रविको क्षेत्रमा विश्वप्रकाशको शालीन सम्बोधन, तनहुँमा आफ्नै साथी वाग्ले विरुद्ध उग्र गगन

रविको क्षेत्रमा विश्वप्रकाशको शालीन सम्बोधन, तनहुँमा आफ्नै साथी वाग्ले विरुद्ध उग्र गगन

काठमाडौँ : उप निर्वाचनका दुई उम्मेदवार जिताउने जिम्मेवारीबाट पाएका नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा अनि गगन थापा चितवन-२ र तनहुँ-१ गए। दुवै स्थानमा प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देखिएका छन्।

गगन आफ्ना निकट अर्थशास्त्री स्वर्णिम वाग्लेको प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा माहौल बनाउन गएका थिए। उता चितवनमा शर्मा रवि लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएका जीतनारायण श्रेष्ठको पक्षमा माहौल बनाउन गएका थिए।

दुवै क्षेत्रमा एमालेबाट समेत उम्मेदवारी परेको छ। तर दुवै महामन्त्री रास्वपामै बढी केन्द्रित देखिए। गगन आफ्नै मित्र वाग्लेविरुद्ध आक्रामक सुनिए। उता विश्वप्रकाश शान्त।

गगनले रास्वपाको नीति, काँग्रेस दाइ-भाउजूको सिन्डिकेटमा चलेको आरोपको खण्डनसँगै वाग्लेको विद्वतामा केन्द्रित भएर चर्को आलोचना गरे। विश्वप्रकाशले चितवनमा शालीन सम्बोधन गरे।

आफू लोकतन्त्रका लागि सडकमा सङ्घर्ष गरिरहँदा विदेशमा जागिर खाएर, घर बनाएर पेन्सन पकाएर फर्किएकाहरूले प्रश्न गरेको भन्दै आलोचना गरे।

व्यक्ति केन्द्रित राजनीतिभन्दा सामूहिक अजेण्डमा केन्द्रित हुन नसकेको भन्दै काँग्रेस छाडेर गएका वाग्लेको आलोचना गर्दै उनले' संसदीय दलको नेता उठ्दै गर्दा यो पाँच वर्ष मन्त्री बन्न नसक्ने जान्दा जान्दै विश्वप्रकाश र प्रदीप पौडेलले आफूलाई साथ दिएको भन्दै वाग्ले सांसदको टिकट नपाएर पार्टी छाडेर गएको भन्दै आलोचना गरेका थिए।

रास्वपाको नीति जता सत्ता त्यतै लाग्ने अनि कुनै राजनीतिक निर्णयको पनि कारण नखुलाउने भन्दै उनले एमाले-माओवादी केन्द्रको गठबन्धनमा किन गएको?, सरकार किन छाडेको अनि अर्को गठबन्धनको राष्ट्रपतिका उम्मेदवारलाई किन मत दिएको भन्दै प्रश्न सोधे।

उनको सम्बोधन मात्र चर्को हैन, हाउँभाउँ पनि चर्कै थियो। काँग्रेस छाड्दै गर्दा वाग्लेले दाइ-भाउजू-भाइ अनि भतिजको सिन्डिकेट भनेर लगाएको आरोपलाई रास्वपाका सभापति रवि लामिछानेको सत्ता चरित्रसँग जोड्ने उनले भने' गृह मन्त्रालय नपाए त्यही दाइ-भाउजू खराब, रोजेको मन्त्रालय पाए राम्रा?'

उता रास्वपाका सभापतिकै प्रतिस्पर्धी पार्टी उम्मेदवारलाई समर्थन गर्न चितवन पुगेका अर्का महामन्त्री विश्वप्रकाशको सम्बोधन भने शालीन थियो।

उनले उपनिर्वाचनमा नतिजा फरक आउने भन्दै रविलाई मत हालेका काँग्रेसका मतदातालाई पर्म तिर्न गएर फर्किसकेको संज्ञा दिए।

शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताउँदै दलहरूबीचमा द्वन्द्व नभइ सहकार्य र हार्दिकता चाहिएको बताए।

आलोचना गर्ने राजनीति नभइ बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको बताउँदै शालीन शैलीमा उनले  वैशाख १० गते चितवन–२ को परिणाम बदलिने दाबी गर्दै भने' यो पटक वैशाख १० गते परिणाम बदलिन्छ। किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्म लाएका थियौँ। हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ।’

उनले पछिल्लो समयको रविको नागरिकता, सरकारमा सहभागिता, समर्थन अनि सर्वोच्चमा चलिरहेको राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णयविरुद्धको मुद्दामा प्रवेश गरेनन्। साङ्केतिक रूपमा काँग्रेसका मतदाताको मतले जितेको तर उनीहरू फर्किसकेको बताए।

पार्टी समर्थक नेता फकाउन उस्तै शैली

स्थानीय तह अनि मङ्सिर ४ को निर्वाचन गठबन्धनले चितवन काँग्रेसलाई चिरा पार्यो। बागीहरु जन्मिए। विवाद बढ्यो। उता तनहुँमा रामचन्द्र पौडेल र गोविन्दराज जोशीको इगोको लडाइले जिल्लामा समर्थक दुई समूहमा छन्।

दुवै महामन्त्रीले दुवै ठाउँमा पार्टी भित्रको असन्तुष्टि सम्बोधनको प्रयास गरेका थिए। शर्माले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गर्दै  असन्तुष्टिलाई समाधान गर्न आन्तरिक छलफल गर्न सकिने बताएका थिए।

उनले भने, ‘घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्छु,’ उनले थपे, ‘हामीले उता पर्म लाएको हो। अब फर्कन्छौ भन्ने कार्यकर्ता पनि पाएको छु।’

उता गगनले जोशीमाथि पार्टीले गरेको कारबाही फिर्ता भएको भन्दै पार्टीको उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए। उनले युवा मतदातालाई पटक पटक सम्बोधन गर्दै समस्याको समाधान पार्टी भित्रै बसेर गर्न सकिने र काँग्रेसलाई सुधार्न सकिने भन्दै नभड्किन आग्रह गरेका थिए।

२० चैत, २०७९, ००:०३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।