विना दुर्घटना ४९ वर्षदेखि सवारी हाँकेका ‘कार्की बा’ : घुम्तीमा ह्यान्डल बटार्न सहचालक गुहार्नुपर्थ्यो
बुटवल : भनिन्छ, दुर्घटना भवितव्य हो। कति दुर्घटना प्राकृतिक हुन्छन्, कतिपय चालकले गरेको लापरबाहीले। त्यहि कारण धेरैले अकालमा मृत्युवरण गर्छन्।
तर केही त्यस्ता चालकहरू पनि हुन्छन्, जो आफ्नो जीवनकालमा कुनै पनि मानविय र भौतिक क्षति विना ‘सफल चालक’ बन्छन्।
त्यस्ता ‘सफल चालक’ औँलामा गन्न सकिने हुन्छन्। त्यहि मध्येका एक हुन्, रूपन्देही देवदह–५ खैरेनीका विष्णु कार्की। जसले सवारी चलाएको ४९ वर्ष भयो।
बुटवलको गर्मीले तताउँदै गरेको सडकमा रातो ज्याकेट र शीरमा ढाका टोपी, पकेटवाला हाफ जाँगे लगाएका कार्की अघिल्लो साता बुटवल सम्मानित भए। कुनै पनि मानविय र भौतिक क्षति नगरी सुरक्षित, अनुशासित र मर्यादित यात्राका लागि पुर्याएको योगदानको कदर गर्दै सुरक्षित यात्रा नेपाल बुटवलले उनलाई सम्मान गरेको हो।
४९ वर्षसम्म सवारी चालक बनेका कार्कीसँग धेरै अनुभव छ। सरकारी सवारीदेखि बस र ट्रक चलाएको अनुभव भएका कार्की पछिल्लो समय आफ्नै सवारी खरिद गरेर चलाउँछन्।
४९ वर्षअघि बुटवल–नेपालगञ्ज सवारी चलाएका कार्कीले त्यसपछि ३३ वर्ष ट्रक चलाए। पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म ट्रकबाट सामान ओसारपसार गरे। केही समय दाङ–काठमाडौं रात्रिकालिन बससमेत चलाए।
‘कहाँबाट सुख मिल्छ भन्दै धेरै सवारी फेरेर चलाएँ,’ उनले भने, ‘अहिले भने आफ्नै जीप चलाउने गरेको छु।’
१५ वर्षदेखि अहिले आफ्नै जीप चलाउँदै आएका विष्णु कार्की सवारी लाइनमा ‘कार्की बा’ का नामले चिनिन्छन्। उनले सवारी साधन चलाउँदा नारायणीमा पुल थिएन। बुटवलबाट काठमाडौं जान पोखरा हुँदै जानुपर्ने अवस्था थियो।
‘अहिले गाडी चलाउन धेरै सजिलो छ। हाइड्रोलिक गाडी छन्। औँलाले घुम्ती काट्न सकिन्छ,’ विगत सम्झँदै कार्की भन्छन्, ‘त्यो बेलाका सडक कस्ता थिए। गाडी पनि उस्तै। घुम्ती काट्न कुनै–कुनै ठाउँमा त सह चालकको सहयोगमा ह्यान्डल बटार्न पर्थ्यो’
प्रविधिको विकाससँगै सवारी साधनमा बढि सुरक्षित हुने उपकरणहरू जडान भएका छन्। हाइड्रोलिक सवारीका कारण दुर्घटना हुनबाट सजिलै बच्न पनि सकिन्छ। तर यति हुँदा–हुँदै पनि दिनदिनै भइरहेको दुर्घटनाबाट कार्की अचम्मित हुन्छन्।
‘पहिलेभन्दा धेरै स्तरीय गाडी भए पनि दुर्घटना पहिलेको तुलनामा झन् बढेको छ,’ उनी थप्छन्, ‘सडक फराकिला र चिल्ला भए पनि दुर्घटना बढ्ने गरेका छन्।
कार्कीको ४९ वर्षे सवारी चलाएको अनुभवमा दुर्घटनाको मुख्य कारण चालकको लापरबाही हो। चालककै कारण ९० प्रतिशत दुर्घटना हुने र प्राकृतिक एवं भवितव्य जम्मा १० प्रतिशत हुने उनको अनुभव छ।
‘बाटो फराकिला हुँदा चालकले स्पिडमा कुदाँउछ। त्यति मात्र होइन,’ उनी थप्छन्, ‘रक्सी खाएर गाडी चलाउँदा पनि दुर्घटना हुन्छ।’
चालक सचेत भए नेपालमा दुर्घटनाको संख्यामा कमी आउने उनी बताउँछन्।
‘आफ्ना नजिक बोल्ने मानिस राख्ने, ध्यान सडकमा भन्दा कुरामा हुँदा पनि दुर्घटना हुने हो,’ उनी भन्छन्, ‘केही दुर्घटना मात्र ब्रेक फेल भएर, टायर फुटेर भएका छन्। चालक जिम्मेवारी भए दुर्घटना कम हुन्छ।’
४९ वर्षसम्म सवारी चालक बनिरहेका कार्की आफ्नो पेशाबाट सन्तुष्ट छन्। घर परिवारले पनि खुसी मानेकै छन्।
‘पहिला जस्तो थिएँ, अहिले पनि त्यस्तै छु। तर पनि सन्तोष नै मान्छु,’ उनी भन्छन्, ‘जति गरे पनि खाने–लाउने हो। खान पाएको छु। नांगो शरीर ढाक्न पाएको छु।’
सवारी साधन चलाउँदा ठाउँ–ठाउँमा यात्रुले दिने माया पनि उनको सम्झनामा ताजै छन्।
‘यात्रुको माया पछिसम्म पनि पाइने रैछ,’ उनले अगाडि थपे, ‘यात्रुले अप्ठयारा परिस्थितिमा पनि सजिलै गन्तव्यमा पुर्याएको सम्झिएर पछि सम्मान गरेका छन्।’
चैत १८, २०७९ शनिबार ०८:५६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।