बलात्कारपछि भेरीमा फालिएकी १६ वर्षीया छिञ्चु-२३ को बयान- १८ गते साँझ के भयो ?

बलात्कारपछि भेरीमा फालिएकी १६ वर्षीया छिञ्चु-२३ को बयान- १८ गते साँझ के भयो ?

सुर्खेत : जिल्लाको भेरीगंगा नगरपालिकाकी-१६ वर्षीय छिञ्चु–२३ (परिवर्तित नाम) यही चैत १७ गते वीरेन्द्रनगरस्थित मिल्ने साथीको घर आइन्। 

त्यो रात बास बसेर भोलिपल्ट १८ गते घरतिर लागिन्। अपरान्ह ५ बजे जहरे बजार पुगिन्। घर जानको लागि अटोको खोजीमा थिइन्। चिनेकै एकजना अटोचालक भेटिए। आफूलाई पुर्याइदिने बताएपछि उनी अटोमा बसिन्।

अटो चालकसँग अर्का एक व्यक्ति पनि थिए। उनलाई भने छिञ्चु–२३ ले चिनेकी थिइनन्। केही वर्षदेखि अटो चलाउँदै आएका चालकले उनलाई चकलेट खान दिए। नखाने भन्दा पनि कर लगाएपछि उनले नकार्न सकिनन् र खाइन्।

‘म वीरेन्द्रनगरबाट जहरे बजार पुगेर घर जान अटो खोज्दै थेँ, चिनेकै अटोवाला विवश घर्तीमगर भेटेँ,’ पीडित किशोरीले उकेरासँग भनिन्, ‘मलाई घरसम्म पुर्याइदिन्छु भनेर अटोमा बसालेर चक्लेट खुवाई अर्धबेहोस बनाए।’

चकलेट खाएपछि छिञ्चु–२३ को बिस्तारै होस हराउँदै गयो। उनको घर बजारदेखि तीन किलोमिटर टाढा थियो। तर, विवशले डेढ किलोमिटरसम्म गएपछि बजारबाट अटो भेरी नदीको किनारतिर मोडियो।

नदी किनार पुगेपछि अटो चालक र उनको साथी भएर मुख खोलेर झोलजस्तो औषधि खुवाए। त्यसपछि उनको अलि–अलि भएको होस पनि गुम्यो। र केही थाहा पाइनन्।

होस गुमेपछि बलात्कार गरेर आधा शरीर पानीमा र आधार शरीर किनारमा हुने गरी फालिएछ। करिब आधा घण्टापछि पछि छिञ्चु–२३ लाई होस आयो। 

ज्यानमा असह्य पीडा भइहेको थियो। आफ्नो अवस्था हेरेर आफैँ अत्तालिइन्। पानीमा भिजेको ज्याकेटको गोजीबाट मोबाइल झिकिन् र आमालाई फोन गरेर बोलाइन्।

‘भेरी नदीमा लगेपछि दुवै जनाले घाँटी समातेर झोलजस्तो औषधि खुवाए त्यसपछि मैले केही थाहा पाइन,’ उनले अगाडि भनिन्, ‘होस आउँदा आधा शरीर पानीमा र आधा किनारमा थियो। माथिका मात्रै कपडा थिए, पछि मम्मीलाई फोन गरेर बोलाएँ।’

आमा, परिवार र आफन्त आए। त्यो अवस्था देखेर रोइकराइ गरे। नदी किनारमै आगो बालेर कठ्याङ्ग्रिएकी उनलाई आमाले सेकिन्। तर, अवस्था ठिक भएन। त्यसपछि सिधै प्रदेश अस्पताल सुर्खेत लगियो।

चार दिनसम्म मानसिक रोग वार्डमा उपचाररत उनी मंगलबार मात्रै डिस्चार्ज भइन्। अस्पताल ल्याएको दिनभन्दा धेरै सुधार भएकाले डिस्चार्ज गरिएको मनोरोग विषशेज्ञ डा. सुशील समदर्सीले बताए।

‘पहिलो दिन त एकदमै समस्या थियो, निरन्तरको उपचारपछि ठिक भएको छ। यस्ता अघातजन्य घटनामा मान्छे बेहोस हुने, चिच्याउने, ननिदाउने, शरीर झम्झमाउने र मान्छे देख्दा डराउने हुन्छन्,’ डाक्टर समदर्शीले भने, ‘उनीहरूलाई त्यस्ता कुरा सम्झाउने, घटनास्थल या स्थानमा लानुहुँदैन।’

अर्को जन्म पाएर बाँच्न सफल भए पनि भोलिका दिनमा गाउँ समाज र अन्य अनैतिक मानिसहरूको डरले अझै मन झस्काउने भन्दै छिञ्चु–२३ ले आफ्ना पीडा पोखिन्।

‘कालको मुखबाट बाँचे तर भोलिको दिनको डर छ। बस्ने समाज यहि हो, मानिसहरू यीनै हुन्।’

पक्राउ परेका घर्तीले आफूलाई दिदिको घर गएका बेला पनि पछि लागेर जबरजस्ती करणी गर्न खोजेको उनी बताउँछिन्। पीडित कक्षा आठको परीक्षा दिएर बसेकी हुन्।

दोषीलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले मंगलबार ईलाका प्रहरी कार्यालय, छिन्चुमा जाहेरी दिएका थिए।

जाहेरीका आधारमा सोही घटनाका आरोपी अटोचालक गुर्भाकोट–८ मेहेलकुनाका २५ वर्षीय विवश घर्तीमगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी तथा निरीक्षक रमेश राईले जानकारी दिए।

‘पीडित पक्षका् जाहेरीका आधारमा एक जनालाई पक्राउ गरेका छौं, घटनामा संलग्न अर्का एक जनाको पहिचानपछि खोजी गर्छौँ,’ प्रमुख राईले भने, ‘आवश्यक अनुसन्धान गरी पीडकलाई कानून अनुसार कारबाहीका लागि अदालतमा पठाइनेछ।’

चैत २१, २०७९ मंगलबार २२:५१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।