फिल्म प्रसाद-२ रिलिज अनिश्चित, फरार निर्माता थापा नआएसम्म रिलिज गर्न नदिने पीडितको अडान
काठमाडौँ : प्रसाद-२ का निर्माता सुवास थापाविरुद्ध परेको ठगीका निवेदनमा सहमति जुटाउन चलचित्र विकास बोर्डमा बसेको बैठक निष्कर्षमा पुग्न सकेन।
निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा थापा फरार छन्। बैठकमा उनको प्रतिनिधि बनेर वितरक गोपाल कायस्थ छलफलमा बसेका थिए।
बोर्डका चलचित्र निर्माण अधिकृत हरिसिंह रैखोलाले छलफल नटुङ्गिएको र मङ्गलवार पुन छलफलमा बस्ने सहमति भएको उकेरासँग बताए।
कायस्थले छलफलमा फिल्म रिलिज गर्न दिने अनि पैसा तिर्ने प्रस्ताव गरेका थिए। तर थापाबाट ठगिएका केशव पाण्डे र प्रसादको निर्देशक सौरभ चौधरी सहमत भएनन्।
फिल्म सुटिङ भएको कास्कीको ल्वाङगाउँका स्थानीयले १७ लाख बढी रकम नतिरेको भन्दै पैसा उठाइदिन आग्रह गरेका थिए। सेल्फी किङको समयका निर्माता, वितरकहरू पनि थापाले ठगेको भन्दै पैसा नउठी फिल्म रिलिज गर्न नहुने बताएका थिए।
बैठकमा बोर्डका अध्यक्ष भुवन केसी समेत सहभागी थिए। केसीले छलफलमा ठगीमा फरार रहेका थापाको पक्षमा वकालत गरेका थिए। उनले फिल्म रिलिज भए पैसा उठ्न सक्ने भन्दै रिलिजको माहौल बनाउने प्रयास गरेका थिए।
फिल्म रिलिज भए पनि फिल्म चल्ने ग्यारेन्टी के हो भन्ने प्रश्न गर्दा केसी बोल्न सकेनन्। छलफलमा थापासँग पैसा माग्नेहरू सबैको जोड्दा डेढ करोड बढी देखिन्छ।
२०७८ मा रिलिज भएका फिल्ममध्ये कबड्डी ४ छक्कापन्जा ४ ले मात्रै लगानी उठाएर नाफामा गएको थियो। अन्य अधिकांश फिल्म डुबेका थियो।
चैत २४ मा प्रसाद-२ सँगै बहाव समेत रिलिज हुँदैछ। बहावको टिम फिल्म प्रमोसनमा सक्रिय हुँदा प्रसाद २ को निर्माता भने फरार छन्। फिल्मका कलाकार प्रमोसनमा खटिएका छैनन्। मुख्य कलाकार विपिन कार्की भष्मे डनको सुटिङमा व्यस्त छन्।
चैत २०, २०७९ सोमबार २०:५५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।