सूर्य गल्फमा सद्भावको रेकर्ड, उपाधि जित्ने सबैभन्दा कान्छो खेलाडी

सूर्य गल्फमा सद्भावको रेकर्ड, उपाधि जित्ने सबैभन्दा कान्छो खेलाडी

काठमाडौँ :  १६ वर्षका सद्भाव आचार्यले  सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

तेस्रो दिनसम्म चौथो स्थानमा रहेका एमेच्योर खेलाडी सद्भावले अन्तिम दिन ४–अन्तर ६४ को कार्ड बनाउँदै समग्रमा ३–अन्डर २६९ को स्कोर जोड्दै उपाधि जिते।

उनले साबिक विजेता भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै सूर्य नेपाल गल्फ टुर २०२२/२३ सिजनको छैटौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जिते।

जितसँगै सद्भाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सूर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन्।

उनले नेपालका नम्बर एक एमरच्योर खेलाडी सुवास तामाङको कीर्तिमान समेत तोडेका छन् । सुवासले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटलको उपाधि जितेका थिए। सद्भावको उमेर १६ वर्ष १० महिना हो।

सुवासले सन् २०१९ मा भुवनलाई नै हराउँदै सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए।

अन्तिम दिन सुरु गर्नुअघि सद्भाव लिडर रवि भन्दा चार स्ट्रोकले पछि थिए। अन्तिम दिन सद्भावले फ्रन्ट नाइन २–अन्डर ३२ को स्कोरमा सकाए। उनले दोस्रो, चौथो र आठौँ होलमा बर्डीको सफलता प्राप्त गरेका थिए।

३–पारको तेस्रो होलमा एक सट खेर फालेका सद्भावले दशौँ होलमा बोगी खेपे। तर उनले १३, १६ र १७ औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–अन्डर ३२ मा सकाएका थिए।

यससँगै सद्भावले पहिलो पटक प्रो र एमरच्योर दुवैतर्फको उपाधि जिते।

अन्तिम तथा चौथो दिन इभन–पार ६८ को कार्ड बनाएका प्रो–गल्फर भुवनले समग्रमा १–अन्डर २६१ को स्कोर गर्दै दोस्रो स्थानमा रहे । समग्रमा दोस्रो भए पनि भुवन प्रोतर्फ भने विजेता बने । प्रोतर्फका विजेता भुवनले एक लाख रुपैयाँ नगद पुरस्कार जिते ।

भुवनले २–अन्डर ३२ मा फ्रन्ट नाइन सकाउने क्रममा पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गरे ।

पाँचौँ होलमा बोगी खेपेका भुवनले ब्याक नाइनमा लय गुमाएका थिए । उनले १०, १२, १४ र १८औँ होलमा एक–एक सट खेर फाले । भुवनले ११ र १३औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–ओभर ३६ को स्कोरमा सकाएका थिए । 

तेस्रो दिनका लिडर रवि खड्काले ३–ओभर ७१ को खराब प्रदर्शन गर्दै समग्रमा इभन–पार २७२ मा खेलपछि समग्रमा तेस्रो तथा प्रोतर्फ दोस्रो स्थान हासिल गरे।

नेपालका नम्बर एक एमरच्योर खेलाडी सुवासले अन्तिम दिन इभन–पार ६८ को स्कोर जोडे। उनले समग्रमा ३–ओभर २७५ को स्कोरसहित चौथो स्थान हासिल गरे भने एमरच्योरतर्फ दोस्रो भए।

३–ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५–ओभर २७७ मा प्रतियोगिता सकाए। समग्रमा पाँचौँ भएका दिनेशले प्रोमा भने तेस्रो भए।

समग्रमा ८–ओभर २८० सहित भुवनकुमार रोक्का र धनबहादुर थापाले संयुक्तरुपमा छैटौँ स्थान पाए। भेट्रान गल्फर दीपक मगर र जयराम श्रेष्ठ समग्रमा १०–ओभर २८२ सहित संयुक्त रूपमा आठौँ भए।

सञ्जय लामा दशौँ भए । उनले आज ३–ओभर ७१ मा खेल सकाए । प्रोतर्फ आठौँ भए।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सूर्य नेपाल प्रालिको प्रायोजनमा प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी कुल ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

चैत १८, २०७९ शनिबार ०१:३६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।