अनमोलको डुबेको करिअर २०८० मा उँभो लाग्ला ?

अनमोलको डुबेको करिअर २०८० मा उँभो लाग्ला ?

काठमाडौँ : २०७९ समापनको सँघारमा पुगिसकेको छ। यो वर्ष नेपाली फिल्म क्षेत्रका लागि त्यति सुखद बन्न सकेन। केवल दुई फिल्म कबड्डी- अनि छक्कापञ्जा-४ मात्र हिटको सूचीमा पर्न सफल भयो।

आर्थिक रुपमा सफल भए पनि दुबै फिल्म भोलिका दिनमा सम्झन लायक भने भएनन्। व्यापारिक मानक बन्यो। तर कथा, प्रस्तुति या कलाकारको अभिनयले मानक बन्न सकेन दुबै फिल्म। दुबै फिल्मको सबैभन्दा ठुलो ब्रान्ड नै सिक्वेल भयो। 

अनमोल केसीको अभिनय रहेको छड्के २ ले फिल्म डुब्यो भने कुन हदसम्म डुब्न सक्छ भन्ने रेकर्ड नै ब्रेक गर्यो। फिल्म सुपरफ्लप हुँदा अनमोलको स्टारडमनै धर्मरायो।

वर्षको अन्तिममा दुई फिल्म बहाव र प्रसाद- प्रदर्शन हुनै बाँकी छ। बहावले नेपाली फिल्म रुचाउनेहरुमाझ चासो बढाइरहेको छ। उता प्रसाद २ भने एकपछि अर्को विवादले रिलिज हुने हो या हैन भन्ने नै निश्चित छैन।

निर्मातामध्येका एक केशव पाण्डे निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा पुगेका छन्।

प्राविधिकहरूले पैसा नपाएको भन्दै प्राविधिक संघमा उजुरी दिएका छन्। कलाकारहरूले समेत सम्झौता अनुसारको पारिश्रमिक पाएका छैनन्। सुटिङ गर्दाको पैसा नदिएको भन्दै होमस्टेका सञ्चालक समेत पैसा उठाउन काठमाडौँ धाइरहेका छन्।

प्रायः महिला कलाकारलाई उपस्थितिका लागि उपस्थित गराउने ट्रेण्ड भत्काउँदै अभिनेत्री सुरक्षा पन्तले लिड गरेको फिल्म बहावको ट्रेलर अनि गीतले केही आशा जगाएको देखिन्छ।

गोपी फिल्मको निर्माता अनि मुम्बईमा फिल्म निर्माण सम्बन्धी औपचारिक अध्ययन गरेर आएका युवा निर्देशक प्रमोद कँडेलले अभिनेत्रीलाई लिड रोलमा राखेर लिएको चुनौती दर्शकले कत्तिको अप्रिसियट गर्छन् त्यो चैत २४ पछि खुलिहाल्छ।

२०७९ त्यस्तै भयो। तर फिल्म क्षेत्र निरास भइसकेको छैन। आगामी वर्षलाई यादगार बनाउन अहिले नै ६ भन्दा बढि फिल्म फ्लोरमा छन्।

‘नाई नभन्नु ल ६’ वर्षको पहिलो दिन रिलिज हुँदैछ। विकासराज आचार्यको निर्देशन रहेको यसको बलियो पक्ष स्थापित फिल्मको सिक्वेल नै हो। फिल्ममा आँचल शर्मा, आर्शीवाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ।

वैशाख १ मै सुरक्षा पन्त अभिनीत जारी रिलिज हुँदैछ। वैशाख १५ मा 'कैदीको पत्र' फिल्म रिलिज हुँदैछ।

'आइएम ट्वान्टी वान' ले वैशाख २१ को रिलिज डेट लिइसकेको छ। धिरज मगर र जसिता गुरुङको अभिनय रहेको फिल्मले आफ्ना गीत मार्फत दर्शकलाई आकर्षित गरिरहेको छ।

छायांकनमा रहेको ‘भगवत् गीता’ आगामी वर्षको प्रतीक्षित फिल्म हो। सुहाना थापासँगै विपिन कार्की समेत रहेकाले यो फिल्मले निर्माणको काम नसकिँदै चासो बढाउन सफल भएको छ।

आगामी वर्ष दर्शकको मुटुको धड्कन बढाउने फिल्म बन्नसक्छ फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’। पशुपति क्षेत्रमा धमाधम छायांकनमा भइरहेको यो फिल्म निर्माणको क्रममा बाहिरएका फुटेजले टिकटकमा हिट भइसकेको छ।

फिल्मको सस्पेन्सन टिकटकबाटै नचुहिए आगामी वर्ष यो फिल्मले दर्शकको मन जित्न सक्छ। दीपेन्द्र के खनालले निर्देशन गरिरहेका फिल्ममा विपिन कार्की, सौगात मल्ल अनि स्वस्तिमा खड्का छन्।

पोखरा र मुस्ताङमा फिल्म ‘जय हो’को छायांकनमा चलिरहेको छ। सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी रहेको फिल्म शोभित बस्नेतले बनाइरहेका हुन्।

सफल निर्देशक दीपेन्द्र लामा फिल्म ‘नाङ्गो गाउँ’को छायांकनमा व्यस्त छन्।  फिल्ममा दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, वुद्दि तामाङ लगायतका कलाकार छन्।

स्वस्तिमा खड्का, वर्षा राउत अनि सुशील सिटौलाको अभिनय रहेको फिल्म ‘अैचोपैँचो’ पनि अहिले फ्लोरमा छ।

यी फ्लोरमा गइसकेका फिल्म मात्र हुन्। यो वर्षभित्र अन्य टन्नै फिल्म बन्ने पक्का छ। रामबाबु गुरुङ डिग्री माइला अनि कबड्डी ५ को निर्देशनको तयारीमा छन्।

अर्पण थापाको अभिनय रहने फिल्म 'चित्रा'को समेत घोषणा भइसकेको छ।

अनमोलको डुबेको करिअर

कलाकारका हकमा सबैभन्दा घाटा लाग्यो अनमोललाई। कल्पनै गर्न नसकिने गरी उनको लिड रोल रहेको फिल्म डुब्यो। व्यापारिक रुपमा मात्रै हैन अनमोलको करिअर समेत धर्मर बनायो छड्के २ ले। तै पनि उनीमाथि लगानी गर्न निर्माताहरू अझै राजी नै देखिन्छन्।

अनमोल आफ्नो डुब्दै गएको अभिनययात्रा पूजा शर्मासँग मिलेर उँभो लगाउने तयारीमा रहेको देखिन्छ। फिल्म जेरीको सिक्वेल 'जेरी अन टप' निर्माण हुने चर्चा सुरु भए पनि तत्काल सो फिल्म फ्लोरमा जाने सम्भावना नरहेको जानकारहरु बताउँछन्।

२०७९ अनमोलको हारको वर्ष हो। यसले उनको करिअर धर्मराएको छ। डुबिसकेको छैन। तर २०८० मा उनको हालत यस्तै हो भने उनलाई लगानी गर्न राजी भएका निर्माताहरूले पनि रामराम भन्नेछन् पक्कै काँध थाप्न आउने छैनन्।

चैत १८, २०७९ शनिबार १५:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।