लिभरपुलविरूद्ध म्यानचेस्टर सिटी ४–१ ले हावी
एजेन्सी : म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध ४–१ गोलको शानदार जित दर्ता गरेको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीविरुद्ध लिभरपुलका लागि खेलको १७औं मिनेटमा मोहम्मद सलाहले अग्रता दिलाएका थिए।
तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो। सिटीका जुलियन अल्भारेजले २७औं मिनेटमा गोल फर्काए।
पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा सिटी आक्रामक देखियो। खेलको ४६औं मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनायो।
त्यसपछि खेलको ५३औं मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३–१ ले अघि बढ्यो।
७४औं मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीले फराकिलो जित दर्ता गर्यो।
जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत् छ।
चैत १९, २०७९ आइतबार ०८:०४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।