ट्रम्प आज अदालतमा उपस्थित हुँदै, सुरक्षा व्यवस्था कडा

ट्रम्प आज अदालतमा उपस्थित हुँदै, सुरक्षा व्यवस्था कडा

एजेन्सी : फौजदारी अभियोग लागेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै छन्।

यस विषयमा प्रदर्शन हुन सक्ने देखेर न्यूयोर्कमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको थियो। अमेरिकाको इतिहासमा पूर्व राष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो।

सन् २०१६ को राष्ट्रपतिको निर्वाचनअघि ट्रम्पले अश्लील चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ।

ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गरेकी छन्।

पूर्व राष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन्। उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन्।

आज न्युयोर्कको अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपील गर्ने सम्भावना छ। उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ।

चैत २१, २०७९ मंगलबार ०९:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।