नारायणकाजीको पहिलो निर्णय : गृह मन्त्री र सचिवले सुराकीका नाममा गर्ने खर्च खारेज गर्ने

नारायणकाजीको पहिलो निर्णय : गृह मन्त्री र सचिवले सुराकीका नाममा गर्ने खर्च खारेज गर्ने

काठमाडौँ : महालेखा परीक्षकको हरेक वार्षिक प्रतिवेदनमा उल्लेख हुने विषय हो गृहमन्त्री अनि गृह सचिवले शान्ति सुरक्षाको नाममा खर्चिने रकम। सुराकी परिचालनको नाममा खर्च देखाउने अधिकांश रकम कार्यकर्ता पाल्न प्रयोग हुने गरेको थियो।

पटक-पटक खर्च पारदर्शी गर्न महालेखाले सरकारको ध्यानाकर्षण गराउने गरे पनि सरकार टसकोमस हुने गरेको थिएन। आफ्नो संसदीय यात्रामा दोस्रो पटक गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पहिलो निर्णय नै त्यही सुराकी खर्च बन्द गर्ने निर्णय गरे।

यस अगाडि श्रेष्ठ १७ दिनका लागि मात्रै गृहमन्त्री भएका थिए। शुक्रवार उपप्रधानसहित गृहमन्त्रीको शपथ खाएर मन्त्रालयमा कार्यभार सुरु गरे लगत्तै उनले पहिलो निर्णय नै गृहमन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावली खारेज गर्ने निर्णय गरे।

अब मन्त्रिपरिषद्को बैठकमा सो निर्णय लगेर पारित गरेपछि कार्यान्वयनमा आउने छ।

नियमावली अनुसार गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्ने भन्दै एक पटकमा ५० हजार र सचिवले २५ हजार रूपैयाँ खर्च गर्ने गरेका थिए।

आर्थिक वर्ष २०७८/७९ मा मात्र तत्कालीन गृहमन्त्री वालकृष्ण खाँणले ७६ लाख रूपैयाँ र गृह सचिव टेकनारायण पाण्डेले ९२ लाख ९७ हजार रूपैयाँ खर्च गरेका थिए।

१७ चैत, २०७९, २२:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।