फिल्म बहावबाट ‘चुम्बन दृश्य’ नहटेपछि निर्देशकले भने ‘सेन्सर बोर्डमा फिल्म बुझ्ने मान्छे पुगेछन्, खुसी छु’
काठमाडौं : चलचित्र ‘बहाव’का निर्देशक प्रमोद कँडेलले चलचित्र विकास बोर्डअन्तर्गतको सेन्सर बोर्डमा फिल्म बुझ्ने व्यक्ती पुगेको भन्दै खुसी व्यक्त गरेका छन्।
चलचित्रमा राखिएको १८ सेकेन्ड लामो चुम्बनको दृश्य नहटेपछि उनले यो खुसी व्यक्त गरेका हुन्। यद्यपि यो दृश्यको बारेमा निर्माता श्रीधर पौडेल र निर्देशक कँडेलसँग बोर्डमा सोधपुछ भने भएको थियो।
‘सेन्सर हुँदा बोर्डका पदाधिकारीले यसबारे अब्जेक्सन गर्नुभएको थियो। तर उक्त दृश्य किन फिल्मको लागि महत्वपूर्ण छ भन्ने बताएपछि उहाँहरू कन्भिन्स हुनुभयो र युनिभर्सल सर्टिफिकेट दिनुभयो,’ निर्देशक कँडेलले भने, ‘सेन्सर बोर्डमा फिल्म बुझ्ने मान्छे पुगेछन्। खुसी छु।’
बुधबार चलचित्रको प्रिमियर गरिएको थियो। फिल्मको सुरुवातमै अभिनेत्री सुरक्षा पन्त र कलाकार पवन श्रेष्ठको चुम्बनको दृश्य आएपछि हलमा चर्कोगरी हुटिङ भएको थियो।
प्रिमियरमा सहभागीहरुले सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित भएका थिए।
चलचित्रमा सुरक्षा र पवनसँगै कमलमणी नेपाल, अफ्रान अली, सूर्य शर्मा भट्ट लगायत कलाकारहरूको अभिनय छ। फिल्म शुक्रबार एकल रिलिज हुँदेैछ। प्रसाद-२ पनि रिलिजको सूचीमा थियो। तर लगानी विवादले रिलिज रोकिएपछि बहाव २०७९ मा रिलिज हुने अन्तिम चलचित्र हुने भयो।
चैत २३, २०७९ बिहीबार १९:२४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।