आईपीएलको उद्घाटन खेलमा गुजरात विजयी, धोनीको टोली पाँच विकेटले पराजित

आईपीएलको उद्घाटन खेलमा गुजरात विजयी, धोनीको टोली पाँच विकेटले पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)को १६औं संस्करणको उद्घाटन खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै साविक च्याम्पियन गुजरात टाइटेन्सले विजयी सुरुवात गरेको छ।

गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा करिब १ लाख २५ हजार भन्दा बढि दर्शकमाझ भएको खेलमा गुजरातले चेन्नईलाई ५ विकेटले स्तब्ध पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले दिएको १७८ रनको लक्ष्य गुजरातले ४ बल अगावै ५ विकेट गुमाएर पुरा गरेको थियो। उसका लागि ओपनर शुभमन गिलले सर्वाधिक ६३ रन बनाउँदा ऋद्दिमान साहले २५ रन बनाए।

टसअघि धोनीसँग हात नमिलाएको भन्दै गुजरात टाइटेन्सका कप्तान हार्दिक पाण्ड्या भाइरलसमेत बनेका थिए। उनले हात नमिलाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

त्यस्तै साइ सुदर्शनले २२ रन बनाउँदा विजय संकर २७ रन बनाएका थिए। त्यस्तै रासिद खानले ३ बलमा १० रन बनाउँदै अविजित रहँदा राउल टिवेटियाले १५ रन बनाएर अविजित रहे।

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो। उसका लागि ऋतुराज गाइकवार्डले ९२ रन बनाउँदा मोइन अलीले २३ रन तथा सिभम दुवेले १९ रन बनाएका थिए।

त्यस्तै कप्तान महेन्द्र सिंह धोनी आठौं नम्बरमा ब्याटिङका लागि आउँदै ७ बलमा १४ रनमा अविजित रहे। गुजरातका लागि मोहम्मद सामी, रसिद खान  र अलजारी जोसेपले समान २-२ विकेट लिएका थिए।

खेलअघि शुक्रबार करिब १ घण्टा चलेको भव्य उद्घाटन समारोहम गायक अरिजित सिंह तथा नायिकाद्वय तमन्ना भाटिया र रश्मिका मन्डनाले प्रस्तुति दिएका थिए।

चैत १८, २०७९ शनिबार ०७:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।