‘डम्पिङ साइट’ जस्तो देखिन्छ कान्ति बाल अस्पताल, साढे ४ सय बिग्रिएका उपकरणको विवरण संकलन

‘डम्पिङ साइट’ जस्तो देखिन्छ कान्ति बाल अस्पताल, साढे ४ सय बिग्रिएका उपकरणको विवरण संकलन
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : कान्ति बाल अस्पताल वरिपरि घुम्दा लाग्छ यो अस्पताल भन्दा पनि ‘डम्पिङ साइट’ हो। जताततै छरिएर राखिएका बिग्रिएका मेसिन, औजार तथा उपकरण लगायतका सामग्रीले अस्पताल हाता पुरै भरिएको छ।

कान्ति बाल अस्पताल भवनको बीचमा केही खाली ठाउँ छ। तर चारैतिर भवनले घेरिएको सो खाली भागलाई अहिले बिग्रिएका सामानको डंगुरले कुरूप बनाइदिएको छ। अस्पतालका मेसिन, औजार, उपकरणदेखि कुर्सी, टेबल, दराज लगायतका बिग्रिएका सामग्रीको थुप्रोले त्यो खालि ठाउँ भरिएर अस्पतालको दोस्रो तलासम्म पुगिसकेको छ। बिग्रिएका सामग्री बेहाल अवस्थामा छन्।

बिग्रिएका सामग्री अस्पतालको भवनको बीचमा मात्रै थुपारिएका छैनन्। अस्पतालका वार्ड र प्यासेजहरुमा समेत यत्रतत्र छरिएका छन्। अस्पतालको आकस्मिक कक्ष छेउको ठूलो भवनको भुइँतलाका कोठा एक्स-रे लगायत बिग्रिएका मेसिन, औजार तथा उपकरणले पूरै भरिएको छ। भवनको छतसम्म पुग्दा बेड, कुर्सी, टेबल, पंखालगायत मेसिन, औजार, उपकरण तथा सामग्री मात्र थुपारेको देखिन्छ।

पुरै अस्पताल घुम्ने हो भने वार्डका कुनाकुनामा बिग्रिएका सामग्री जताततै थुपारिएको देख्न सकिन्छ। अस्पतालको पछाडिको भागको खाली जग्गामा पनि बिग्रिएर थुपारिएको सामग्रीको डंगुर मात्र भेटिन्छ। अस्पतालमा राख्ने ठाउँको अभाव भएपछि यसरी बेहाल अवस्थामा बिग्रिएका सामग्री जताततै थुपारिएको हो।

वषौंदेखि थुपारिएका धेरै सामग्री त कबाड बनिसकेका छन्। अस्पतालको गेटै छेउमा रहेको पार्किङमा पनि दुई वटा एम्बुलेन्स बिग्रिएर लामो समयदेखि थन्किएका छन्।

अस्पतालका निर्देशक डा. युबानिधी बसौलासँगका अनुसार अस्पतालमा बिग्रिएका त्यस्ता सामग्री थुप्रिएको १९ वर्ष भइसक्यो। २०६०/०६२ तिर अस्पतालमा भएका जिन्सी सामग्रीको निरीक्षण गरी विवरण संकलन गरिएको थियो। त्यो बेला अस्पतालले विवरण संकलनपछि काम नलाग्ने सामग्रीको लिलाम बिक्री गरेको थियो। 

त्यसयता २०७६ मा पनि अस्पतालमा भएका जिन्सी सामग्रीको बारेमा विवरण संकलन भएको रहेछ। तर, कोरोना भाइरस संक्रमणका कारण विवरण संकलन भएपनि अस्पतालमा काम नलाग्ने सामग्रीको लिलाम बिक्री प्रक्रिया रोकिएछ। जसले गर्दा बिग्रिएका सामग्री लिलाम बिक्री भएन। त्यसैले अस्पतालले बिग्रिएका सामान जता खालि ठाउँ भेट्यो उतै थुपार्दै आयो।

अस्पतालमा बिग्रिएका त्यस्ता सामग्री राख्ने ठाउँ अभावका कारण भवनको बीचमा र प्यासेजहरुमा थुपार्नु पर्ने वाध्यता रहेको निर्देशक डा. बसौलाले सुनाए। जथाभाबी सामग्री थुपार्न समस्या भएपछि अस्पतालमा रहेका सामग्रीको अवस्था थाहा पाउन गत माघबाट यसको विवरण संकलनको काम सुरु भयो।

निवर्तमान स्वास्थ्य मन्त्री पदम गिरिले समेत मन्त्रीको पदभार ग्रहण गरेकै दिन कान्ति बाल अस्पताल पुगेर अस्पतालमा रहेका त्यस्ता सामग्रीको व्यवस्थापन गर्न र अस्पतालको सरसफाई गर्न निर्देशन दिएका थिए। 

बसौलाले अस्पतालमा भएका मेसिन, उपकरण, औजार लगायत जिन्सी सामग्रीको अवस्थाको विवरण केही दिनअघि संकलन गरिसकेको जानकारी दिए। ‘कान्ति बाल अस्पताल अन्तर्गत रहेका विभिन्न शाखा, वार्डहरुमा रहेका खर्च नहुने सामानको विवरण संकलन गरिसकेका छौं,’ उनले भने। 

सामान्यतया एक वर्षभन्दा बढी टिक्ने सामग्री खर्च नहुने सामग्रीमा पर्छन्। सानो सियोदेखि ठूला मेसिन, औजार, उपकरण लगायतका सामग्री जिन्सीमा पर्छन्। अस्पतालले कुन शाखा तथा वार्डमा कुन-कुन सामग्री चालु अवस्थामा रहेका छन् र छैनन् भन्ने विवरण संकलन गरिसकेको छ।

बसौलाका अनुसार अब अस्पताललाई काम लाग्ने तथा बन्ने सामग्री बनाएर चलाउन सकिने र काम नलाग्ने सामग्री लिलाम बिक्री गरिनेछ। यसअघि अस्पतालले यस्ता जिन्सी सामग्री कागजी जिन्सी खातामा राख्ने गरेको थियो। अस्पतालका अनुसार यस पाली पहिलो पटक त्यस्ता सामग्रीको विवरण कम्प्युटरमा राख्न सुरु गरिएको छ। ‘बल्ल विवरण कम्प्युटरमा राखिएको छ,’ डा. बसौलाले भने, ‘जसलाई डिजिटलाइज गर्न अब सफ्टवेर हालिन्छ।’

यसरी मेसिन, उपकरण, औजार लगायत जिन्सी सामग्रीको विवरण संकलन गर्नाले आगामी दिनमा यस्ता सामग्री किन्ने वा नकिन्ने भन्ने निर्णय गर्न समेत सहज हुने डा. बसौलाले बताए। 

साढे चार सय बिग्रिएका सामग्री

कान्ति बाल अस्पतालमा विभिन्न किसिमका चार सय ६६ भन्दा बढी संख्यामा बिग्रिएका मेसिन, औजार, उपकरणलगायत प्रयोगहिन भएको सामग्री रहेको संकलित विवरणमा देखिएको छ। 

विवरण अनुसार रेडियोलोजी शाखाको एडोनिक्सको एउटा ‘एक्स-रे मेसिन ५०० एमए’, मेडिट्रोनिक्सको एउटा ‘ह्याण्ड भी एक्स-रे मेसिन’, सिमाजुको एउटा ‘एक्स-रे मेसिन फ्लोरो’, सिमेन्सको एउटा ‘एक्स-रे  मेसिन ५०० एमए,’ हेइडिक्सको एउटा ‘एक्स-रे मेसिन ५०० एमए’, हेडिगुइप्स्को एउटा ‘पोर्टेबल एक्स-रे मेसिन १०० एमए’, एलेन्जरर्सको एउटा ‘मोवाइल एक्स-रे १०० एमए’, दुई वटा ‘युएसजी,’ र प्रिन्टर जस्ता मेसिन तथा उपकरण बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका छन्।

 

त्यसैगरी एसआइसियु तथा एचडियु शाखामा प्रयोग हुने तीन वटा बेडसाइड मनिटर,  दुई वटा सिरिन्ज पम्प, एउटा कोलर र एउटा पोर्टेबल लाईट प्रयोगविहिन अवस्थामा छन्। आकस्मिक (इमर्जेन्सि) वार्डमा प्रयोग हुने पाँच वटा (पेशेन्ट) मनिटर, एउटा बेसिनेट सहितको वार्मर, पाँच वटा पोर्टेबल वार्मर, एउटा इन्कुबेटर, १४ वटा इन्फ्युजन पम्प र नौ वटा सिरिन्ज पम्प बिग्रएका छन्।

आकस्मिक वार्डमा नै एउटा सक्शन मेसिन, दुई नेबुलाईजर मेसिन र एउटा डिफेब्रिलाटोर प्रयोगविहीन अवस्थामा छन्। 
त्यसैगरी एनआइसियुमा प्रयोग हुने एउटा वार्मर, सिपीएपी मेसिन तीन वटा, चार वटा मनिटर प्रयोगमा छैनन्।


 

पिआइसियुमा प्रयोग हुने नौ वटा मनिटर, दुई वटा भेन्टिलेटर, ६ वटा इन्फ्युजन पम्प, तीन वटा सिरिन्ज पम्प, दुई वटा वार्मर, एउटा युएसजी मेसिन, एउटा सिपिएपी मेसिन, दुई वटा ह्युमिडिफायर, चार वटा ठूला बेड, एउटा वार्मर बेड, ट्रली जस्ता मेसिन, उपकरण जस्ता सामग्री बिग्रिएर प्रयोग हुने अवस्थामा छैनन्।

त्यसैगरी अप्रेशन थिएटर (ओटी) मा प्रयोग हुने दुई वटा ओटी टेबल, चारवटा मनिटर, तीन वटा इन्फ्युजन पम्प, एउटा अल्टा साउण्ड मेसिन, एउटा ओटी लाइट, एउटा फोकश, तीन वटा इलेक्टोनिक डोरम्याटोम, एउटा सि-आर्म मेसिन र ६ वटा लेरिङगोस्कोप, दुई वटा ब्रोङ्कोस्कोप र एउटा रेक्टो बिग्रिएर प्रयोगहिन अवस्थामा छन्।

स्पेल ओपिडिमा प्रयोग हुने एक्स-रे भिउ बक्स, ६ वटा हेलोजिन हिटर, एउटा सक्शन मेसिन बिग्रिएका छन्। 
एनआइएमसियु (न्यूरो इन्टरमेडियट केयर युनिट) मा प्रयोग हुने मात्रै आठ वटा मनिटर बिग्रिएका छन्। त्यसैगरी दुई वटा हेलोजिन हिटर, तीन वटा सिरिन्ज पम्प, दुई इन्फ्युजन पम्प, दुई वटा पोर्टेबल लाइट प्रयोगहिन अवस्थामा छन्। 

त्यसैगरी एउटा रगत संकलन गर्ने मनिटर (ब्लड कलेक्शन मनिटर) बिग्रिएको छ। सामाजिक सेवा शाखामा रहेका एउटा सामसुङको प्रिन्टर, चार वटा युपिएस, र माइक्रोबायोलोजी ल्याबमा प्रयोग हुने अटोक्लेभ प्रयोगबिहिन अवस्थामा छन्।त्यसैगरी लाईब्रेरी शाखामा दुई सेट कम्प्युटर र तीन वटा सिपीयू पनि बिग्रिएर प्रयोग भएका छैनन्। दुई वटा एम्बुलेन्स र एउटा मोटरसाइकल समेत बिग्रिएर प्रयोगबिहिन अवस्थामा छन्।  

चैत २३, २०७९ बिहीबार १०:०५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।