कर्णालीका माओवादी मुख्यमन्त्रीलाई एमालेको पनि विश्वासको मत, राप्रपा मात्रै विपक्षमा

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। उनले बुधबार प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराए अनुसार शुक्रवार विश्वासको मात मागेका थिए।
शुक्रवार प्रदेश सभाको नवौँ बैठकबाट विश्वासको मत पाए। उनलाई नेपाली काँग्रेस, एमाले, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए। राप्रपाका एक जना सांसदले मात्रै विपक्षमा मतदान गरे।
मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावमा ३८ मत खस्यो। उनको पक्षमा ३८ र विपक्षमा १ मत परेको थियो।
मुख्यमन्त्री शर्मालाई नेपाली काँग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९ र एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिए।
४० जना सांसद रहेका कर्णाली प्रदेश सभामा एमालेकी सभामुख नन्दा गुरुङले र राप्रपाकी सन्तोषी शाहीले मत दिएनन्। माघ ६ गते पहिलो पटक विश्वासको मत लिँदा ४० मध्ये २५ सांसदको मत लिन सफल भएका थिए।
राप्रपाले समर्थन फिर्ता लिएसँगै उनले दोस्रो पटक विश्वासको मत लिएका हुन्। यसअघि कांग्रेसले विश्वासको मत दिएको थिएन। काँग्रेससहितको गठबन्धन बनेपछि कांग्रेसले मत दियो। अन्य प्रदेशमा विपक्षमा मतदान गरेको एमालेले पनि कर्णालीमा पक्षमा मतदान गर्यो।
पुस २७ मा एमाले, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री बनेका शर्मा नेतृत्वको सरकारमा अहिले एमाले र माओवादी मात्र छन्। दुई दलले ३-३ मन्त्रालयको नेतृत्व गरिरहेका छन्।
केन्द्रमा चुनावी गठबन्धन ब्यूँतिएपछि प्रदेशमा पनि समीकरण बदलिने सम्भावना थियो। तर, एमालेले विश्वासको मत दिएर सरकारमै बस्यो।
कर्णालीमा नेपाली काङ्ग्रेससँग १४, माओवादीसँग १३, एमालेसँग १०, एकीकृत समाजवादी, राप्रपासँग एक-एक र एक जना स्वतन्त्र सांसद रहेका छन्।
चैत १७, २०७९ शुक्रबार १८:२०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।