फिल्म प्रसाद २ रिलिज रोक्न उच्च अदालतको अन्तरिम आदेश , जबर्जस्ती फिल्म चलाए प्राविधिकले ताल्चा लगाउने

फिल्म प्रसाद २ रिलिज रोक्न उच्च अदालतको अन्तरिम आदेश , जबर्जस्ती फिल्म चलाए प्राविधिकले ताल्चा लगाउने

काठमाडौँ : फिल्म प्रसाद-२ का निर्माता सुवास थापाबाट ठगिएका पिडितपक्षको माग सुनुवाइ नगरी फिल्म रिलिज गर्ने चलचित्र विकास बोर्डको प्रयासमा उच्च अदालत पाटनले रोक्न आदेश दिएको छ।

केशव पाण्डेले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले फिल्म प्रसाद २ को रिलिज रोक्न बोर्ड लगायतका विपक्षीको नाममा अन्तरिम आदेशसँगै कारण देखाऊ आदेश समेत जारी गरेको छ।

दुुबेै पक्षलाई चैत २६ गते अदालतले बोलाएको छ। फिल्म २४ गते रिलिजको तयारी थियो।

विकास बोर्ड, सेन्सर बोर्ड लगायतकाले पेलेर फिल्म रिलिज गर्न लागेको भन्दै पाण्डेले सोमबार उच्चमा रिट दायर गरेका थिए।

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म प्रसाद-२ मा १० प्रतिशत स्वामित्व रहेकाले विना अनुमति रिलिज गर्न लागेको भन्दै रिट हालेका थिए।

पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए।

अधिवक्ता अधिकारीका अनुसार अदालतले तत्काल फिल्म रिलिज नगर्न आदेश दिएको हो।  प्रसाद २ का निर्माता सुवास थापाले फिल्ममा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा पनि फिर्ता नदिएको र स्वामित्व पनि नदिएको पाण्डे पक्षको दाबी छ।

पाण्डेको ६२ लाख ५० हजार सहित फिल्मका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङ गाउँका स्थानीयको १७ लाख लगायतको पैसा नदिए पनि बोर्डका अध्यक्ष भुवन केसीले ठगीमा फरार थापाको पक्ष लागेर फिल्म सेन्सर गर्दै चैत २४ मा पेलेरै रिलिजको तयारी गरेका थिए।

थापा बैङ्किङ कसुरमा पक्राउ आदेश जारी भएदेखि फरार छन्।  उनको पक्षबाट वितरक गोपाल कायस्थले फिल्म रिलिज गराउन लबिङ गरेका थिए।

बोर्डले मङ्गलवार चलचित्र प्राविधिक सङ्घसँग समेत सल्लाह नगरी फिल्म सेन्सर गराउन पत्र पठाएको थियो। सङ्घका अध्यक्ष पुष्कर लामा फिल्ममा काम गरेका प्राविधिकको लिखितै ११ लाख ६० हजार लिन बाँकी हुँदाहुँदै बोर्डले एकपक्षीय रूपमा सेन्सरको अनुमति दिएको भन्दै आपत्ति जनाए।

'निर्माताहरूले प्राविधिकको पैसा नदिने समस्या बढेपछि सङ्घले अनुमति दिएपछि मात्र फिल्म सेन्सर गराउन अनुमति दिने समझदारी तोडियो' उनले भने' जबर्जस्ती गरियो भने हामी ताल्चा लगाउन पनि पछि पर्दैनौ।'

चैत २१, २०७९ मंगलबार १६:१८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।