‘सरकारी सेवामा लाग्ने समय एक तिहाइले घटाउँछाैं’
काठमाडौं : सत्ता गठबन्धनले सरकारी सेवामा टाइम कार्ड तथा टोकन प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएको छ।
बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटरहित बनाउन तथा जनतालाई लाइनको सास्तीबाट मुक्त गराउनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सरकारी अस्पताल, यात्रुवाहक सवारी साधन, ठेकापट्टा लगायतका सेवामा अनलाइन प्रणाली, टाइम कार्ड तथा टोकन प्रणाली लागू गर्ने घोषणा गरेकी हुन्।
उनले ई–बिडिङलाई थप प्रभावकारी बनाउने र सरकारले प्रदान गर्ने सेवामा लाग्ने समय एकतिहाइले घटाउने गरी प्रशासनिक सुधार गर्नेसमेत बताएकी छन्।
यस्तै सत्ता गठबन्धन भ्रष्टाचार निवारणको सम्बन्धमा सतही देखिएको छ। उसले आफ्नो न्यूनतम साझा कार्यक्रममा सार्वजनिक सेवाको क्षेत्रमा विद्यमान भ्रष्टाचार निर्मूल गर्नका लागि सरकारले तदारुकताका साथ कदम चाल्ने भनेको छ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रभावकारी बनाउन स्रोतसाधन तथा आवश्यक जनशक्ति उपलब्ध गराउने उल्लेख गरेको गठबन्धनले राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई परिणाममुखी र प्रभावकारी बनाउने भनेर भेग वाक्य प्रयोग गरेको छ।
छिटोछरितो कार्य सम्पादनका लागि न्यायपालिका र संवैधानिक अङ्गहरूको संस्थागत सुधार गर्ने प्रतिबद्धता पनि सत्ता गठबन्धनका दलहरूको छ।
त्यसैगरी, न्यूनतम साझा कार्यक्रममा सार्वजनिक कामहरूमा सेवाग्राहीहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र दुबै बुझाउनुपर्ने दोहरोपनालाई मापदण्ड बनाइ हटाउने बुँदा उल्ल्ेख गरिएको छ।
एउटै काममा धेरै कागजातहरू बुझाउनुपर्ने झञ्झट हटाउन राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण समावेश गरी पालिकाहरूबाट वितरण गर्ने व्यवस्था गर्ने भनेर पुरानै विषयलाई कार्यक्रममा समेटिएको छ।
चैत २३, २०७९ बिहीबार १८:३३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।