माग्नलाई बैठक !

माग्नलाई बैठक !

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको शनिबार बसेको आकष्मिक बैठकले विश्व फुटबल महासंघ (फिफा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) विभिन्न शिर्षकले बजेट माग गर्ने निर्णय गरेको छ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले सहिद स्मारक बी डिभिजन लिग सञ्चालन झण्डै ४ करोड र सहभागी हरेक क्लबलाई १४ लाख ५० हजार रूपैयाँ तथा जिल्ला लिग सञ्चालनका लागि फिफासँग माग गर्ने निर्णय गरेको एन्फाले जनाएको छ।

एन्फाको जिल्ला कार्यालय सन्चालनका लागि २ लाख रूपैयाँ दिने, जिल्लाको फुटबल सामग्रीहरूको खरिदका लागि १ लाख रुपैयाँ दिने निर्णय एन्फाले गरेको छ।

ए, बी, सि डिभिजन लिग, महिला लिग र जिल्ला लिग लगायत प्रतियोगिता खर्चका लागि एन्फाले प्राप्त गर्ने अनुदानको विभिन्न शिर्षकबाट रकम निकासाका लागि फिफा र एएफसीलाई अनुरोध गर्ने एन्फाले अर्को निर्णय गरेको छ।

प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगिताको पुरस्कार रकम ९ हजार ५ सय अमेरिकी डलर तथा नेपाली राष्ट्रिय बफुटबल टोलीको बसोबास खर्च तथा ए, बी र सी डिभिजन लिग सञ्चालनका लागि अपुग रकम राखेपसँग माग गर्ने निर्णय पनि एन्फाले गरेको छ।

त्यस्तै एन्फाले फिफाको सहयोगमा निर्माण गर्ने पुर्वाधारको कार्यक्रम बारे सम्भावना, सहभागिता र जग्गा प्राप्तीको अवस्था वा जग्गा भाडामा प्राप्त गर्ने अवस्थालाई हेरि फुटबल मैदान निर्माणका लागि एन्फामा आवद्ध जिल्ला संघहरु र क्लबहरु लगायत सदस्य संस्थाहरूलाई आन्तरिक रुपमा पत्राचार गरि प्रस्ताव माग गर्ने अर्को निर्णय पनि एन्फाले गरेको छ।

शुक्रबार सम्पन्न थ्री नेसन्स कपमा सहभागिता जनाएकोमा समेत एन्फाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएको छ। त्यस्तै एन्फाले थ्री नेसन्स कप विजेता नेपाली टोलीका खेलाडीसहितको टोलीलाई नगद पुरस्कार दिनका लागि राखेपमार्फत सरकारसँग माग गर्ने निर्णय एन्फाले गरेको छ।

चैत १९, २०७९ आइतबार ०९:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।