बलिउडको धङधङीबाट मुक्त नेपाली फिल्म बनाउन सम्भव छैन र!
फिल्म हेर्दा त्यसका मेरो ध्यान प्रायः सटहरूमा जान्थ्यो। पहिल्यैदेखि लागेको बानी। सटको ज्ञान थिएन। तर देशपिच्छेको फिल्म हेर्दा केही न केही फरक पाउँथे। जापानी फिल्ममा देखिने सट कोरियन सटमा किन हुन्न? अनि कोरियन सट किन रसियनमा देखिँदैन?
केही उदाहरण उल्लेख गर्छु। अधिकांश कोरियन फिल्महरूमा कुनै न कुनै पात्रलाई अप अनि कुनै पात्रलाई डाउन राखेर निर्माण गर्थे। कुसानमा बसाएर अर्को पात्र भन्दा अलि अग्लो ठाउँमा बसेको किन देखाएको होला?
जापानी फिल्ममा किन घुँडासहितको सटहरू हुन्छन्? रसियनहरूको सस्पेन्स ट्रिकी ब्याक सट, फ्रेन्च फिल्मले ट्रिगर पोइन्ट किन आँखा भन्दा तल हुन्छ? अनि हलिउड किन सिनेमा स्कोप (2.35:1 ratio) बाट एकै पटक एचडी (1.77:1 ratio) मा आयो?
चिनिया फिल्ममा सानो सर्टबाट एकासी लार्ज सर्टहरूको प्रयोग किन हुन्छ? बलिउडका फिल्महरू हेर्ने हो भने त्यसमा अधिकांश सट व्यक्ति केन्द्रित हुन्छन्। नायकलाई अति शक्तिशाली देखाउने प्रयास हुन्छ हरेक फ्रेममा। किन ?
यी सबै देख्दा मनमा प्रश्न मात्र थियो उत्तर थिएन।
पहिला फिल्म हेर्ने मात्र सोख थियो। त्यही सोख रुचि बन्यो। अनि रूचिको क्षेत्रमै व्यावसायिक रूपमा काम गर्छु भन्ने भएपछि पढ्न भारतको मुम्बई गए।
त्यहाँको मुम्बई डिजिटल फिल्म एकेडेमीमा फिल्म सम्बन्धी औपचारिक अध्ययन सुरु गरेँ। त्यहाँ पढ्दा पनि मेरो दिमागमा आफूले हेरेका फिल्मका सटहरू नै घुमिरहेका हुन्थे।
एकेडेमीमा समग्र फिल्मका विषयबारे पढाइ हुने भए पनि लेखन अनि निर्देशनमा अलि बढी फोकस गरेर अध्ययन गरेँ। दुई वर्षको कोर्स सक्कियो। तर सटहरूबारे दिमागमा उब्जिएका प्रश्नहरू जीवितै थिए।
भारतमा हुँदा नै हिन्दी भाषामा दिल्लीको लोकेसनमा ‘द गर्ल’ नामक सर्ट मुभी बनाएँ। राम्रै प्रतिक्रिया आयो। त्यो लन्डन फिल्म फेस्टिभलमा पठाएँ।
त्यसले मलाई अध्ययनको अर्को अवसर जुरायो। लन्डन फिल्म फेस्टिभल र स्क्रिप्ट ल्याबले अनलाइन कोर्स पढ्न स्कलरसिप दिए।
एक वर्षको कोर्स थियो। छ महिना मुम्बईबाटै क्लास लिएँ। त्यहीबिचमा कोरोना सुरु भयो अनि नेपाल फर्किए। बाँकी कक्षा यतैबाट लिए।
त्यही कोर्सले मात्र त्यो मेरो दिमागमा नाचिरहेका ती सटहरू बुझायो। लामो समयदेखि घुमेका प्रश्नको उत्तर आयो।
कोरियन समाजमा धनी र गरिबबिचको खाडल अहिले पनि उस्तै छ। त्यसैको सङ्केत स्वरूप चरित्र निर्माण गर्दा कुनै पात्र अग्लो देखाउन कुसानको प्रयोग हुने रहेछ।
जापानको सँस्कारमा बस्दा पलेटी कस्ने हैन घुँडा टेकेर बस्ने भएकाले उनीहरूले सट लिँदा सामाजिक सँस्कारको प्रतिनिधित्व गराउन घुँडादेखिकै सट राख्ने रहेछन्।
हलिउड एचडीमा आउनुको कारण आर्थिक रवाफ रहेको बुझेँ। भारतीय फिल्महरूमा व्यक्तिलाई बढी फोकस गर्नुको कारण भगवानप्रतिको आस्थाले काम गरेको चाल पाएँ। भगवानलाई हामी पनि चमत्कारिक पात्र मान्छौँ नि। त्यो सट त्यसैको प्रभाव रहेछ।
रसियाले पहिलो विश्वयुद्धबाट जासुसी संयन्त्र निर्माण गरेर विभिन्न देशका सूचना सङ्कलन गर्ने गरेको थियो। त्यसैबाट प्रभावित भएर त्यहाँका फिल्म मेकरहरुले आफ्नो युनिक सट बनाए।
योसँगै देशपिच्छेको सिग्नेचर सट हुने रहेछ अनि सेग्नीचर सट निर्माणमा देशको आर्थिक, सामाजिक वा राजनीतिकसँगै धार्मिक प्रभावले पनि काम गर्ने रहेछ भन्ने ज्ञान भयो। यो मेरा लागी विल्कुल नयाँ ज्ञान थियो।
नेपाली फिल्म क्षेत्र बलिउडबाट अति प्रभावित रहेको लुकेको विषय हैन। त्यसैले त अहिलेसम्म पनि हामीले हाम्रै मौलिक सटको निर्माण गर्न सकेका छैनौँ।
मेरो दिमागमा प्रश्न जन्मिहाल्यो’ हाम्रो नेपाली फिल्मको सिग्नेचर सट बन्यो भने कस्तो बन्ला? बुद्ध जन्मिएको देशको परिचय बोक्न सक्ला कि वीर बहादुरहरूको देशको ? या सबैभन्दा उच्च सगरमाथालाई सटमा ढाल्न सकिन्छ?
जिज्ञासा मेट्न ध्यान इतिहासतिर तानियो। अनि अध्ययन सामाग्री जुटाउन थालेँ।
यो कोरोनाकालीन समयको प्रसङ्ग हो। लकडाउन थियो। फुर्सद हुने नै भयो। अनि शाह कालदेखि राणाकाल हुँदै अहिले गणतन्त्रकालसम्मका राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक अनि सकेसम्म भौगोलिक विषयको अध्ययन गरेँ।
मेरो ध्यान हाम्रो राजनीतिक अनि सामाजिक चरित्रमा बढी फोकस भयो। जति पढ्दै गएँ हाम्रो समाजको चरित्र कुनै एकै विषयमा लामो समय अडिनै नसक्ने अस्थिर देखेँ।
जस्तो शाहकालमा धेरै आन्तरिक द्धन्द्धहुँदाको परिणाम राणा शासन सुरु भयो। चतुर राणाहरूले जनभावना बुझेर राजतन्त्र समाप्त गरेनन् तर निष्क्रिय बनाइदिए। शाहकालको रोग राणाकालमा नसर्ने कुरै भएन। द्वन्द्व राणाहरूमा सर्यो।
राजालाई शासन सत्तामा सक्रिय गराउनुसँगै जनअधिकार ल्याउन सशस्त्र विद्रोह सुरु भयो। २००७ मा राणा शासन ढल्यो। नेपालमा राजा पनि गद्दीमा फर्किए अनि प्रजातन्त्र पनि स्थापना भयो। तर यो पनि लामो समय टिक्न सकेन।
बीपी कोइराला अनि मातृकाप्रसाद कोइरालाबीचको झगडाले २०१७ सालको राजनीतिक परिवर्तन निम्त्यायो। यो बीचमा झापा काण्ड भयो। २०३६ सालमा जनमत संग्रहहुँदा पनि कम्युनिस्ट र काँग्रेस मिल्न नसक्दा सुधारिएको पञ्चायतको जित भयो।
त्यो पनि लामो समय गएन। नमिली नहुने रहेछ भन्ने बुझेर कम्युनिस्ट विचारधारामा रहेका र प्रजातान्त्रिक विचारधारामा रहेकाहरू मिलेर आन्दोलन गर्दा २०४६ मा प्रजातन्त्र पुनःस्थापना भयो। संवैधानिक राजतन्त्रसहितको राजनीतिक अभ्यास सुरु भयो।
मेरो ध्यान कुनै राजनीतिक विचारधारामा हैन झिना मसिना लाग्ने तर मूल विषय त्यही घर-घरको कथा, घरभित्र फैलँदै गरेको यथास्थिति र परिवर्तन चाहने विचारधाराविचको द्वन्द्वले तानिरहेको थियो। म त्यसबाट मौलिक नेपाली सटको प्रारम्भ पनि गर्न चाहन्थे।
प्रजातन्त्र आएको ६ वर्षमै गणतन्त्रको माग गर्दै अर्को सशस्त्र विद्रोह सुरु भयो। अन्तमा त्यो विद्रोह पनि निचोडमा पुगेन अनि शान्तिपूर्ण रूपमा राजनीतिमा सक्रिय दलहरूसँगको सहकार्यमा २०६३ मा गणतन्त्र आयो।
अब त अस्थिरताको क्रम रोकिनुपर्ने हो नि, रोकिएन। मधेसमा शान्तिपूर्ण र सशस्त्र दुवै आन्दोलन भयो। जातीय र क्षेत्रीय मुद्धाहरु अगाडि बढे। शान्तिपूर्ण मधेस आन्दोलनको परिणाम सङ्घीयता आयो। सशस्त्र विद्रोह दबाइयो।
राजनीतिक अवस्था र दलमा नाटकीय रूपमा परिवर्तन आइरहेको थियो। असम्भव ठानिएको कम्युनिस्ट पार्टी एक भएर नेकपा बन्यो। त्यो पनि टुट्यो।
राजनीतिक कोर्स यहाँसम्म आइपुग्दा मैले स्क्रिप्ट लेखिसकेको थिए।
दुखको कुरा के हो भन्दा जति उथलपुथल देखे पनि यो बीचमा आर्थिक विकास भएको अनुभवै हुन सकेन। मेरा गाउँका कट्टु नलगाइ खोलामा पौडी खेल्ने साथीदेखि बिबिए पढ्दा नै ठुलो कम्पनी खोल्ने सपना देखेकासम्मका साथीहरू बिदेसिए। यो यही अस्थिरताको कारण त थियो।
फिल्मको सुटिङको तयारी गर्दै थिएँ। काँग्रेस र कम्युनिष्टहरूको गठबन्धन बन्यो। निर्वाचनमा सँगै गए। एक दलका नेताले अर्को दलको उम्मेदवारको लागि भोट मागेको दुर्लभ दृश्य देखियो। निर्वाचन परिणाम भयो। त्यो गठबन्धन त टुट्यो। एमाले-माओवादीसहितको गठबन्धन बनेर सरकार बन्यो।
तीन महिनामै त्यो गठबन्धन पनि टुटेर फेरी काँग्रेस र माओवादीसहितको गठबन्धन बनेको छ। तर स्थिरता अझै पनि निश्चित छैन।
मुख्य समस्या मूल नीतिमै हो। त्यही मूल नीति नै अस्थिर हुँदा हाम्रा बिचार, हाम्रो आर्थिक नीति, हाम्रा पात्र, हाम्रा योजना सबै अस्थिर हुँदा रहेछन् भन्ने ज्ञान भयो।
लाग्यो नेपाली फिल्म क्षेत्रको आफ्नै युनिक सट भनेको यही अस्थिरता हो। अनि फिल्ममा त्यही अस्थिरतालाई फ्रेम बनायौँ।
फिल्मबारे लेखेको किन राजनीतिक व्याख्या भन्ने लाग्न सक्छ। यो लेखको विषय फिल्म नै हो। तर त्यहाँसम्म पुग्न यी राजनीतिक उछलकुदबारे उल्लेख गर्ने पर्ने भयो। यो यतिमै सकेर अब फिल्मतिरै लाग्छु।
समाजको केन्द्रमा रहेको राजनीतिक यो विधि अस्थिर भएपछि त्यसको प्रभाव समाज अनि घरमा पर्ने नै भयो। द्वन्द्व, अस्थिरता हाम्रो घर-घरमा प्रवेश गर्यो।
तर हामीले राज्यलाई मात्र हेर्यौ। हाम्रो वितृष्णाको कारण हाम्रो घरमा पनि थियो। देशको चित्र अनि चरित्र हाम्रो घरमै थियो। अस्थिरता हाम्रो मनमा पनि छ, हाम्रो मष्तिष्कमा पनि छ।
तर हामीले देश र नेतालाई मात्र गाली गरिरह्यौँ।
हामीले चलचित्रहरूमा देशकै समस्यालाई ठुलो फ्रेममा देखाउन केन्द्रित हुँदा हाम्रो घरको समस्या छुटिरहेका थिए। परम्परागत शक्ति अनि परिवर्तन चाहने शक्तिबीचको सङ्घर्ष घरमा पनि छ नि।
तर हाम्रो ध्यान त्यतातिर गएन। हामीले प्रजातन्त्रवादी र वामपन्थी विचारधारामा लगेर महत्त्वपूर्ण विषयलाई थन्क्यायौँ।
मेरो ध्यान कुनै राजनीतिक विचारधारामा हैन झिना मसिना लाग्ने तर मूल विषय त्यही घर-घरको कथा, घरभित्र फैलँदै गरेको यथास्थिति र परिवर्तन चाहने विचारधाराविचको द्वन्द्वले तानिरहेको थियो। म त्यसबाट मौलिक नेपाली सटको प्रारम्भ पनि गर्न चाहन्थे।
चितवनमा देखेको एक घटना मेरो मनमा गढेर बसेको थियो। लकडाउनको समयमा त्यही घटनामा केन्द्रित भएर फिल्म लेख्ने प्रयास नकिन गर्ने भन्ने लाग्यो। लेख्न थालेँ।
लेख्ने काम सकिएपछि फिल्म सम्बन्धी केही जानकारहरूसँग सल्लाह गरेँ। उनीहरूले हौसला दिएपछि फिल्म निर्देशनको योजना बनाए। समूह मिल्दै गयो। अनि कलाकार चयन गरेँ।
कलाकारहरूलाई डेढ महिना वर्कसप क्याम्पमा राखेँ। सबै कलाकार आफ्नो चरित्रमा भिजेपछि सुरु भएको सुटिङ २३ दिनमा सकियो। अनि बल्ल फिल्म बहाव तयार भयो जुन चैत २४ मा हलमा प्रदर्शन हुँदैछ।
व्यावसायिक नतिजा एक पाटो, यस फिल्मबाट हामीलाई सामान्य लाग्ने विषयमा पनि फिल्म निर्माण गर्न सकिन्छ है भन्ने देखाउन इमानदार प्रयास गरेका छौँ।
जसरी देशको आर्थिक अनि सामाजिक अवस्था अनुसारै फिल्म मेकरहरुले आफ्नो फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन सिग्नेचर सटको निर्माण गरे यो फिल्मबाट मैले त्यसरी नै नेपाली फिल्मको सिग्नेचर सटको प्रारम्भ गर्ने प्रयत्न गरेको छु।
बहावमा हामीले अन्य फिल्ममा हेरिरहेको क्यानभास नपाउन सकिन्छ। किनकि कम्पोजिसन थ्यौरी छोडेर क्यारेक्टर कम्पोजिसन निर्माणको प्रयास गरेका छौँ।
देशका ठूला मुद्दाले स्थान पाइरहेको पर्दामा परिवारका साना मुद्दा अनि त्यसको हाम्रो दैनिक जीवनमा पारिरहेको ठुलो प्रभाव देखाउने प्रयास हो हाम्रो।
सफलता अनि असफलताको आ-आफ्नै मानक छन्। मुख्य पक्ष फिल्मले दर्शकको मन छुन सक्यो या सकेन भन्ने नै हो।
बलिउडको धङधङीबाट मुक्त फिल्म निर्माण गर्न सक्नु पनि ठुलै सफलता हो अहिले हाम्रो क्षेत्रमा। यसमा ‘बहाव’ टिमले इमानदार प्रयास गरेको छ। म आशावादी छु।
यो प्रयास सफल हुन्छ या असफल? चैत २४ बाट त्यो फिल्मका जानकार अनि दर्शकको जिम्मामा।
(कँडेल फिल्म बहावका निर्देशक हुन्)
चैत १८, २०७९ शनिबार २३:२५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।