टिकटकमा अर्काको भिडियो राखेर चरित्र हत्या गर्नेसहित तीन महिला साइबर क्राइममा पक्राउ
काठमाडौँ : सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा तीन जना महिला पक्राउ परेका छन्। पूर्व प्रेमीसँगको आपत्तिजनक तस्विर हुनेवाला श्रीमान्लाई पठाएको, फोटो सम्पादन गरेर अश्लील क्याप्सन राखेर चरित्र हत्या गरेको र फेक प्रोफाइल बनाएर टिकटकमा अश्लील संवाद गरेको भिन्नाभिन्नै अभियोगमा उनीहरू पक्राउ परेका हुन्।
साइबर ब्यूरोका अनुसार पूर्व प्रेमीसँग फेसबुक मेसेन्जरमा भएका गोप्य कुराकानी, भिडियो र तस्विर हुनेवाला श्रीमान्लाई पठाएर चरित्रहत्या गरेको आरोपमा १९ वर्षकी देवकी न्यौपाने पक्राउ परेकी छिन्।
अनलाइनमा भएको साथीसँगको तस्विर इडिट गरेर अश्लील क्याप्सन राखेर फेसबुकको टाइमलाइनमा राखेर चरित्र हत्या गरेको अभियोगमा ३५ वर्षकी मुना त्रिताल पक्राउ परेकी छिन्।
फेक प्रोफाइल बनाएर अश्लील संवाद गर्ने अनि टिकटकमा भिडियो राखेर बदनाम गराएको उजुरीको अनुसन्धानकोक्रममा ३९ वर्षीय उर्मिला घिमिरे पक्राउ परेकी छिन्।
ब्यूरोका अनुसार तीनै जनालाई अदालतमा पेस गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद आइसकेको छ।
चैत १७, २०७९ शुक्रबार १८:३९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।