अफगानिस्तानमा तीन बेलायती नागरिक नियन्त्रणमा

अफगानिस्तानमा तीन बेलायती नागरिक नियन्त्रणमा

एजेन्सी : अफगानिस्तानमा तालिवानले तीन बेलायती नागरिकलाई नियन्त्रणमा लिएको छ।

मानवअधिकारकर्मीसँग सम्बन्धित एक संस्थाले यसबारे बीबीसीलाई दिएको जानकारीअनुसार मिडल्सब्रोका ५३ वर्षीय केभिन कर्नवेल पक्राउ परेका हुन्।

प्रेसिडियम नेटवर्कका स्कट रिचर्ड्सअनुसार केभिन र अर्को अज्ञात व्यक्तिलाई तालिबानले जनवरी ११ मा पक्राउ गरेको थियो। यसै क्रममा अर्का बेलायती नागरिकलाई पनि फरक मितिमा पक्राउ गरिएको समाचारमा उल्लेख छ।

बेलायतको विदेश मन्त्रालयले यी तीन व्यक्तिलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।

प्रेसिडियम नेटवर्क युकेमा आधारित गैर–लाभकारी संस्था हो, जसले हिंसा र गरिबीको जोखिममा रहेका मानिसहरूलाई मद्दत गर्छ।

रिचर्ड्सका अनुसार तीनै जनालाई औपचारिक रूपमा अभियोग लगाइएको छैन, तर कर्नवेलको कोठाको कपाटमा हतियार भेटिएपछि दुई जनालाई पक्राउ गरिएको छ।

चैत १९, २०७९ आइतबार ०८:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।