नुवाकोटमा भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु
त्रिशुली : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार बेतिनीबाट यात्रु लिएर काठमाडाैं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।
घटनास्थलमै दुई जनाको र उपचारको क्रममा गए राति थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो।
घटनास्थलमा दुप्चेश्वर गाँउपालिका-४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो। घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ।
चैत १८, २०७९ शनिबार १०:०६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।