको फाँट भएका कारण स्थानीय भाषमा ‘बण्डाल’ पनि भनिन्थ्यो । २०१७ सालमा कटान गरेर बस्ती बसाइए पछि २०२८ सालमा जग्गा दर्ता भएको थियो।

२९ सालमा आफू बोलामा बस्न आएदेखि नै पानीको समस्या भोग्न थालेको ६५ वर्षीय करबिर कठायत बताउँछन्।

‘२९ सालदेखि म यहाँ बस्दै आएको हुँ। खेती उब्जनीका हिसाबले पनि यहाँ राम्रो छ। तर, पिउने र सिंचाइका लागि पानी नै छैन, पानीकै लागि भन्दा भन्दै अहिलेसम्म करोडौं रकम सकियो, तर पानी अझै पुगेको छैन,’ काठायत भन्छन्, ‘बाँच्नकै लागि भए पनि खोलाको पानी खान बाध्य छौं।’

सिंचाइ कुलो नहुँदा आफूले कृषिजन्य उत्पादन गर्न नसकेको र वर्षामै उब्जाइएका तरकारी पनि बिक्री नभएको कठायत गुनासो गर्छन्। उता स्वास्थ्य चौकी बाहेक नजिकमा अन्य सेवासुविधा पनि नभएको र कक्षा आठ पास गरेपछि एक घण्टा हिंडेर लगाम पढ्न आउनुपर्ने गाउँको वाध्यता रहेको उनी बताउँछन्।

कुनै बेला बोलामा पाँच सय घरधुरी हाराहारीमा मानिसको बसोबास थियो, पानीकै कारण बसाइँसराई गरेर यहाँका स्थानीय कैलाली गएपछि अहिले १५० घरधुरी मात्र छन्। बोलामा अहिले चार सय मतदाता छन्।

‘समथर फाँट, उब्जनी पनि राम्रो हुने, कुनै विपत्तिको डर नभएको ठाउँ भएका कारण पहिला मानिस बस्थे, विकासी कुलो पनि सञ्चालनमा नआउँदा अहिले केही घरधुरी कैलालीतिर बसाई सरेका छन्,’ वडा नम्बर २ का वडाअध्यक्ष मायाराम जैसी भन्छन्, ‘पानीको विषयमा ठेकेदारलाई बारम्बार भन्दा पनि सुनुवाइ नै गर्दैनन्। पालिकामा पनि कुरा उठाएकै छौं।’

यता ठेकेदार कविराम पुरी विभिन्न समयमा भएका अप्ठ्यारा परिस्थितिले गर्दा साचेअनुरूप काम गर्न नसकेको स्वीकार गर्छन्। 

‘पहिलो चरणमा काम भयो, दोस्रोमा सरकारले त्यहाँको रकम पञ्चपुरीमा लिएर काम गर्यो। कहिले डिजाइन परिवर्तन हुन्छ, कहिले जिम्मेवारी अनुसार काम हुँदैन,’ पुरी भन्छन्, ‘मुहानको पनि समस्या छ, अर्को कुरा ठाउँ ठाउँमा खोलाका कारण पनि काममा समस्या भएको छ। अहिले पनि १२ लाख रुपैयाँ त मैले भुक्तानी गर्नै बाँकी छ। यही असारमा पानी पुर्याउने गरी काम अगाडि बढाउनेछु।’

चैत २४, २०७९ शुक्रबार ११:३४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।