लुम्बिनीमा चढाइएका विदेशी मुद्रा सिंगापुर पठाएर साटिने
बुटवल : लुम्बिनीमा दानबापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
राष्ट्र बैंकको परिवत्र्य सूचीमा नपरेका देशका मुद्रा सटहीका लागि एजेन्सी बैंक सीआईएमबी बैंक सिंगापुर पठाउने गरि दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानबापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन। दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखि सटही नभएका दानबापतको मुद्रा सटही प्रक्रियामा गएको छ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले १ सय १ देशबाट आएका विदेशी पर्यटकले मायादेवी मन्दिरमा दानबापत आफ्नो देशको मुद्रा चढाएको र त्यसमध्ये राष्ट्र बैंकको परिवत्र्य सूचीमा नभएका २० वटा देशको मुद्रा सटही गर्ने गरि सम्झौता हुनु ठूलो उपलब्धि भएको बताए।
पहिलो चरणमा एक हप्ताभित्र श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेसिया, ओमन, रुस लगायतका २० देशका करिब ७४ लाख नेपाली रुपैयाँ सटही हुने कोषले जनाएको छ।
परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या देखिएको र अब सटहीका लागि औपचारिक रुपमा सम्झौता भएर प्रक्रिया अघि बढाइएको राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए।
कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुर स्थित ऐजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने उनले जानकारी दिए।
राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका, रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नसाटिएमा कोष नै जिम्मेवार हुनुपर्ने सम्झौतापत्रमा लेखिएको छ। अमेरिकी डलरमा सटही प्रदान गर्ने भएतापनि अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ कोषलाई भुक्तानी गरिने सम्झौतामा उल्लेख छ।
चैत २३, २०७९ बिहीबार ०८:४९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।