मनोनयनमा प्रधानमन्त्रीदेखि पालिका प्रमुखसम्म सहभागी हुन नपाइने, हेलिकप्टर प्रयोगमा रोक
काठमाडौं : बैशाख १० गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ताका लागि मन्त्रीदेखि मेयरसम्म सहभागी हुन नपाउने भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार एक प्रेस विज्ञप्ति निकालेर मनोनयन दर्ताको क्रममा पालना गर्नुुपर्ने नियममा प्रधानमन्त्री, मन्त्री र स्थानीय तहका पदाधिकारीसमेत जान नपाइने भनिएको छ।
विज्ञप्तिमा मनोनयन दर्ता गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा पच्चीस जान पाइने उल्लेख गरिएको छ।
बाजा, गाजा, झाँकी तथा ब्यानर, चिन्ह र झण्डा सहित जान नहुने भनेर सम्झाएको आयोगले उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने पनि बताएको छ।
मनोनयन दर्ता गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा, जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गाली गलौज र टिकाटिप्पणी गर्न नपाइने भनिएको छ। सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने विषय पनि आयोगले सम्झाएको छ।
मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न नहुने भन्दै स्मरण गराएको आयोगले संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने पनि उल्लेख गरिएको छ।
यस्तै, हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुनेसमेत आयेगले जनाएको छ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनमा राजनीतिक दलहरूले आफ्ना उम्मेदवार तय गरिसकेको छ। उनीहरूले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउनेछन्।
चैत २०, २०७९ सोमबार ०९:२२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।