अरूलाई हँसाउने कलाकार कमलमणि अनि रोए...
काठमाडौँ : के त भन्दा होत्तनी भनेर चर्चामा आएका अभिनेता कमलमणि मङ्गलबार एक कार्यक्रममा भावुक भए। प्रसङ्ग थियो रिलिजको सँघारमा रहेको फिल्म बहावको सुटिङको अनुभव।
फिल्ममा उनले अभिनेत्री सुरक्षा पन्तले बाबुको भूमिका निभाएका छन्। आफ्नो पनि एक जना छोरी रहेको भन्दै उनले कार्यक्रममा फिल्मको एक दृश्यमा अभिनय गर्दा रोएको बताए।
त्यो दृष्य छोरीलाई माया पनि गर्ने अनि घृणा पनि गर्ने चरणको रहेछ। संवाद बोल्दै जाँदा उनले पन्तमा आफ्नै छोरी देखे। अनि मन थाम्न सकेनन् रे।
‘फिल्मको स्क्रिप्ट पढ्दा सामान्य नै लाग्यो। तर गहिरिएर जाँदा भने सुरक्षाको मनोभाव बुझेँ। सन्ध्याको भूमिकामा रहेकी सुरक्षा र मबिच संवाद हुँदा आफूलाई थाम्न सकिँन। ‘मेरो घरमा छोरी पनि छिन्।अनि म रोए’, उनले भने।
फिल्म बहाव प्रमोद कँडेलले निर्देशन गरेका हुन्। उनले आफूले नजिकबाट अनुभव गरेको कथामा फिल्म बनाएको बताएका थिए। फिल्मको एक पात्र मार्फत आफ्नो भोगाई समेत व्यक्त गरेको उनले बताए।
अभिनेत्री पन्त ‘बहाव’ लाई वैचारिक मनोरञ्जनात्मक फिल्म भन्छिन्। बाबु छोरीको सम्बन्धको कथामा विचारको पनि प्रतिनिधित्व रहेको उनको भनाई छ।
‘हाम्रो घरमा धेरै सन्तान छोरी नै छन्। फिल्म राखिएका केही दृश्य र कथा मसँग पनि मेल खान्छ’ उनले भनिन्।
निर्माता श्रीधर पौडेलले आफूलाई फिल्म रिलिजमा कुनै समस्या नभएको र आत्तिनुपर्ने अवस्था पनि नभएको बताए। फिल्म व्यावसायिक रूपमा के हुन्छ भन्न नसके पनि दर्शकले मन पराउने उनको दाबी छ।
बहाव आगामी शुक्रवार रिलिज हुँदैछ। यस अगाडि प्रसाद-२ सँगै रिलिज हुँदै थियो। तर प्रसाद २ का निर्माता सुवास थापा ठगीमा फरार भएको र उच्च अदालतबाट आदेश आएपछि प्रसाद-२ को रिलिज रोकिएको छ।
चैत २१, २०७९ मंगलबार १८:१९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।