आईपीएलमा छैन समयसीमा : ११ बजे सकिनुपर्ने खेल १२ बजेसम्म चल्छन्
एजेन्सी : टी-२० क्रिकेटको अर्को नाम भनेको छिटो-छिटो खेल्नु हाे। तर यो ढाँचाको आईपीएल एकदमै ढिलो भइरहेको छ।
खेलको नतिजा आउन दर्शकले निर्धारित समयभन्दा लामो समय कुर्नुपर्दा खेलाडीले समेत असन्तुष्टी व्यक्त गरेका छन्।
हालै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स बीचको खेलका क्रममा जोस बटलरले आफ्नो सोशल मिडियामा लेखे- ‘कृपया खेलको स्पिड बढाउ।’
सो खेलको पहिलो इनिङ्स १ घण्टा ४८ मिनेटमा सकिएको थियो। सामान्यतया इनिङ्सको निर्धारित समय १ घण्टा ३० मिनेट हो। यो खेल साँझ ७:४५ बजे सुरू भएर ११:४५ बजे सकिएको थियो।
यद्यपि आईपीएलमा यो एउटा खेलको मात्रै कथा होइन। आईपीएलको चालू सिजनको कुनै पनि इनिङ निर्धारित समयमा पूरा भएको छैन। खेलहरू निर्धारित समय भन्दा लम्बिदै गएका छन्।
नियम अनुसार खेल ३ घण्टा २० मिनेटमा पूरा हुनुपर्ने हो। साँझ ७:४५ बजे सुरु भएको खेल इनिङ्स ब्रेक सहित राति ११:०५ बजे समाप्त हुनुपर्छ।
खेल लम्बिँदा टेलिभिजन च्यानलले आर्थिक नोक्सानी बेहोर्नु परेको छ। गुजरात र चेन्नईबीच अहमदाबादमा भएको उद्घाटन खेल ४ घण्टाभन्दा बढि चलेको थियो।
आईसीसीका अनुसार एक घण्टामा करिब १४ ओभर बलिङ गर्नुपर्छ। आईपीएलमा स्लो ओभर रेट सधैँ चिन्ताको विषय बनेको छ। यसलाई सम्बोधन गर्न गत वर्ष जरिवानाको व्यवस्था गरिएको थियो।
यो प्रावधानअनुसार टोलीले ९० मिनेटमा २० ओभर पूरा गर्न नसके बाँकी रहेका ओभरमा ५ फिल्डरको सट्टा ४ जना मात्रै ३० गजको दायराभन्दा बाहिर राख्न सक्नेछन्। यसको फाइदा ब्याटिङ गर्ने टोलीलाई हुन्छ।
तर, हालको सिजनमा लखनउविरुद्ध यो पेनाल्टी चेन्नईले मात्र पाएको थियो। अन्य खेलमा अम्पायरहरूले टोलीलाई पेनाल्टी दिने उचित कारण फेला पार्न सकेनन्। उनका अनुसार ढिलो ओभर रेट डिआरएस आदिको कारणले हुन सक्छ।
उदाहरणका लागि, उद्घाटन समारोहको कारण उद्घाटन खेल २ मिनेट ढिलो सुरू भयो, जबकि चेन्नई-लखनउ खेल मैदानमा कुकुरका कारण ५ मिनेट ढिलो सुरू भएको थियो।
बैंग्लोरले लियो १२२ मिनेट
अहिलेको सिजन निर्धारित समयमा २० ओभरको कुनै पनि इनिङ्स पूरा भएको छैन। नियम अनुसार टोलीले ९० मिनेटमा २० ओभर बलिङ गर्नुपर्छ।
यसमा इनिङ्सको समयमा लिएको ५ मिनेटको रणनीतिक टाइमआउट ब्रेक पनि समावेश छ।
तर, २ अप्रिलमा भएको मुम्बई–बैंग्लोरबीचको खेलमा मुम्बई इन्डियन्सको इनिङ्स सिजनकै सबैभन्दा लामो थियो। उसले १२२ मिनेट लिएको थियो।
चैत २३, २०७९ बिहीबार २२:२९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।