आँखाको ज्योति फर्काउने डा. निशाको उपचार अनुभव : शल्यक्रिया थालेपछि महिला यसरी चिच्याउन थालिन् कि भागौँ भागौँ नै भयो

आँखाको ज्योति फर्काउने डा. निशाको उपचार अनुभव : शल्यक्रिया थालेपछि महिला यसरी चिच्याउन थालिन् कि भागौँ भागौँ नै भयो

निशा श्रेष्ठले आफ्नै नेतृत्वमा करिब एक हजार व्यक्तिको आँखाको शल्यक्रिया गरिसकेकी छिन्। उनीसँग आँखाको शल्यक्रिया (अकुलो प्लाष्टि सर्जरी) गर्ने विशेषज्ञ ज्ञान अनि सीप छ।

उनै आँखाको ज्योति फर्काउने डा. निशाले चिकित्सकीय पेसाको सिलसिलामा देखे-भोगेका अनुभव उकेरासँग साटिन्।

OOO

केही वर्ष अघि झापाको आँखा अस्पतालमा आँखाको उपचार गर्न पुगेकी एक जना महिलाको आँखाको शल्यक्रिया गर्दाको प्रसंग सम्झिइन् उनले। उनको अनुभवमा त्यो सम्झना रोचक अनि अलि असहज दुवै हो रे।

आँसु बगिरहने समस्या भएकी एक वयस्क महिला उपचारका लागि पाटन अस्पताल आइन्। ती महिलाको आँसु बगेर नाकमा जाने नली नै बन्द भएको रहेछ।

परीक्षणमा खुल्यो आँसु नाकमा जाने नलीको तल्लो भाग नै बन्द छ। आँसु नली बन्द भएकाले आँसु नाकबाट निस्कन पाएन। त्यसैले आँखामा नै आँसु जम्मा भयो। त्यसले आँसु झरिरहने समस्या भयो।

आँसु बगिरहने समस्याका कारण महिलाले निकै दुःख पाइरहेकी थिइन्। आँखा पाक्ने अनि सुन्निने जस्ता समस्या थियो उनमा। सबै परीक्षणपछि महिलाको आँसुको नलीको शल्यक्रिया गरेर आँसु जाने अर्को बाटो खुलाउनु पर्ने देखियो। केही हप्ता औषधी चलाएपछि मात्रै शल्यक्रिया गर्न मिल्ने देखियो।

केही हप्ता औषधी चलाएपछि डा. निशाको टिमले ती महिलाको आँखाको नानीको शल्यक्रियाको तयारी गर्यो। सबै तयारीपछि महिलालाई शल्यक्रिया कक्षमा लगियो।

शल्यक्रिया गर्ने आँखाको भागमा मात्रै नदुख्न लट्ठिने औषधी दिइयो। यसरी निश्चित भाग मात्रै लट्याएर गरिने शल्यक्रियालाई लोकल एनेस्थेसिया भनिन्छ।

लट्ठ्याउने औषधि दिएपछि डा. निशाको टिम ती महिलाको आँसुको नलीको शल्यक्रिया गर्न थाल्यो। चिकित्सकको टिमले शल्यक्रिया सुरु मात्रै के गरेको थियो ती महिला त बेसरी चिच्याउन थालिन्। कराउन पो थालिन्।

उनी त सामान्य दुखाई समेत सहन नसक्ने रहिछन्। शल्यक्रिया गरुञ्जेल महिला चिच्याइरहिन्। महिलाको चिच्याहटले शल्यक्रियामा खटिएको चिकित्सकको टिम नै के गरौँ र कसो गरौँ भए।

ती महिलाको चिच्याहटले शल्यक्रियामा खटिएको चिकित्सकको टिम नै तर्सिने अवस्था पो भयो।

‘उहाँको बानी अलिकति पनि दुखाई सहनै नसक्ने रहेछ,’डा. निशाले त्यो प्रसंग सुनाइन्,‘अप्रेसनभरि उहाँ यति कराउनु भयो नि, हामीलाई नै अप्रेशन छोडेर भागौँ जस्तो भयो।’

शल्यक्रियाको अवधिभर महिला चिच्याइरहिन्। चिकित्सक टिमले अब सकिनै लाग्यो भन्दै सम्झाउँदै शल्यक्रिया गरिरहे। करिब डेढ घण्टाको प्रयासमा शल्यक्रिया सफल भयो।

नाकमा आँखाको आँसु जाने बाटो बन्यो। महिलाको समस्या समाधान भयो। धन्यवाद भन्नुको सट्टा धेरै दुखाइदिएको भन्दै उनी त चिकित्सक टिमसँग पो रिसाइछन्।

महिलाको आँखाको ज्योति फर्किएपछि...

केही वर्ष अघि झापाको मेची अस्पतालमा काम गर्दाको अर्को प्रसङ्ग सुनाइन् उनले।

करिब ४५ वर्षकी महिला आँखाको उपचारका लागि अस्पताल आइन्। ती महिलाको दुवै आँखा ठूला-ठूला भएका थिए। आँखा हेर्न कठिन भइरहेको थियो। आँखा पोल्थ्यो उनको। आँखा नै बाहिर निस्किएको थियो। अब आँखा बाहिर आएका कारण सुक्खा भइसकेको थियो। आँखाको नानीमा घाउ भइसकेको रहेछ। आँखामा प्वाल नै पर्न लागेको थियो।

ती महिला दायाँतर्फको आँखाले देख्न सक्थिन्, बायाँतर्फको आँखाको देख्ने क्षमता नै निकै कमजोर भइसकेको थियो। आँखाको दृष्टि नै गुम्ने अवस्थामा पुगिसकेको थियो।

डा. निशाले सुरुमा आँखामा भएको घाउ सुक्ने औषधी दिइन्। अनि आँखा धेरै नै बाहिर निस्केकाले थप ननिस्कियोस् भनेर दुवै तर्फका परेला एक ठाउँमा जोडेर आँखा बन्द गरिदिइन्। त्यसपछि थाइरोइडको औषधि चलाइन्।

औषधी चलाएपछि पनि महिलाको आँखाको समस्या सोचे अनुरूप ठीक भएन। उपचार जारी नै थियो। दुई हप्तामा फलोअपमा आउँदा समेत सोचे अनुसार आँखाको समस्या कम भएन। 

दुई हप्तापछि भने बिस्तारै महिलाको आँखाको समस्या कम हुँदै जान थाल्यो। बिस्तारै आँखाको घाउ कम हुँदै गयो। करिब चार महिनासम्म औषधि उपचार  गरेपछि महिलाको आँखाको ज्योति गुम्ने जोखिमबाट बच्यो।

आँखाको समस्या कम हुँदै गएपछि ती महिला डा. निशासँग असाध्यै खुसी भइन्।

उनको आँखामा समस्या आएको कारण थाइरोइड थियो। तर, थाइरोइडले आँखामा निम्तिएको समस्याका बारेमा धेरै व्यक्तिले थाहै पाउँदैनन्।

थाइरोइडले आँखा सुक्खा हुनेदेखि लिएर आँखामा अन्धोपन आउने जस्ता समस्या निम्तिन सक्ने डा. निशा बताउँछिन्। थाइरोइडका कारण आँखाको दाना नै बाहिर निस्कने, आँखामा घाउ हुने, आँखामा प्वाल पर्ने जस्ता समस्याका कारण दृष्टि नै गुम्नेसम्मको जोखिम हुने भएकाले हेलचेक्राई नगर्न उनको सुझाव छ।

डेढ वर्षे बालकको दुर्लभ आँखा

तिलगंगा आँखा अस्पतालमा काम गर्दाको अर्को प्रसंग सम्झिइन् उनले।

करिब डेढ वर्षका बालकलाई फलोअपमा लागि अस्पतालमा पुर्याइएको थियो। ती बालकको जन्मजात नै दुवै आँखा बनेका रहेनछन्। बालकका आँखाका परेला भने थिए।

आँखा हुनुपर्ने भागमा पानीका फोका थिए। जसले ती बालकको आँखाको बाहिरी ज्योति ल्याउन सम्भव थिएन। बालकको उमेर करिब डेढ वर्षको भएपछि तिलगंगाको चिकित्सकको टिमले ती बालकको आँखामा भएको पानीको फोका निकालेको थियो। त्यो टिममा उनी पनि सँगै थिइन्।

ती बालकको दुवै आँखा नहुनु दुर्लभ घटना भएको डा. निशाले सुनाइन्। हालसम्म विश्वमा नै ती बालकको जस्तै दुवै आँखा नभएका व्यक्तिको सङ्ख्या करिब ८-१० जना मात्रै थाहा भएको उनले सुनाइन्।

आँखाको ज्योति फर्काउने ज्ञानमा चासो

काभ्रेको बनेपामा पुर्ख्यौली घर भए पनि निशा काठमाडौँको बानेश्वरमा जन्मिन्। यतै पढिन् उनले ।

निशाले बानेश्वरकै होलिल्याण्ड इन्टरनेश्नल स्कुलबाट सन् २००१ मा एसएलसी दिइन्। उनले नोभेल एकेडेमीबाट प्लस टु गरिन्।

निशालाई डाक्टर पढ्ने ठुलो सपना थियो। त्यसैले उनी काठमाडौँ विश्वविद्यालय अन्तर्गतको काठमाडौँ मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि सन् २००३ मा भर्ना भइन्। सन् २००९ मा एमबिबिएस अध्ययन पूरा भयो।

एमबीबीएसपछि करिब दुई वर्ष डा. निशाले काठमाडौँको ओम अस्पतालको मेडिसिन विभागमा काम गरिन्।

त्यो बेला नै उनलाई लाग्यो,‘आँखाको दृष्टि फर्काउने विषय नै पढ्नुपर्छ। आँखा नदेख्ने मान्छेलाई देख्न बनाउन पाए कति आनन्द हुन्थ्यो।’

त्यसैले व्यक्तिको आँखाको ज्योति गुम्न नदिने तथा गुमेको ज्योति फर्काउने विद्या अध्ययन गर्नेप्रति उनको चासो बढ्दै गयो।

त्यसैले डा. निशाले सन् २०१३ मा काठमाडौँ विश्वविद्यालय अन्तर्गतकै नेपाल मेडिकल कलेजमा स्नातकोत्तर तहको अप्थाल्मोलोजी (आँखा रोग) विषयमा एमडी अध्ययन सुरु गरिन्। सन् २०१६ मा उनको एमडी अध्ययन पूरा भयो।

आँखाको सर्जरीमा चासो

एमडीपछि करिब दुई वर्ष निजी अस्पतालमा उनले काम गरिन्। त्यसपछि सन् २०१९ मा डा. निशाले तिलगंगा आँखा प्रतिष्ठान (अस्पताल) मा ‘अकुलो प्लाष्टि’ विषयमा एक वर्षे फेलोसिप गर्दा आँखाको सर्जरी सम्बन्धी ज्ञान र सीप सिकिन्।

लगत्तै उनले दक्षिण कोरियामा पुगेर ‘अकुलो प्लाष्टि’ विषयमा नै एक महिना फेलोसिप गरिन्। आँखा रोग तथा सर्जरीको विषयमा उनलाई थप ज्ञान तथा सीप निखार्ने मौका मिल्यो।

त्यसपछि उनी काठमाडौँमा काम गर्न थालिन्। काठमाडौँमा काम गरेको एक वर्षपछि डा. निशाले झापाको मेची आँखा अस्पतालमा पुगेर करिब ६ महिना काम गरिन्। झापाबाट फर्केर ललितपुरको किष्ट मेडिकल कलेजमा उनले करिब डेढ वर्ष काम गरिन्।

पढाउने र उपचार गर्ने काम

त्यसपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा जागिर खुल्यो। उनले जागिरका लागि परीक्षा दिइन्। परीक्षाको नतिजा उनले सोचेको जस्तै आयो।

डा. निशा सेवा आयोगमार्फत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को स्थायी जागिरे भइन्। उनी पाटनमा जागिरे भएको करिब दुई महिना भयो। प्रतिष्ठानमा उनी सहायक प्राध्यापकको भूमिकामा छिन्। प्रतिष्ठानमा विद्यार्थीलाई पढाउनुकासाथै आँखाको समस्यामा परेका बिरामीको औषधि उपचार गर्नु उनको दैनिकी हो।

आँखा सर्जन (अकुलो प्लाष्टि सर्जन) का रूपमा रहेर आँखामा भएका समस्याको शल्यक्रिया गरी उपचार गर्नु डा. निशाको दैनिकी हो।

गाउँका मात्रै हैन, सहरकै कयौँ व्यक्ति समेत आँखाको उपचारका लागि ढिलो पुग्ने गरेको उनले अनुभव छ। आँखामा समस्या देखिए भोलि-भोलि भनेर नबसी बेलैमा स्वास्थ्य संस्था पुग्न डा. निशाको सुझाव छ।

चैत १८, २०७९ शनिबार २०:४४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।