अनुहार नढाकेपछि इरानमा दुई महिला पक्राउ, टाउको दही पोखियो

अनुहार नढाकेपछि इरानमा दुई महिला पक्राउ, टाउको दही पोखियो

एजेन्सी : इरानमा अनुहार नढाकेको भन्दै दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

घटनासँग सम्बन्धित भाइरल भिडियोमा एक पुरुष दुई महिला ग्राहकसँग कुरा गर्न आएका छन्। ती महिलाहरूले हिजाब नलगाएपछि एक पुरुषले पसलमा राखिएको दही दुवै महिलाको टाउकोमा खन्याइदिएका छन्।

इरानको न्यायपालिकाले दुई महिलालाई सार्वजनिक रूपमा अनुहार नढाकेको आरोपमा हिरासतमा लिइएको बीबीसीले जनाएको छ।

त्यसैगरी सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा दही फाल्ने व्यक्ति पनि पक्राउ परेका छन्। इरानमा हिजाबविरुद्ध महिनौंदेखि भइरहेको समयमा महिला पक्राउ परेकी हुन्।

इरानको न्यायपालिकाले यस घटनामा पसलका मालिकलाई पनि कानूनको पालना सुनिश्चित गर्न नोटिस जारी गरेको छ।

केही समयअघि इरानी महिलाको समर्थनमा लन्डनमा पनि हिजाबविरुद्ध प्रदर्शन भएको थियो।

इरानमा महिलाहरू हिजाब नलगाई बाहिर निस्कनु गैरकानूनी मानिन्छ। तर, कतिपय ठूला शहरहरूमा यो नियमको बाबजुद पनि महिलाहरू हिजाब नलगाई घुमिरहेको देख्न सकिन्छ।

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विरुद्धमा ठूलो मात्रामा प्रदर्शन भएको थियो। अमिनीलाई हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको छ।

हिजाबविरुद्धको प्रदर्शनमा हालसम्म हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् भने प्रदर्शनमै सहभागी चार जनालाई गत डिसेम्बरमा फाँसी दिइएको थियो।

चैत १९, २०७९ आइतबार ०८:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।