अदालतबाट प्रसाद-२ को रिलिज फुकुवा गर्ने प्रयास असफल, दिएन आदेश, चैत २४ मा बहाव मात्र रिलिज हुने
काठमाडौँ : प्रसाद-२ को रिलिजमा उच्च अदालत पाटनले लगाएको रोक खुलाउने प्रयास असफल भएको छ। अदालतले मङ्गलबार अन्तरिम आदेश दिँदै चैत २४ को रिलिजमा रोक लगाउँदै २६ गते दुवै पक्षलाई बोलाएको थियो।
अन्तरिम आदेश विरुद्ध फिल्मका अर्का निर्माता एसजी फिल्म्सका राजु श्रेष्ठ र सुदर्शन बस्नेत उच्च गएका थिए। उनीहरूको तर्फबाट भीमार्जुन आचार्य र तारा श्रेष्ठले बहस गरेका थिए।
बुधबार परेको रिटमा बिहीबार बहस हुँदा न्यायाधीशद्वयले राजेन्द्र खरेल र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले आदेश रद्द गर्न अस्वीकार गरे।
सोमबार सो चलचित्रका निर्मातामध्येका केशव पाण्डेको चलचित्रमा आफ्नो ९० प्रतिशत स्वामित्व रहेको तर आफूलाई जानकारी नै नदिई निर्मातामध्येका सुदर्शन थापाले फिल्म रिलिज गर्न लागेको भन्दै रिलिज रोक्न माग गर्दै रिट हालेका थिए।
बुधबार अदालतबाट अन्तरिम आदेश जारी भएपछि फिल्मको सेन्सर समेत रोकियो
बिहीबारको बहसपछि इजलासले दुवै पक्षलाई २६ गते बोलाइएकाले फिल्म रिलिजबारे सोही मितिमा सुनुवाइ हुने आदेश दियो।
चलचित्रका अर्का निर्माता सुवास थापा भने फरार छन्। उनले पहिला पाण्डेलाई निर्माता बनाउने भन्दै सहमति गरेर ६२ लाख ५० हजार लिएका थिए। पछि उनले बस्नेतलाई नयाँ निर्देशक बनाएर पाण्डेसँग छलफलै नगरी एकतर्फी रूपमा फिल्मको सुटिङ सक्काए।
पाण्डे बैङ्किङ कसुरमा प्रहरीमा गए। थापाविरुद्ध पक्राउ आदेश जारी भएपछि उनी फरार छन्। एक निर्माता फरार भएको अवस्था पनि चलचित्र विकास बोर्डले सेन्सर पास गराउन सिफारिस गरेपछि विवाद भएको थियो।
चलचित्र प्राविधिक सङ्घ, फिल्म सुटिङ भएको कास्कीको ल्वाङगाउँका स्थानीय र पाण्डेले बोर्डमा जानकारी गराएका थिए। पाण्डेको ६० लाख ५० हजार, ल्वाङगाउँवासीको करिब १७ लाख अनि प्राविधिक ११ लाख ६० हजार थापाले दिएका छैनन्।
मैले फरारको वकालत गरेको छैन : केसी
प्राविधिकको बक्यौता बाँकी रहँदै फिल्मको सेन्सरको अनुमति नदिने सहमति विपरीत प्रसाद-२ को सेन्सरको अनुमति दिएको भन्दै प्राविधिक सङ्घले बोर्ड अध्यक्ष भुवन केसीले उल्टो पिडकको पक्षमा काम गरेको आरोप लगाएको थियो।
सङ्घका अध्यक्ष पुष्कर लामाले उकेरासँग प्राविधिक सङ्घको लिखित अनुमति नभइ बोर्डले सेन्सरका लागि अनुमति नदिने समझदारी केसीले तोडेको आरोप लगाएका थिए।
मङ्गलबारको छलफलमा केसीले फिल्म रिलिजपछि पैसा आउने भन्दै उल्टै थापाको पक्षमा वकालत गरेको पीडितले आरोप लगाएका थिए। यसबारे उकेरा समाचार प्रकाशित भएपछि केसीले लिखित प्रतिक्रिया पठाउँदै ठगीमा फरार थापाको पक्षमा वकालत नगरेको दाबी गरेका छन्।
पत्रमा उनले फिल्म सेन्सरका लागि आवश्यक कागजपत्र पुगेको फिल्मको सेन्सर रोक्ने अधिकार बोर्डसँग नरहेको दाबी गर्दै बोर्ड सधैं चलचित्र क्षेत्रको अभिभावक र चलचित्रकर्मीको हितमा काम गर्ने दाबी गरेका छन्।
चैत २३, २०७९ बिहीबार २०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।