आफ्नै वाचा फेर्दै श्रीमान् रिहा नभए पनि मन्त्री बनिन् रञ्जिता

आफ्नै वाचा फेर्दै श्रीमान् रिहा नभए पनि मन्त्री बनिन् रञ्जिता

काठमाडौँ : श्रीमान् रेसम चौधरी विरुद्धको जन्म कैदको फैसला बदलेर कारागारबाट रिहा गराउन राजनीतिमा होमिएकी रञ्जिता श्रेष्ठ आफ्नै वचनविपरित शुक्रवार भूमि व्यवस्था मन्त्री बनिन्।

टिकापुर घटनालाई आधार बनाएर थरुहट क्षेत्रमा प्रभाव बढाउन सफल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रहेकी उनको पार्टीले पुस १० मै एमाले-माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिए पनि सरकारमा भने सहभागी भइनन्।

सरकारमा सहभागी हुन उनले आफ्ना श्रीमान् रेसमको मुद्दा फिर्तालाई सर्तको बनाएकी थिइन्। त्यही सर्तलाई देखाउँदै उनी केन्द्रीय सरकारमा सहभागी भइनन् नै उता एमाले नेतृत्वमा रहेको सुदूरपश्चिमको सरकारलाई विश्वासको मत नदिएर सरकार ढालिन्।

शुक्रवार उनै श्रेष्ठ सहजै उनै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा मन्त्री बनिन्। नागरिक उन्मुक्ति सरकारमा जाँदा यस अगाडि सरकारमा सहभागी जनमत पार्टीका मन्त्रीले भने राजीनामा दिए।

टिकापुर घटनाका मुख्य योजनाकार ठहरिएपछि रेसम अहिले डिल्लीबजार कारागारमा छन्। जिल्ला अदालत अनि उच्चबाट उनलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएको थियो। अहिले उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

यस अगाडि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मुद्दा फिर्तालाई सहज बनाउन मुलुकी अपराध संहितामा भएका प्रावधान अध्यादेशबाट संशोधन गराउने प्रयास गरेका थिए। तर राष्ट्रपतिका कारण सरकारको सो प्रयास सफल हुन सकेन।

माओवादी केन्द्र अनि नेपाली कांग्रेसले रेसमको मुद्दा फिर्ता लिएर कारागारबाट मुक्त गराउने वचन दिइरहे पनि कानुनी जटिलताका कारण तत्काल सम्भव देखिन्न।

तर रञ्जिता एमाले-माओवादी नेतृत्वको सरकारसँग भन्दा माओवादी-काङ्ग्रेस नेतृत्वको सरकारप्रति सकारात्मक बनिन् र मन्त्री हुन राजी भइन्।

१७ चैत, २०७९, २३:०६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।