मिटर ब्याजकाे समस्या अहिले समाधान भएन भने कहिल्यै हुँदैन : प्रधानमन्त्री दाहाल

मिटर ब्याजकाे समस्या अहिले समाधान भएन भने कहिल्यै हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितलाई न्याय दिन सरकार गम्भीर रहेको बताएका छन्।

शनिबार बिहान बालुवाटारमा मिटर ब्याज पीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीहरूलाई कारबाही गर्न ऐन बनाउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन्।

‘मिटर ब्याज पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न ऐन नै छैन। म आएपछि ऐन बनाउने ऐनको ड्राफ्ट अन्तिम चरणमा छ,’ उनले भने, ‘अहिले समाधान भएन भने पछि पनि समाधान हुँदैन।’

प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीहरूको कनेक्सन प्रहरी, प्रशासन र राज्यसँग रहेको बताएका छन्।

‘मिटर ब्याजीहरूको राज्य, प्रशासन र प्रहरीसँग कनेक्सन र सेटिङ हुनेरहेछ। मैले बुझिसकेको छु,’ उनले थपे, ‘सबै प्रहरी, हाकिम त्यस्ता छन् भनेको होइन। तर, पावर प्रयोग गरेर तपाईँहरूमाथि अत्याचार गर्ने कुरालाई बचाइ राख्न चाहन्छन्।’

उनले मिटर ब्याजी पीडितलाई न्याय दिन नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याएकोसमेत बताए।

चैत १८, २०७९ शनिबार १०:४८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।